अमिताभ बच्चनको ‘उचाइ’का लागि डेनी डेन्जोङ्पा पनि नेपाल आउँदै

अमिताभ बच्चनको ‘उचाइ’का लागि डेनी डेन्जोङ्पा पनि नेपाल आउँदै

न्युज कारखाना  |  लोकरञ्जन  |  भदौ १८, २०७८

कोरोना भाइरस महामारीका कारण ठप्प मनोरंजन क्षेत्र विस्तारै चलायमान बन्दै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो निर्णयअनुसार सिनेमा हल खोल्न पाइने भएपछि उत्साहित बनेका चलचित्रकर्मीलाई अर्को खुसीको खबर छ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन सुटिङका लागि नेपाल आउने भएका छन् । उनी बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण गर्ने ‘उचाइ’ फिल्म सुटिङका लागि नेपाल आउन लागेका हुन् ।

सुरज बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइने छ । फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ । अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउने सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री व्हिलर्स फिल्म्सका सुरज आचार्यले बताए । उनकै कम्पनीले विगत ३ वर्षदेखि भारतीय फिल्म कम्पनीसँग कुराकानी अगाडि बढाएको थियो ।

‘यो प्रोजेक्टका लागि तयारी थलिएको लामो समय भइसकेको छ । उहाँहरू एक पटक आएर बुझेर फर्किसक्नुभएको छ’, लाइन प्रोड्युसर आचार्यले भने,  ‘मैले बारम्बार नेपालमा पनि विदेशको झैँ लोकेसन छ भनेर बलिउडका फिल्मकर्मीलाई भन्ने गरेको थिएँ, फिल्मको काम कोरोनाले गर्दा केही समय ढिलो भयो ।’

सुरजले राजश्री फिल्म्सले नेपालमा छायांकन सकेसँगै बलिउडबाट अन्य धेरै फिल्म छायांकनका लागि आउने संकेत गरे । ‘धेरै प्रोडक्सन हाउससँग कुराकानी  भइरहेको छ, केवल खाँचो छ त सुरुवातको’, उनले भने । 

‘उचाइ’ फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी हुन् । यतिबेला सुरज र अरुण हिमाली भेगमा छायांकनका लागि लोकेसन हेर्न ट्रेकिङ गाइड तिलकराम राईसँग पुगेका छन् । 

फिल्मको छायांकन मनाङ, मुस्ताङ, लुक्लालगायतका हिमाली भेगमा र काठमाडौंको आसपासमा पनि हुनेछ । ‘हामीले काठमाडौंमा छायांकन गर्दा पनि नेपाली पर्यटनलाई टेवा पुग्ने लोकेसन छानेका छौँ’, प्रोडक्सन म्यानेजर रेग्मीले भने । उनले स्वयम्भू, बौद्धलगायतका स्थान छानिएको बताए । ‘हामीले सिनको डिमान्डअनुसारको लोकेसन छानेका छौँ र लोकेसन फाइनल गर्न आउने टोलीलाई देखाउनेछौँ’, अरुणले भने ।

फिल्ममा डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । ४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । फिल्मको छायांकन हिमाली भेगमा हुँदा त्यसले पर्यटनमा टेवा पुर्‍याउने ट्रेकिङ गाइड तिलकराम राईले बताए । ‘मैले धेरै पर्यटकलाई घुमाएको छु, त्यसैले गर्दा विश्व लोभिने लोकेसन सजेस्ट गर्नेछु', तिलकले भने ।