माधव नेपालको बहिर्गमन: राजसंस्था, हिन्दु राज्य र संघीयता खारेजीमा ओलीलाई सहज !
भदौ २०, २०७८

‘स्थिरता र विकासका लागि’ नारा दिएको नेकपाको सरकारले जनतामा निकै खुसी पलाएको थियो । प्रधानमन्त्री केपी ओलीका ठुला योजना र आश्वासनले सुरुमा जनतामा निकै राम्रो आशा जगायो । जनताले आशा गरेका केही काम भए पनि आधारभूत काममा सरकारले ध्यान पुर्‍याउन सकेन । 

खासगरी जनताले खोजेको सुग्घर सफाइ (रिसाइक्लिङ)को ब्यबस्था, शुद्ध पिउने पानी, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा कुनै सकारात्मक परिवर्तन आएन । उपत्यकाको फोहोरको स्थायी व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । गाउँगाउँमा पिउने पानीको अझै पनि हाहाकार छ । नजिकै खोला, नदी तथा मूलहरूमा कन्चन पानी बगिरहेको हुन्छ तर त्यही पानी तानेर गाउँसम्म पुर्‍याउन प्रयास गरेको पाइँदैन (अपवादबाहेक) । 

शिक्षातर्फ सरकारले सुधार गरेको देखिँदैन । कमसेकम स्कुल तहमा व्यावसायिक शिक्षामा जोड दिन आवश्यक छ । जसरी विकसित देशमा स्कुल पास गर्ने विद्यार्थीले कुनै न कुनै प्राविधिक शिक्षा प्राप्त गरेर तुरुन्त रोजगार पाउन सक्षम हुन्छन् । हामीले यति काम गर्न नसक्दा युवाहरू बेरोजगार हुन बाध्य छन् । 

स्वास्थ्यतर्फ पनि त्यही हालत छ । सरकारी स्वास्थ्य केन्द्रमा आवश्यक प्राविधिक, औजार, औषधि र डाक्टरको अभाव छ । गाउँहरूमा अझै पनि मानिसहरू साधारण बिरामी हुँदा औषधि पाउँदैनन् । चोटपटक लागेका घाइतेले समयमा उपचार पाउन सक्दैनन् । यस्ता आधारभूत अत्यावश्यक विषयहरूमा सरकारले समयमा ध्यान पुर्‍याउन नसक्दा सरकारप्रति जनता निराश हुँदै गएका थिए । 

निवर्तमान प्रधानमन्त्री केपी ओलीले ठूला आश्वासन दिनुभयो । केही ठूला महत्त्वपुर्ण कार्यहरू पनि गर्नुभयो । नेपाल-चीनबीचको यातायात तथा पारबहन सन्धि गर्नुभयो, जसबाट भारतले बारम्बार लगाउने नाकाबन्दीबाट मुक्ति पाएको छ । 

नेपालीको पहिचान र एकताका प्रतीक हिन्दु धर्म र राजसंस्थाको अत्यन्त महत्त्व रहेको छ । अहिले एमालेबाट हिन्दु धर्मविरोधी तथा पार्टीद्रोही माधवकुमार नेपाल बाहिरिइसकेका र माओवादी पार्टीसमेत छुट्टै भइसकेकाले एमाले नेता ओलीलाई राजसंस्थाको पक्ष र हिन्दु अधिराज्यको समर्थन र सहयोग गर्न चाहेमा त्यति कठिनाइ हुनेछैन ।

नेपालको पश्चिम-उत्तर कुनामा भारतद्वारा मिचिएका हाम्रा लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसहित समेटेर चुच्चे नक्सा प्रकाशन गरियो । धेरै सडकहरू बने । धेरै ढिला गरी सुरु भएको सुनकोसी मरिन डाइभर्सनको सिँचाइ आयोजनाले २ नम्बर प्रदेशको कायापलट हुन सक्ने योजना छ । 

केपी ओलीको सरकारले सरकारबाट हट्ने समयमा एकै दिनमा देशभर सयौँ स्वास्थ्य केन्द्रको शिलान्यास गर्नु धेरै ढिला भइसकेको थियो किनकि नयाँ सरकारबाट यसको कार्यान्वयनमा अब शंका उठिसकेको छ । धेरैबाट आस गरिएका सबै प्रदेशहरूमा निर्माण गरिनुपर्ने मेडिकल कलेजहरू निर्माण हुन सकेनन् । जनताका आधारभूत विषयहरू, छायामा परेका विषयलगायतलाई पार्टीभित्रका पदका विषयलाई विरोधी नेताले उपयोग गरे र उनका विरुद्ध जेहाद छेडे । 
    
पार्टीभित्रबाट माधवकुमार नेपालको एकोहोरो विरोधले पार्टीभित्र निकै ठूलो हलचल ल्यायो, जसमा माओवादी नेता प्रचण्डको प्रमुख हात रहेको थियो । कालान्तरमा यसले पार्टी विभाजित भयो । यसमा पार्टीको अध्यक्षको नाताले केपी ओलीको ठूलो कमजोरी देखिन्छ । केपी ओलीका सल्लाहकारको गलत छनोट र सल्लाहकारको व्यक्तिवादी सोचले उनलाई सही बाटोमा ल्याउने प्रयास गरेनन् ।  

केपि ओली स्वयं आफ्ना गुटभन्दा अरूको आवाजको कदर नगर्ने हठी स्वभावका भएका कारण सर्वसाधारण जनताको आवाज सुनुवाइ हुन सकेन । अर्कोतर्फ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको केपी ओलीप्रतिको आग्रह, कुण्ठा, रिसइवी तथा अहंकारले जसरी भए पनि प्रधानमन्त्री ओलीलाई सत्ताबाट झार्न प्रयास गरिरहे । विरोधीसँग साँठगाँठ गरी अन्त्यमा सत्ताबाट बहिर्गमन गर्न माकुने सफल भए पनि यसले एमाले पार्टीलगायत कम्युनिस्ट पार्टीलाई नै ठूलो आघात पुर्‍याएको छ ।
    
यसभन्दा अघि नै नेपाली कांग्रेसको कुशासन र भ्रष्टाचारले बदनाम भएर माओवादीले विद्रोह गरी देशमा अत्यधिक धन र जनको नोक्सानी भइसकेको थियो । यी ठूला दल कांग्रेस र कम्युनिस्ट पार्टीबाट केही पनि नहुने देखिइसकेको छ । देशलाई कुशासनमा डुबाएर भ्रष्टाचारले पूरा गाँजिसकेको छ ।

देशका प्रमुख दलहरूप्रतिको विश्वास घटिसकेको अवस्थामा धेरै जनता पुनः राजसंस्थाको आवश्यकता महसुुुस गर्न थालेका छन् । यसै क्रममा अहिले नयाँ शिराबाट जोशिला र क्षमतावान् अनि परिपक्व युवाहरूको समूह, संगठन बनाएर राजसंस्था, हिन्दु राष्ट्र ल्याउनका लागि आन्दोलनमा होमिन थालेका छन् । संविधानमा घुसाइएको संघीयताले गर्दा देशको खर्च अत्यधिक बढेर धान्न नसक्ने अवस्थामा पुगेको छ ।  प्रदेशमा झनै भ्रष्टाचार बढेर गएकाले देशलाई संघीयताको बोझ अत्यधिक भार भएको छ । 

अर्कोतर्फ पश्चिमाको इच्छाअनुसार लादिएको धर्मनिरपेक्षताले गर्दा नेपालका गाउँघरका सोझासाझा नेपालीहरूलाई फकाउँदै छोटो समयमा हजारौँलाई क्रिस्चियन बनाएर देशभरमा हजारौँ चर्चहरू बनाइसकिएको छ । यसले गर्दा कालान्तरमा पारिवारभित्र आपसी कलह बढ्न गई समाजमा धार्मिक युद्ध हुने संभावना बढेर गएको छ । नेताहरूको गलत सोच र हिन्दु धर्मविरोधी प्रचार गर्न स्वयं नेतृत्व वर्ग लागेकाले जनताको आक्रोश हदैसम्म बढ्दै गएको छ । 

निवर्तमान प्रधानमन्त्री केपी ओली वैदिक सनातन हिन्दु धर्मको राम्रो ज्ञान भएका र यसका पक्षमा केही राम्रा कार्यहरू गरिएकाले जनताको आशा उनीप्रति अलिक बढी नै छ । खासगरी पशुपतिनाथमा क्षमा पूजा गर्नु र सुनको जलहारी चढाउनु, चितवन ठोरीमा अयोध्या रहेको भनी ठोकुवा गर्नु र त्यहाँ राम-सीताको मन्दिर स्थापना गर्नुले हिन्दु धर्मावलम्बी जनता उनीप्रति निकै उत्साहित भएका थिए । 

यसले गर्दा यदि एमाले पार्टीले हिन्दु धर्मको पक्षमा र संघीयताको विरोधमा एजेण्डा लिएर अघि बढेमा धेरै जनताको साथ प्राप्त हुनेछ । कुनै पनि धर्मबिनाको देशमा सरकारबाट लोककल्याणकारी कार्य हुन सक्दैन । नेतामा हुने विशेष गुणमा जनताका वैदिक परंपराअनुसार परापूर्वदेखि चलेका धर्म, संस्कृतिलाई जगेर्ना गर्नु पनि प्रमुख कर्तव्य हुनेछ । 

नेपालीको पहिचान र एकताका प्रतीक हिन्दु धर्म र राजसंस्थाको अत्यन्त महत्त्व रहेको छ । अहिले एमालेबाट हिन्दु धर्मविरोधी तथा पार्टीद्रोही माधवकुमार नेपाल बाहिरिइसकेका र माओवादी पार्टीसमेत छुट्टै भइसकेकाले एमाले नेता ओलीलाई राजसंस्थाको पक्ष र हिन्दु अधिराज्यको समर्थन र सहयोग गर्न चाहेमा त्यति कठिनाइ हुनेछैन ।

सबै राजसंस्था समर्थकले देशको दीर्घकालीन शान्ति र विकासका लागि आवश्यक एजेण्डा बनाएर भ्रष्टाचारीलाई कडा कारबाही गर्ने र सुशासन तथा मीतव्ययी किसिमले सरकार चलाउने गरी संविधानमा आवश्यक संशोधन गर्न एमालेसँग मिलेर अघि बढ्न उचित हुनेछ । कमसेकम निर्वाचनको समयमा राष्ट्रवादी सोचसहितका विचार मिल्ने सबै एक ठाउँमा भेला हुन सके नेपालमा दीर्घकालीन विकास र शान्ति हुन सक्छ । यसमा छिमेकि राष्ट्रहरूको पनि अवश्य सहयोग प्राप्त हुनेछ किनकि चीन र भारत पनि नेपालमा स्थिरता र विकास होस्, कमसेकम नेपालको भूमिबाट आफ्ना देशहरूमा कुनै पनि किसिमका हस्तक्षेप नहोस् र सुरक्षामा बाधा नपरोस् भन्ने चाहन्छन् । 

हामीले २ छिमेकीलाई समदूरीमा राखेर परराष्ट्र नीति बनाउन आवश्यक छ । हाम्रो देशमा सुशासन र सुरक्षा  कायम राख्दै खाद्यान्न, बिद्युत्, जडिबुटीलगायतमा आत्मनिर्भर भएर कृषिमा आधारित विकासका कार्यक्रमहरू अघि बढाउनुुपर्छ । युवाहरूलाई स्वदेशमै रोजगारी दिएर आफ्नो गाउँघरको विकासमा पसिना बगाउने मौका दिन सके हामी कोहीसँग दबिएर नबसी स्वाभिमानपूर्वक बाँच्न सक्नेछौँ । 

हाल- अस्ट्रेलिया


लेखक समसामियक विषयमा कलम चलाउनुहुन्छ ।