यस्ता छन् कांग्रेस सभापतिका आकांक्षी कल्याण गुरुङका एजेण्डा

यस्ता छन् कांग्रेस सभापतिका आकांक्षी कल्याण गुरुङका एजेण्डा

न्युज कारखाना  |  समाचार  |  भदौ १६, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले पार्टीको आसन्न १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने औपचारिक घोषणा गरेका हुन् ।

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका ५१ वर्षीय गुरुङले युवाहरूको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको र जित्ने दाबी गरे ।

२०४८ सालमा जो नेतृत्वमा थिए, ३० वर्षपछि पनि उनीहरू नै नेतृत्वमा बसिरहेको भन्दै गुरुङले नयाँ पुस्ताको नेतृत्व गर्दै आफू अघि सरेको बताए । 'शासन व्यवस्थामा परिवर्तन आयो तर नेतृत्वको सोचमा परिवर्तन आएन । ६० वर्षमाथिका २० जना पार्टी नेतृत्वका आकांक्षी छन् । कम्तीमा पनि १० जना युवा आकांक्षी हुनुपर्छ', उनले भने, 'बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरेको कांग्रेसमा अहिले पनि पुरानै पुस्ता नेतृत्व गरिरहेको छ । नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम छ, त्यसैले मेरो उम्मेदवारी हो ।'

गुरुङले नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने आममानिसको माग रहेको र ८० प्रतिशत क्रियाशील सदस्य युवा भएकाले आफूले उम्मेदवारी दिएको दोहोर्‍याए ।  

उनले आफू सभापति भएमा सबै समुदायलाई समेटेर समावेशी पार्टी बनाउने दाबी गरे । 'सबैले अवसर पाउने, सबैलाई न्याय हुने पार्टी बनाउँछु', उनले भने ।

गुरुङले एक व्यक्ति मात्र पटक पटक मन्त्री, सांसद र पार्टी पदमा रहिरहने व्यवस्था पनि फेर्ने बताए । 'समानुपातिक सांसद एक पटक मात्र बन्न पाउने, २ पटक मात्र मन्त्री हुन पाउने, २ पटक मात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था र पार्टीको विधानमा पनि गर्छु । एक व्यक्ति पार्टीको वडा सभापतिदेखि केन्द्रीय सदस्यसम्म २ पटक मात्र पदमा बस्न पाउने विधानमै व्यवस्था गर्छु', उनले भने ।

गुरुङले स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुख र ५० प्रतिशत महिला उपप्रमुख हुने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने बताए । 'सभापति भएर पार्टीको नेतृत्वमा सरकार बने शिक्षामा सबैको पहुँच, अनिवार्य र नि:शुल्क शिक्षा, सबै निजी अस्पताललाई राष्ट्रियकरण गरेर सबै नागरिकलाई नि:शुल्क गुणस्तरीय शिक्षा प्रदान गर्छु', उनले भने ।  

सभापति बनेर सरकारको नेतृत्व गर्ने अवसर पाए ६ महिनाभित्र भ्रष्टाचारमुक्त देश बनाउन पहल गर्ने गुरुङको भनाइ थियो । त्यसका लागि कडाभन्दा कडा कानुन बनाउने उनले उल्लेख गरे ।

१३औँ महाधिवेशनमा भाग लिन नपाएका क्रियाशील सदस्यहरू अहिलेको पदाधिकारीप्रति असन्तुष्ट रहेको भन्दै उनीहरूले मत आफूले पाउने र युवाको संख्या पार्टीमा धेरै भएकाले आफूले जित्ने गुरुङको दाबी छ ।

उनले चाँडै आफ्नो टिम सार्वजनिक गर्ने पनि बताए । कांग्रेस केन्द्रीय महाधिवेशन ९-१३ मंसिरसम्म हुनेछ ।