१७ वर्षमा ६ पारिवारिक हत्या, यस्तो छ नालीबेली

१७ वर्षमा ६ पारिवारिक हत्या, यस्तो छ नालीबेली

न्युज कारखाना  |  अपराध  |  भदौ २१, २०७८

संखुवासभाको मादी नगरपालिका- १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् ।

८९ वर्षीय बौद्धमान कार्की मात्र जीवित भेटिएका छन् तर उनलाई यो हत्या कसले र के प्रयोजनका लागि गर्‍यो भन्ने थाहै छैन । प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान थाले पनि घटना किन र कसले गरायो भन्ने खुल्न सकेको छैन । संखुवासभाको यो घटना पारिवारिक हत्याको पहिलो घटना भने होइन । 

२ परिवारका ९ जनाको हत्या

६ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका- ३ आरुबोटेमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । सो घटनामा एक बालिका घाइते भएकी थिइन् । एकै परिवारको ५ र अर्को परिवारका ४ गरी ९ जनाको हत्या भएको थियो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । उक्त घटनामा संलग्न भनिएका मानबहादुर मोखिम २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा फेला परेका थिए । उक्त घटनाबारे हाल पनि अनुसन्धान जारी छ । 

सामान्य विवादमा परिवारकै सदस्यवाट जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये ४० प्रतिशत आफन्तबाटै भएका छन्  । संखुवासभाको घटनामा परिवारका सदस्यको संलग्नता छ/छैन भन्ने खुलेको छैन । तर, विगतमा परिवारकै सदस्यबाट भएका जघन्य हत्याले नेपाली समाज कता जाँदै छ भन्ने बहस खडा गरेको छ । 

नागरिकताका लागि परिवारकै हत्या 

२०७५ जेठमा सप्तरीको राजविराजमा सामान्य विवादमा परिवारकै हत्या भयो । राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो । सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेको पुष्टि भयो  । दाइले नागरिकता बनाउन सहयोग नगरेको रिसमा छिमेकीको सहयोगमा उनले हत्या गरेका थिए । 

भोजपुरका ३ बालबालिकाको हत्या रहस्यमै 

२०७४ असारमा भोजपुर अरुण- १ प्याउलीमा ३ बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र ८ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सीआईबीबाट समेत टोली खटिए पनि सफलता हात लाग्न सकेको छैन ।

ज्वाइँसहित परिवारका ६ जनाको हत्या 

२३ फागुन २०६२ मा नेपालगंजका दीपक हेमकरसहित उनका परिवारका ५ सदस्य र एक जना कामदारको रहस्यमय हत्या भएको थियो  । घटनाको १३ वर्षपछि बल्ल हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो । 

आफन्त नै संलग्न बडिखेल हत्याकाण्ड

१६ असोज २०६० मा दशैँको महाअष्टमीका दिन ललितपुरको बडिखेलमा भानु नगरकोटीसहित उनकी ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र ८ वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । घटनाको १२ वर्षपछि आफन्तबाटै हत्या भएको पुष्टि भएको थियो । भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या गरेको प्रहरीले पुष्टि गर्‍यो ।