नेपाली गीतमा आँखा: नारी मात्र हुन् पुरुषका आँखाका लागि राम्री बनिदिने ?

नेपाली गीतमा आँखा: नारी मात्र हुन् पुरुषका आँखाका लागि राम्री बनिदिने ?

रूपक अलङ्कार  |  दृष्टिकोण  |  भदौ १६, २०७८

आँखा हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो । दर्शनको भाषामा आँखा पञ्च ज्ञानेन्द्रियमध्ये एक हो र आँखाको विषय रूप हो पृथ्वी, जल, तेज, वायु र आकाशमध्ये आँखाको सम्बन्ध तेजसित हुन्छ । 

आँखाको व्यावहारिक प्रयोजन भनेको हेर्नु नै हो । त्यही भएर कवि भरतराज पन्तले ‘छन् आँखा दुइटा हाम्रा हेर्नुपर्छ दुवैतिर’ भनेका रहेछन् । आँखाको काम दृष्टिगोचर भएका सूचनालाई मस्तिष्कसम्म पुर्‍याउने हो बाँकी ठीक-बेठीक त मस्तिष्कले नै गर्छ । तर पनि मानिसहरू आँखालाई भयानक दोष लगाउँछन् । मानिसको बुद्धिले गरेको बिगारको भर्पाइ बित्थामा आँखाले गर्नुपर्छ । 

आँखालाई बुझाउन नेत्र, नयन, चक्षु, अक्ष, लोचन, नजर, दृष्टिअजस्ता शब्दहरू प्रयोग हुन्छन् । यी शब्दहरू पर्यायवाची भए पनि स्थान, परिवेशअनुसार समान अशय भने प्रतीत नहुन पनि सक्छ । जस्तो कि आँखा तर्नुको स्वाद नेत्र तर्नुमा छैन र नेत्रप्रसादको सौन्दर्य पनि आँखाप्रसादमा छैन । अर्काे कुरा, आँखालाई लिएर हामी निकै लक्षणा, व्यञ्जनाको भाषिक स्थिति सिर्जना गरिदिन्छौँ । आँखा तर्नु, आँखा चिम्लिनु, गिद्धे आँखा लाउनु, आँखा फुट्नु, आँखा सेक्नु, जस्ता टुक्काहरूले अनौठो भाषिक सौन्दर्य बोकेर आउँछन् । 

आँखा इन्द्रिय हुँदै हो साथै सौन्दर्यको द्योतक पनि हो । आँखाबिनाको अनुहारको कल्पना मात्र पनि त्रासद हुन्छ । आँखा भावसागर हो, प्रसन्नताको महाद्वार हो । स्नेहको स्रोत हो र हार्दिकताको आँखीझ्याल । नकारात्मक मनोद्वेगमा आँखा गिद्धे बनिदिन्छ भने निर्मल अन्तस्करणको अभिव्यक्तिमा आँखा कमलनयन । 

ज्ञानको चमत्कारमा बुद्धका आँखा अर्धमुदित हुन्छन् भने प्रलयको हाहाकारमा रुद्रका आँखाले आगो आगो ओकल्छन् । त्यस अकारण आँखा क्यामरा मात्र होइन, डिजिटल स्क्रिन पनि हो ।

आँखालाई सौन्दर्यको प्रतिरूप मानेर काव्यसिर्जन गर्ने परंपरा निकै पुरानो छ । विश्वभरिका साहित्यकारले आँखालाई बेवास्ता गरेर काव्य सिर्जना गर्न सकेका  छैनन् । किनभने मानिसको बाह्यान्तर सौन्दर्यलाई प्रस्तुत गर्न सक्ने सबल इन्द्रिय भनेकै आँखा हो । 

मृगनयनी, कमलनयन, मीनाक्षी, सुलोचना, महोक्ष जस्ता शब्दले आजका दिनसम्म पनि काव्यिक ओज बढाइरहेकै छन् । हाम्रा कविता, गीत, गजलमा आँखा वा आँखाका समानार्थी शब्दको प्रयोग प्रशस्त मात्रामा भएको छ । मानिसको शारीरिक, सुन्दरता तथा हार्दिक सुन्दरतालाई आभिव्यक्त गर्नका लागि आँखा प्रयोग हुँदोरहेछ । 

आँखा र गाजलको सम्बन्ध पनि बडो अनौठो हुँदोरहेछ क्यार ! सौन्दर्यभोगीहरूको भाष्यमा ठूलाठूला आँखामा गाजल नलगाएको भए गीतको प्रवाह कता जान्थ्यो होला ? गाजल लगाइसक्दा त हेर्ने मान्छे ठहरै भइहाल्दो रहेछ ।

हुनत कपाल, ओठ, दाँत कम्मर जस्ता अंगको पनि साहित्यमा स्थान नभएको होइन, तर आँखले जति अर्थ कम्मरले राख्न सक्दैन । त्यसैले साहित्यमा आँखाको उच्चसम्मान छ । नेपाली गीतमा पनि आँखाले उत्तिकै सम्मान पाएको छ । आँखालाई नेपाली गीतकारहरूले कसरी लिएका छन् त ? केही नमुनाहरूका बारेमा कुरा गरौँ । 

फूलको आँखामा फूलै संसार 
काँडाको आँखामा काँडै संसार । 
(रचनाः दुर्गालाल श्रेष्ठ, संगीतः न्ह्यु बज्राचार्य, स्वरः आनी छोइङ)

यस गीतले जीवन र जगत्को सकारात्मक र नकारात्मक स्थितिलाई संकेत गरेको छ । मानिसको हेराइअनुसार वस्तुको प्रभाव हुने हुनाले गुणदोष भन्ने कुरा वस्तुमा नभएर दृष्टिमा हुने तथ्यलाई प्रस्तुत गीतले कलात्मक रूप दिएको छ । एउटा गीतले ‘झल्झली आँखामा, झल्झली आँखामा’ (स्वर: उषा मंगेसकर) भन्छ भने अर्काे गीतले ‘आँखैमा झलझली’ (स्वर: शशिकला मोक्तान/कुमार लामा योन्जन) भनिदिन्छ । 

जुन क्रममा भने पनि विगतका तीतामीठा यादहरू आँखामा आएर बस्ने अवस्थालाई यी गीतले संकेत गरेका छन् । यद्यपि, याद आँखामा नभएर स्मृतिमा बस्ने भाव हो तैपनि हाम्रो व्यवहारले यादलाई आँखामा राखिदिन्छ । 

मविवि शाहको रचना र दीपक जंगमको संगीतमा गुलाम अलीले गाएको ‘गाजलु ती ठूलाठूला आँखा, तीर बनी पसे यो दिलैमा’ गीतले गाजल लगाएका ठूला आँखालाई सुन्दरताको मापदण्ड बनाएको छ । साना आँखा, चिम्सा आँखाहरूलाई यस गीतले तनाव दिए पनि कसैको आँखाले कसैको दिलमा तीर लाग्छ भने कसले छेक्न सक्छ र ? कहीँ आँखा दिलमा पस्छ भने कोही आँखाबाट दिलमा पसिदिन्छ यसरी:

आँखाबाट पस्नेलाई छेक्न सकिएन
भित्र पस्न मनाही छ लेख्न सकिएन ।
(रचनाः सनतकुमार) 

कतै त्यही आँखाले मानिसको मर्मभेदन गरिदिन्छ कसैलाई बाण हानिदिन्छ:

चाँगु नारन थान 
गाजलु आँखैले हान्यो मलाई बान(ण) ।
(रचना/संगीतः सुरज अधिकारी, स्वरः नवराज घोरासैनीलगायत) 

‘अखियोँ से गोली मारे, लडकी कमाल की’ भन्ने गीत सुन्दा नेपालीमा मात्र होइन, हिन्दीमा पनि आँखा चानेचुने अस्त्र होइन रहेछ भन्ने लाग्छ । तर, ‘लेट मी सी द लभ इन योर आइज’ गीत सुुन्ने हो भने अंग्रेजीमा पनि आँखाको काम हेर्ने मात्र होइन रहेछ । तथ्य के हो भने, आँखा बहुआयामिक अंग हो । यसले हेर्ने मात्र होइन, दिलको भाषा पनि बोल्ने गर्छ । 

मान्छेलाई आफ्नो आँखाको मात्र ध्यान गरेर सुख नहुने रहेछ, अरूका लागि झन् मरिमेट्नुपर्ने रहेछ । यस गीतले त्यही त भन्छ: 

तिम्रा आँखा लोभी रै’छन् हेरिहाल्यौ केरे
मैले पनि राम्री हुन कति लुगा फेरेँ ।
(रचना/संगीतः एकनारायण भण्डारी, स्वरः विष्णु माझी/पीताम्बर जीसी)

अर्काको लोभी आँखालार्ई खुसी पार्न आफूलाई राम्रो बनाउनुपर्ने अवस्था त माया प्रेममा कति आउँछन् आउँछन् । प्रेममा यस्तो चलिहाल्छ । फेरि ‘तेरा आँखा लोभी’ भन्दा रिसै नउठ्ने रहेछ । ‘तँ लोभी’ भनेको भए रिसाउँथ्यो होला । उल्टै: 

तिम्रो आँखैले बोलायो के गरूँ ?
तिम्रो ओठैले लोभ्यायो के गरूँ ?
(स्वरः उदितनारायण/दीपा झा)

भनेर लाचार बन्दा नै मजा आउने रहेछ । 
 
नारी मात्र हुन् पुरुषका आँखाका लागि राम्री बनिदिने ? त्यसो होइन रहेछ । अब यस गीतलाई हेरौँ:

यो दाजुको मिर्मिरे आँखा 
कस्तो मेरो बिगार्‍यो दिमाग ।
(स्वरः प्रवीण गुरुङ र बीमाकुमारी दुरा)

आखिर पुरुषका आँखाले पनि त नारीको दिमागलाई बिगार्ने रहेछन् ! भन्न पो पाउनुपर्‍यो । तर, पुरुषको आँखा अलिक बदमास, अलिक छट्टु भने अवश्य पनि हो जस्तो लाग्छ । नत्र के भनेको त यो:

कति बस्छ्यौ माइतीको कौसीमा
लाग्छ आँखा पाकेको लौसीमा ।
(रचना, संगीत र स्वरः राम थापा)

अर्काले आँखा लगाउँछ भनेर नपाकीकन बस्न पनि त सकिँदैन नि ! फुल्नु, फल्नु, पाक्नु भनेको त प्राकृतिक प्रक्रिया हो नि !
 
आँखा र गाजलको सम्बन्ध पनि बडो अनौठो हुँदोरहेछ क्यार ! सौन्दर्यभोगीहरूको भाष्यमा ठूलाठूला आँखामा गाजल नलगाएको भए गीतको प्रवाह कता जान्थ्यो होला ? गाजल लगाइसक्दा त हेर्ने मान्छे ठहरै भइहाल्दो रहेछ ।

उदाहरण हेर्नुहोस् त, पाण्डव सुनुवार र वासुदेव मुनालको स्वरमा रहेको ‘सक्यो नानी सक्यो नानी सक्यो नानी, नुवाकोटे नानी गाजल लाउने तिम्रो बानी सक्यो नानी ।’ गाजल लगाउनेबित्तिकै सकिहाल्दा रहेछन् । त्यही भएर पो नारीहरू पिरै भए पनि फुकीफुकी गाजल लगाउँदा रहेछन्, लागाउन बिर्सिए भने हालत यस्तो हुन्छ:
 
आजै गाजल नला’र आ’को
आजै माया टुप्लुक्कै भेट भा’को ।
(विष्णु माझीको स्वरमा रहेको लोकगीत)

गाजलबिनाको सादा आँखा त मायालुलाई देखाउनै पो नहुने रहेछ । मायामा मायालुको चित्त बुझाउन पनि कम अप्ठ्यारो छैन हो । गाजलमा लगाउने मान्छे भन्दा हेर्ने मान्छेले मरिहत्ते गर्दाेरहेछ अनि नलगाई हुन्छ त !

मलाई पनि कालो गाजल लाउनै पर्ने
तिम्लाई पनि गाजल हेर्न आउनै पर्ने ।
(रचना/संगीतः राजकुमार, स्वरः दीपा पन्त)  

उज्यालो संसार हेर्न रुचाउने आँखाको डिललाई कालो गाजलको बाँध लगाउन सुरु गर्ने मान्छेको तरिकाको प्रशंसा त गर्नै पर्छ । गाजल नलगाई हिँड्दा पनि सोधेर हैरान गर्नेहरू हुन्छन् ।

आँखामा गाजल ला’को खै ओठमा लाली ला’को खै
तैपनि राम्री देखिन्छ्यौ ।

राम्री देखिए त प्रश्न उठ्दैन नि ! यो त ‘तातो पानी दिने भए दे नत्र चिसै पानीले नुहाइदिन्छु’ भनेजस्तै त भयो । यसरी मानिस गाजलबिनाको आँखालाई त्यति रुचाउँदैन भन्ने प्रमाणित हुन्छ । 

आँखा सौन्दर्यको द्रष्टा मात्र होइन, सौन्दर्यको स्रष्टा पनि हो । सुखको सरोवर मात्र नभएर दुःखको सागर पनि हो ।
 
मेरो आँखालाई राख्ने फूलबारी छैन 
मेरो मुहारमा राखूँ कि !
(रचना/संगीतः अम्बर गुरुङ, स्वरः नारायणगोपाल)
 
भनेर मायालुका लागि मुटुलाई नै बगैँचा बनाउन सक्ने मान्छेले यसो पनि त भन्छ:

आँखा छोपी नरोऊ भनी भन्नु पर्‍या’ छ
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या’ छ ।
(रचनाः कालीप्रसाद रजिाल, संगीत/स्वरः नारायणगोपाल)

नेपाली गीतमा मात्र नभएर साहित्यका सबै विधामा आँखालाई अनेक आँखाले हेर्ने प्रयास भएको छ । लेखकको कलाकौशलले कतै आँखालाई अत्यन्त शक्तिशाली प्रतीक बनाएको छ भने कतै आँखा विशुद्ध अभिधात्मक रूपमा प्रस्तुत भएको छ । 

आँखा एउटा शारीरिक अवयव हुँदाहुँदै पनि कलाका हरेक विधामा प्रतीकात्मक अर्थ राख्न सक्ने तत्त्व हो । आँखा जब चर्मचक्षुको हदबाट माथि गएर अभिव्यक्त हुन्छे, तब संसार अटाउन सक्ने हैसियत राख्छ भन्ने तथ्य माथिका उदाहरणबाट ठम्याउन सकिन्छ ।