पन्जसिर कब्जा गरेको तालिबानको दाबी

पन्जसिर कब्जा गरेको तालिबानको दाबी

एजेन्सी  |  विदेश  |  भदौ २१, २०७८

तालिबानले पछिल्लो समय अफगानिस्तानमा द्वन्द्वको केन्द्रबिन्दु बनेको पन्जसिर उपत्यका आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । तर, तालिबानको दाबीलाई अफगान रेसिस्टेन्स फोर्सले अस्वीकार गरेको छ । विगत ४ दिनदेखि जारी युद्धमा फोर्सतर्फ ठूलो क्षति भएको बताइएको छ । 

तालिबानले पन्जसिरमा विजय हासिल गरेको भन्दै अफगानिस्तान अब युद्धको दलदलबाट बाहिरिएको दाबी गरेका छन् । ‘विजयसँगै हाम्रो देश युद्धको दलदलबाट बाहिर निस्किएको छ’, तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भने ।

तर, फोर्सले भने तालिबानको दाबी अस्वीकार गर्दै युद्ध जारी राख्ने जनाएको छ । अहिले रणनीतिक ढंगले युद्ध जारी रहेको भन्दै फोर्सले भनेको छ, ‘तालिबानविरुद्धको युद्ध जारी रहनेछ ।’

यसअघि फोर्सले आफ्नोतर्फ ठूलो क्षति सामना गरेपछि तालिबानसँग शान्तिवार्ताको प्रस्ताव गरेको विवरण सार्वजनिक भएको थियो ।