नेपाली डिफेण्डर रोहित सम्मिलित पर्सिजाको खेल आज

नेपाली डिफेण्डर रोहित सम्मिलित पर्सिजाको खेल आज

न्युज कारखाना  |  खेलकुद  |  भदौ २०, २०७८

नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेण्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा नयाँ सिजन आज सुरु गर्दै छ ।  

आइतबार पर्सिजाले पहिलो चरणको खेलमा पीएसएस स्लेमनको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । 

इन्डोनेसियाको शीर्ष डिभिजन लिग गत शुक्रबार नै सुरु भएको हो । रोहित सम्मिलिन पर्सिजाको भने आज खेल रहेको छ । 

पीएसएस स्लेमनविरुद्ध रोहितसमेत खेल्ने संभावना छ । इटालीयन प्रशिक्षक एन्जेलो एलेसियोको आगमनसँगै पर्सिजाले लिगमा पहिलो खेल खेल्दै छ । अघिल्लो हप्ता मात्र इन्डोनेसिया पुगेर ८ दिनको क्वारेन्टाइन समय बिताएपछि रोहित टोलीको अभ्यास सत्रमा सहभागी भएका हुन् ।

पहिलो चरणको अन्तिम दिन पुग्दा बोर्नियो ३ अंकसहित शीर्ष स्थानमा छ । पर्सिजाले पहिलो खेलमा ३-० को जीत हासिल गरे शीर्ष स्थान कब्जा गर्नेछ । 

यता, नेपालले समेत आज नै भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छ । 

यसअघि रोहित टोलीसँगै पोखरामा बन्द प्रशिक्षणमा रहँदा इन्डोनेसिया उडेका थिए ।