देउवाको गृहजिल्ला डडेलधुरा सभापतिमा साउद र भट्टबीच प्रतिस्पर्धा

देउवाको गृहजिल्ला डडेलधुरा सभापतिमा साउद र भट्टबीच प्रतिस्पर्धा

न्युज कारखाना  |  समाचार  |  भदौ १८, २०७८

नेपाली कांग्रेसमा केन्द्रदेखि जिल्ला तहसम्म १४औँ महाधिवेशनको रौनक बढेको छ । केन्द्रमा सभापतिका आकांक्षीले दाबी प्रस्तुत गरिरहँदा जिल्लामा पनि जिल्ला सभापतिका दाबेदारको पनि दौडधुप सुरु भएको छ । यसैबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि पार्टी सभापतिका लागि होडबाजी चलेको छ ।

जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्वसभापति रघुवर भट्टका अलग गुट छन् । रघुवर प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति मल्ल केन्द्रीय सभापतिका आकांक्षी विमलेन्द्र निधिको साथमा रहेका छन् ।

यसका बाबजुत फेरि कांग्रेस डडेल्धुरामा चुनावी माहोल तातेको छ । अहिलेसम्म डडेल्धुरामा ३ जनाले सभापतिको उम्मेदवारीमा दाबी गरेका छन्, जसमा परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउद, कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट र अधिवक्ता हरि भट्ट रहेका छन् ।

नगरप्रमुख साउदलाई सभापति देउवाको समर्थन रहेको उनी निकट नेताहरू बताउँछन् । यसअघि देउवा निवास पुगेर फर्किएका साउदले देउवाले आफूलाई समर्थन गरेकोे भन्दै जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरेका थिए । 

उनलाई कांग्रेस सुदूरपश्चिम सचेतक गोविन्दराज बोहरा र पूर्व जिल्ला उपसभापति रघुवर भट्टको पनि समर्थन छ । यसअघि यी दुवैले पनि जिल्ला सभापतिमा आकांक्षा राखेका थिए ।

जिल्लामा सभापतिका आकांक्षी धेरै हुँदाहुँदै पार्टी सभापति देउवाले निवासमै बोलाएर सर्वसम्मतबाट पार्टी सभापतिका लागि परशुराम नगरपालिकाका प्रमुख साउदको नाम अगाडि सारेपछि डडेल्धुरा कांग्रेसमा झनै आगो दन्किएको छ ।

वर्तमान जिल्ला उपसभापति करुणाकर भट्टलाई भने सभापति मल्लको साथ रहेको छ । यसअघि २ पटक जिल्ला सभापति भइसकेका मल्ल भने विधानअनुसार अब सभापति बन्न पाउनेछैनन् ।

डडेल्धुरामा जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवा खेमाबीच विगतमा पनि प्रतिस्पर्धा हुँदै आएको छ । कांग्रेसमा गुट, उपगुट हावी भएको भन्दै कांग्रेस सुदृढीकरण अभियान नाम दिएर तेस्रो धारबाट सभापतिमै हरिप्रसाद भट्टले उम्मेदवारी घोषणा गरेका छन् । भट्ट पेसाले अधिवक्ता हुन् । यीबाहेक अरू नेताले पनि सभापतिमा आकांक्षा राखे पनि यी ३ जनाबीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

भट्ट भर्सेस भट्ट, को होला ब्याक ?

कांग्रेसमा अधिवेशनको सरगर्मी बढ्दै गइरहेका बेला मत आफूतिर तान्ने प्रयास उम्मेदवारहरूले गरिरहेका छन् । नगरप्रमुख साउदको टिम एकातिर छ भने सभापति मल्ल र तेस्रो धारका भट्टको टिमसँगै मिलेर मत आफूतिर तान्ने प्रयासरत छन् । सोही कारण भट्ट भर्सेस भट्टमध्ये एक जना ब्याक हुने आंकलन गर्न सकिन्छ ।

अधिवक्ता भट्टलाई सभापतिको आधिकारिक उम्मेदवार बनाउँदा बीचमा धोका हुन सक्ने र नगरप्रमुख साउद निर्विरोध सभापति बन्न सक्ने भन्दै मल्लले वर्तमान उपसभापति भट्टलाई ब्याक नगरेको उनी निकट स्रोत बताउँछ ।

स्रोतका अनुसार अधिवक्ता भट्टको भन्दा उपसभापति भट्टसँग बढी मत रहेको छ। तर, उता नगरप्रमुख साउदसँग पनि भट्टकै हाराहारी मत रहेको विश्लेषण गरिन्छ । 

अधिवक्ता भट्ट ब्याक हुँदा उनीनिकटका व्यक्तिले उपसभापति भट्टलाई मत नदिएर साउदलाई दिने र साउद सभापति बन्ने पक्का हुन्छ । तर, उपसभापति भट्ट ब्याक हुँदा उनी निकट व्यक्तिले साउदलाई नदिएर अधिवक्ता भट्टलाई दिने र उनी विजयी हुने संभावना बलियो छ ।