सुदूरपश्चिममा नेकपा (एस) सबैभन्दा ठूलो दल बन्यो, एमाले चौथो दलमा खुम्चियो

सुदूरपश्चिममा नेकपा (एस) सबैभन्दा ठूलो दल बन्यो, एमाले चौथो दलमा खुम्चियो

न्युज कारखाना  |  समाचार  |  भदौ २१, २०७८

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ ।

आइतबार बझाङकी समानुपातिक प्रदेश सांसद माया तामाङ बोहराले समाजवादीमा सनाखत गरेसँगै यो संख्या १४ पुगेको हो । यसअघि १३ जना प्रदेशसभाका सांसदले नेकपा एमाले छाड्दै नवगठित एकीकृत समाजवादीमा सनाखत गरेका थिए । तामाङ आएसँगै नेकपा एस १४ सांसदसहित सुदूरपश्चिम प्रदेसभामा सबैभन्दा ठूलो दल बनेको हो ।

साविकको सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल रहेको एमाले भने १० जना सांसदसहित चौथो दलका रूपमा खुम्चिएको छ । एमालेबाट निर्वाचित बझाङका सांसद अर्जुनबहादुर सिंह भने हाल सभामुख रहेका छन् । 

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) १३ जना सांसदसहित दोस्रो र नेपाली कांग्रेस १२ जना सांसदसहित तेस्रो दल बनेको छ । जनता समाजवादी पार्टीमा सुदूरपश्चिममा २ जना सांसद रहेका छन् । 

सामाजिक विकासमन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी, तारा लामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका थिए । 

विगतमा माधव खेमामै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने जनाएका छन् ।

सुदूरपश्चिममा विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली खेमामा थिए । उनीहरूले नेकपा एमालेमै रहने बताएका छन् ।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशअनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात् २२ भदौसम्म दल रोज्न पाउनेछन् ।