सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा एमाले अध्यक्ष ओलीले हाले मुद्दा

सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा एमाले अध्यक्ष ओलीले हाले मुद्दा
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ १६, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।

एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । निवेदन दर्ता हुन भने बाँकी छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद कारवाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको बताए । रिटमा कारवाही गरेर १४ जना सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ ।

एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ । सभामुखले अधिकार दुरूपयोग गरेर रोकेका माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ ।

एमालेले १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो । तर, सभामुख सापकोटाले कारवाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ जना सांसदलाई कारवाही गर्नु नपर्ने निर्णय गरेका थिए ।