कुशल मल्लले लिए चौथो विकेट

कुशल मल्लले लिए चौथो विकेट

न्युज कारखाना  |  खेलकुद  |  भदौ २२, २०७८

पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले चौथो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन् । कुशलले ३८ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । 

यसअघि नेपालका लागि तीब्र गतिका बलर विक्रम सोबले डेब्यु खेलमै २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए । यसअघि पहिलो बलमै विक्रमले पीएनजीका ओपनर ब्याट्स्म्यान टोनी पाला उरालाई बोल्ड गराएका हुन् । विक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए ।

दोस्रो विकेट लिने क्रममा विक्रमले पीएनजीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । सन्दीपले २३ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको हातबाट आउट गराएका हुन् । 

यसअघि टस जितेर पीएनजीले ब्याटिङ रोजेको थियो । १३ ओभरको समाप्तिमा पीएनजीले ४ विकेट गुमाएर ५९ रन बनाएको छ । पीएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यु गरेका छन् । नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ । 

२ खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो । 

नेपालले त्रिदेशीय शृंखलामा २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ । 

नेपालको टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), आरिफ शेख, शरद भेषवाकर, रोहितकुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।