कर्मचारी संचयकोषमा कर्ण, अर्थमन्त्रीले गराए शपथ

कर्मचारी संचयकोषमा कर्ण, अर्थमन्त्रीले गराए शपथ

न्युज कारखाना  |  कारोबार  |  भदौ २२, २०७८

कर्मचारी संचयकोष संचालक समितिका नवनियुक्त अध्यक्ष कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माबाट शपथ लिएका हुन् । 

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव कर्णलाई संचयकोषमा नियुक्त गरेको थियो । कर्मचारी संचयकोष ऐन, २०१९ को दफा ४ को उपदफा १ ‘क’मा संचालक समितिको अध्यक्ष मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ ।

सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिए । ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने, ‘कोष मर्यादित रूपमा संचालनमा आओस् ।’

यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिका अध्यक्ष थिए । उनी सेवानिवृत्त भएपछि २४ साउनदेखि कोष संचालक समितिको अध्यक्ष पद रिक्त थियो ।