गिनीमा सेनाले गर्‍यो सत्ता कब्जा, राष्ट्रपतिको अवस्था अज्ञात

गिनीमा सेनाले गर्‍यो सत्ता कब्जा, राष्ट्रपतिको अवस्था अज्ञात

एजेन्सी  |  विदेश  |  भदौ २१, २०७८

पश्चिम अफ्रिकी मुलुक गिनीको सेनाले राष्ट्रपतिलाई अपदस्थ गरी सत्ता कब्जा गरेको छ । सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति अल्फा कोन्डेलाई अपदस्थ गरी सत्ता हातमा लिएको जनाएको छ । सेनाको घोषणाअघि राजधानी कोनाक्रीस्थित राष्ट्रपति भवन नजिक दोहोरो गोली हानाहान भएको थियो ।  

राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी युनियनले सेनाको ‘क’को निन्दा गर्दै राष्ट्रपति कोन्डेको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

गिनी प्राकृतिक स्रोत साधनका दृष्टिले धनी मानिन्छ । तर, दशकौँ लामो अशान्ति र व्यवस्थापनको अभावमा ती अमूल्य स्रोत, साधन खेर गइरहेको छ  । 

हिंसाबीच गत वर्ष सम्पन्न निर्वाचनमा कोन्ड‍े तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सन् २०१० मा पहिलो पटक विजयी भएका थिए । केही आर्थिक सुधारका पहल गरे पनि उनीमाथि मानवअधिकार हनन र आलोचकलाई दुर्व्यवहार गरेको आरोप लाग्दै आएको छ ।

गिनीको अशान्तिकै कारण मोरक्कोविरुद्ध विश्वकपको छनाेट खेल पनि स्थगित भएको छ । सम्पूर्ण खेलाडी र खेल अधिकारीको सुरक्षाका लागि खेल स्थगित गरिएको फिफाले जनाएको छ । सेनाको ‘कू’पछि  मोरक्कोको फुटबल टिम स्वदेश फर्किन सकेको छैन । 

यसैबीच सेनाको अपदस्थ प्रयासलाई राष्ट्रपतिका सुरक्षाकर्मीले विफल पारिदिएको रक्षा मन्त्रालयले दाबी गरेको छ ।