‘मोहरा’ बनेका/बनाइएका वामदेव गौतमका नाममा ‘सद्भावपत्र’

‘मोहरा’ बनेका/बनाइएका वामदेव गौतमका नाममा ‘सद्भावपत्र’

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  भदौ २१, २०७८

वामदेव गौतम पंचायतकाल अर्थात् राजनीतिक दलहरू भूमिगत हुँदाखेरिदेखिकै चर्चाका केन्द्रीय पात्र हुन् । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका वामदेवबारेका रमाइला टिप्पणीहरू निकै छन् नेपाली राजनीतिक वृत्तमा । जंगी, हक्की र प्रस्ट स्वभावका वामदेवले बोलेका विषय र सन्दर्भ अनि शब्दलाई लिएर नेपाली राजनीतिक वृत्तमा एक प्रकारको रमाइलो माहोल नै बन्ने गर्छ ।

वामदेव निकै ‘डाइनामिक’ पात्र मानिन्छन् नेपाली राजनीतिका । विशेषगरी २०४७ सालपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निर्माण भएपछि एमालेभित्रको शक्ति संघर्षमा प्रायः अघि सर्ने व्यक्ति हुन् वामदेव । मदन भण्डारीदेखि माधव नेपाल हुँदै केपी ओलीसम्म एमाले नेतृत्व आइपुग्दा एमालेभित्रको गुट समीकरणमा गतिलो प्रभाव छाड्ने वामदेव आखिर कहिल्यै पार्टी सत्तामा पुग्न भने सकेनन् ।

मदन भण्डारीले उहिल्यै भनेका थिए रे, ‘वामदेवलाई पार्टीको पहिलो जिम्मेवारी पनि नदिनू, साह्रै तल पनि नराख्नू ।’

सायद ! वामदेवको लहडी र मूढे स्वभावप्रति मदन ऊबेलै परिचित थिए । यसको पुष्टि पनि भयो २०५४ सालमा आएर । वामदेवकै पहलमा एमाले विभाजित भयो र माले बन्यो । २०५६ सालको आमनिर्वाचनमा करिब ७ लाख मत प्राप्त गर्दागर्दै लज्जास्पद शून्य सिट पाएपछि ‘पुनः मुसिको भवः’ शैलीमा वामदेवहरू मूल पार्टी अर्थात् एमालेमै फर्किन बाध्य भए ।  तर, उनीलगायत एमालेमा फर्किंदा सीपी मैनालीलगायतका नेताहरूलाई भने एमालेमा फर्काउन सकेनन् । 

आखिर त्यसबेला पार्टी फुट्नुको कुनै गम्भीर राजनीतिक कारण थिएन, न त वैचारिक/दार्शनिक कारणले नै फुटेको थियो एमाले । वास्तवमा ‘महाकाली सन्धि’लाई बहाना बनाएर पार्टीभित्र नेतृत्वको ‘जुँगा तानातान’को परिणाम थियो एमाले विभाजन र त्यसको अगुवाइ गरेका थिए वामदेवले । सँगै थिए सहाना प्रधान, आरके मैनाली, सीपी मैनालीहरू ।

बुटवलमा सम्पन्न आठौँ अधिवेशनमा झलनाथ खनाललाई पार्टी अध्यक्ष बनाउने जस वामदेवलाई नै जान्छ । नवौँ अधिवेशनमा केपी ओलीलाई वामदेवको साथ नरहेको थियो भने बुटवलको नियति ओलीले भोग्ने निश्चित थियो र माधव नेपाल अध्यक्ष हुने पक्कापक्पकी थियो ।

उसो त, तत्कालीन प्रभावशाली युवा नेताहरू योगेश भट्टराई, घनश्याम भुसालहरू पनि वामदेव, सीपीहरूसँगै ‘सती’ गएकै हुन् । एमालेका दर्जनौँ ‘अपराध’ लिखित रूपमै सार्वजनिक गर्ने भुसाल, भट्टराईहरू भलै आज माधव नेपाल, झलनाथ खनालहरूलाई केपी ओलीबाट अलग्याएर आफू ओलीकै छत्रछायामा रमाइरहेका छन् । उनीहरूलाई ‘इमान’, ‘आदर्श’ र ‘नैतिकता’ जोगाउने ठूलो पीर देखिन्छ । यही भएर त कट्टु खुस्किएर घुँडामुनि आइपुगेको भए पनि उनीहरू आफ्ना आँखा छोपेर ‘केपी ओली जिन्दावाद’ भनिरहेकै छन् ।

तर, पार्टी एकता जोगाउने अन्तिम प्रयास पनि बाँकी नै राखेका वामदेवले भने एमाले विभाजित नहुन्जेल एमाले परित्याग गरेनन् । विभाजित भएको पनि केही समय पर्खिएर बसे- कतै पुनर्मिलन हुन सक्छ कि भनेर । तर, त्यो संभावना नदेखेपछि वामदेवले अन्तत एमालेका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा मात्र गरेनन्, लिखित रूपमा एमाले कार्यालय सचिव समक्ष सहयोगीमार्फत राजीनामा बुझाए । 

उनले यसो गरेर सही वा गलत के गरे, त्यो इतिहासले बताउला तर जब आफ्ना आदर्श, सिद्दान्त र मूल्य, मान्यतामा कुनै पनि संस्था रहन सक्दैन भने इमान्दार व्यक्ति त्यस संस्थामा बसिरहन पनि हुँदैन । भलै, वामदेव स्वयं कतिको इमान्दार थिए/छन् भन्ने आमबुझाइ आफ्नै किसिमको होला ।

वामदेवले राजीनामापत्रमा एमालेभित्र अध्यक्ष ओलीको अहं, कुण्ठा, आग्रहले प्रश्रय पाएको तर विधि, विधान र इमान्दारी नभएकाले पार्टी परित्याग गरेको बताएका छन् ।

सरसर्ती हेर्दा भने वामदेवका ओलीप्रतिका आरोप गलत हुन् भन्ने लाग्दैन । विगतमा अर्थात् २०५४ सालमा एमाले विभाजनमा पनि ओलीले तत्कालीन महासचिव माधवकुमार नेपालका पक्षमा रहेर सीपी, वामदेवहरूलाई एमालेबाट पाखा लगाएकै हुन् । त्यसबेला माधव नेपाललाई बुरुकबुरुक उचालेर आफ्ना विरोधी (प्रतिस्पर्धी ?)हरूलाई पाखा नलगाएका भए ओली सायदै आज एमालेका अध्यक्ष बन्ने थिए । र, सायदै २ पटक प्रधानमन्त्रीको कुर्सीमा बस्थे ।

आज आएर उनै माधव नेपाललाई एमालेबाट पाखा लगाएर आफ्ना अरिङ्गाल र आसेपासे, भतौरे, भक्तजनहरूलाई काखी च्यापेर पार्टीमा मस्ती गर्न सफल बनेका छन् ओली । 

हिजो ओलीका विरुद्ध निकै उग्र बनेका भीम रावल, योगेश, घनश्याम, सुरेन्द्र आदि प्रवृत्तिलाई ओलीले कुन मन्त्र पिलाए र आफ्नै कोखिलामा राख्न सफल भए ? भन्ने आमचासो छँदै छ । तर, राजनीतिक बजारमा विश्लेषण भइरहेको छ कि यी ‘१० थान’हरूको ओलीसँग अघोषित सम्झौता थियो- माधव नेपाल र झलनाथ खनालहरूलाई एमालेबाट पाखा लगाउने । सोही जिम्मेवारी पूरा गर्न रावल, पाण्डे, भुसाल, भट्टराईहरूले कट्टुको इँजार बेलाबेला कस्दै उफ्रिएका थिए ओलीविरुद्ध । अन्ततः उनीहरू सफल भए अर्थात् ओलीलाई उनीहरूले सफल बनाए अभीष्टमा ।

तर, के एमालेचाहिँ सफल बन्यो त ? प्रश्न यो हुनुपथ्र्यो पार्टीमा । 

यो प्रश्नको जबाफ भने अतयन्त निराशाजनक आउँछ । अवश्य पनि एमाले पूर्ण रूपमा असफल भयो विभाजित बनेर । त्यसो त, विभाजित बन्नुअघि नै प्रस्ट बहुमतको आफ्नै सरकार ढालेर एमाले असफल भइसकेकै थियो ।

यता धेरै नअलमलिऔँ । कुरा वामदेव गौतमकै गरौँ ।

नेकपा हुँदै प्रचण्ड, माधव र ओलीबीचको फाटो मिलाउने प्रयास भइरहेकै थिए । त्यसमा पनि अघोषित रूपमा वामदेवलाई नै मोहरा बनाइयो ।

त्यसबेला नेकपामा भइरहेको ‘खिचातानी’का बीचमै जन्मिएको थियो, भैँसेपाटी गठबन्धन । केपी ओलीलाई अप्ठ्यारोमा पार्न र शक्ति आफूमा केन्द्रित गर्न प्रचण्डलगायत असन्तुष्ट पक्षहरू माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल आदि सम्मिलित उक्त गठबन्धन ओलीका लागि निकै सकसपूर्ण हुने ठानिएको थियो । 

त्यसबेला यसको ठूलै असर नदेखिए पनि अहिलेसम्म आइपुग्दा त्यसको प्रभावकारी असर  देखिएको छ । नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिँदा होस् वा एमाले विभाजनको आधार ‘भैँसेपाटी गठबन्धन’ले आधार प्रदान गरेको प्रस्टै छ ।

उक्त भेलामा सभामुख माओवादी पक्षलाई दिलाउने, वामदेवलाई राष्ट्रियसभामा ल्याएर संविधान संशोधनमार्फत् राष्ट्रियसभा सदस्य हुँदै प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने र वामदेवलाई प्रधानमन्त्री बनाउनेलगायतका निर्णय भएका बाहिर आएका थिए । 

आखिर सोहीअनुसार माओवादीबाट अग्निप्रसाद सापकोटा सभामुख बनाइए भने वामदेवलाई राष्ट्रियसभामा पनि लगिएको छ । तर, प्रधानमन्त्री वामदेवलाई बनाउने कुनै बाटो थिएन किनभने केपी ओली ‘बरु भाँचिने, ननिहुरिने’ अडानमा थिए र गरे पनि त्यस्तै, भयो पनि त्यस्तै ।

वामदेवलाई राष्ट्रियसभामा लैजाने प्रस्तावमा पनि केपी ओली सकारात्मक थिएनन् । उनले ‘पार्टी सचिवालयको निर्णय मान्दिनँ’ भनेका थिए । यसरी सचिवालयकै निर्णय मान्दिनँ भन्ने अहं र दम्भ भएका कम्युनिस्ट पार्टीका नेतृत्व सायद केपी ओली नै थिए । यसकै दुष्परिणाम ओलीले आजसम्म भोगिरहेका छन् । एकपछि अर्को भड्खालोबाट बचेर हिँड्न ओलीलाई अहिले निकै गाह्रो छ ।

यसबीचमा वामदेव धेरै पटक ‘मोहरा’ बनाइए । कहिले प्रचण्डले त कहिले माधवले वामदेवलाई अघि सारिरहे । उनका नाममा राजनीतिक अभीष्ट पूरा गर्ने खेल खेलिरहे । पछिल्लो समय जब माधव नेपाल ओलीबाट क्रमशः लखेटिँदै जान थाले, माधवले पुनः वामदेवलाई नै रोजे मोहराका लागि । वामदेवको अनौठो विशेषता के छ भने, उनी सानै कुरामा छिटै ‘प्रफुल्ल’ बनिदिन्छन् र ‘प्रयोग’ भइरहन्छन् । तत्कालीन एमाले, नेकपा वा पछिल्लो एमालेकै लफडाका सन्दर्भमा पनि वामदेव पटक पटक प्रयोग भइरहे ।

नेकपा एमाले विभाजन गरेर बनाएको नेकपा माले संचालन गर्न अक्षम भई एमालेमा पुनः भारी विसाएका दिनदेखि एमालेमा कसलाई नेता बनाउने भन्ने प्रमुख खेलाडी र अखटो पनि वामदेव बने । बुटवलमा सम्पन्न आठौँ अधिवेशनमा झलनाथ खनाललाई पार्टी अध्यक्ष बनाउने जस वामदेवलाई नै जान्छ । नवौँ अधिवेशनमा केपी ओलीलाई वामदेवको साथ नरहेको थियो भने बुटवलको नियति ओलीले भोग्ने निश्चित थियो र माधव नेपाल अध्यक्ष हुने पक्कापक्पकी थियो । 

तत्कालीन नेकपाभित्रको गठजोड र आन्तरिक ‘खुराफात’ केलाउँदा प्रचण्ड, नेपाल र खनालले ‘वामदेव कार्ड’को राम्रै सदुपयोग गरेका देखिन्छ । प्रधानमन्त्रीको कुर्सी देखाएर वामदेवलाई अघि बढाएर ओलीको ‘सेखी झार्ने’ अभीष्ट पूरा गर्ने दाउमा प्रचण्ड-नेपाल-खनाल देखिएका थिए । तर, अन्ततः माधव एक्लैले ओलीलाई आसन प्रधानमन्त्रीको कुर्सीबाट भ्वाक्कै झारिदिए ।

वामदेव ‘जबर्जस्त’ राष्ट्रियसभामा तानिएका भए पनि उनको प्रधानमन्त्रीको अभीष्ट त के पूरा हुनु, मन्त्रीको अवसरसमेत प्रप्त गरेनन् । 

अहिले वामदेवले एमाले परित्यागको घोषणा गरेका छन् । उनी माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने चर्चा भइरहेको छ । उता, नेकपा (एस)ले भर्खरै स्थायी कमिटी गठन गरिसकेको छ । वामदेवको स्थान नेकपा (एस)मा के हुने भन्ने पनि टुंगो लागेको छैन ।

वामदेव गौतमको दशकौँ लामो राजनीतिक जीवनले पार्टीमा पहिलो स्थान कहिल्यै नपाई विश्राम लिने त होइन ? उनको न प्रधानमन्त्रीको रहर पूरा हुन दिए, न त पार्टी नेतृत्वको यी ‘पापीहरू’ले । वामदेवप्रति हार्दिक सद्भाव प्रकट गर्नु सिवाय के गर्न सकिएला र !