देउवालाई महेश बस्नेतले भने : 'कांग्रेसले धेरै ठाउँमा पराजय भोग्नेछ'

देउवालाई महेश बस्नेतले भने : 'कांग्रेसले धेरै ठाउँमा पराजय भोग्नेछ'

न्युज कारखाना  |  समाचार  |  भदौ २१, २०७८

नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाइ बनेको भन्दै उनले कांग्रेस धेरै ठाउँमा हार्ने बताए । उनले च्याँखे थाप्नेहरू नेकपा (माओवादी केन्द्र) र माधव नेपालको नेकपा (एकीकृत समाजवादी) हालत के होला भनेर प्रश्न गरे ।

'प्रधानमन्त्रीको टाउको दुखाइ महेश बस्नेत रहेछ । भक्तपुर आएर हराउँछु भन्नुभएछ', बस्नेतले भने, 'आगामी निर्वाचनमा नेपाली कांग्रेस धेरै ठाउँमा हार्नेछ । पछिल्लो गतिविधिले अझै हार्नेछ । अझ माओवादी र एसको हालत के होला ? च्याँखे थाप्नेहरूको चर्चा हुँदैन ।'

केही दिनअघि प्रधानमन्त्री देउवाले भक्तपुरमा वडा अधिवेशनको उद्घाटन गर्ने क्रममा दुर्लभ थापालाई हराउन बस्नेतलाई चुनौती दिएका थिए ।

युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले अहिलेको सरकार काम गर्ने भन्दा पनि हल्ला गर्ने मात्र भएको बताए । 'काम नगर्ने हल्ला मात्र गर्ने सरकार पाएका छौँ । केपी ओली प्रधानमन्त्री हुँदा दिनदिनै शिलान्यास, उद्घाटन हुन्थे । कामहहरू हुन्थे । शिलान्यासै शिलान्यास, उद्घाटन नै उद्घाटन, विकासै विकास, समृद्धि नै समृद्धि थियो', बस्नेतले भने, '५५ दिनमा देउवाले दुइटा मात्र उद्घाटन गर्नुभयो । एउटा ओली सरकारले बनाइदिएको बंगलामुखी मन्दिरको उद्घाटन, दोस्रो एमालेसँग हारेको मेरै निर्वाचन क्षेत्रको वडा अधिवेशनको उद्घाटन गर्न जानुभयो ।'

बस्नेतले कुकुरलाई घीउ नपचेजस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको र दुई तिहाइको पार्टी फुटाएको आरोप लगाए ।

उनले सभामुख अग्नि सापकोटालाई पनि पदीय मर्यादामा बस्न चेतावनी दिए । 'सभामुख बनेपछि पार्टीबाट निस्किनुपर्छ । प्रचण्डको गुलाम बनेर कार्यकर्ता बनेर हिँडे तपाईंसँग प्रत्यक्ष भेटघाट हुनेछ । त्यो बेला सदनमा प्रतिपक्षी देखिनेछ', उनले भने ।