सन्दीपले लिए व्यक्तिगत दोस्रो विकेट, पीएनजीको पाँचौँ विकेट गयो

सन्दीपले लिए व्यक्तिगत दोस्रो विकेट, पीएनजीको पाँचौँ विकेट गयो

न्युज कारखाना  |  खेलकुद  |  भदौ २२, २०७८

पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ विकेट लिएका हुन् । 

सन्दीले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन् । यससंँगै नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर विक्रम सोब र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका छन् । कुशल मल्लले एक विकेट लिएका छन् । 

यसअघि पहिलो बलमै विक्रमले पीएनजीका ओपनर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराएका हुन् । विक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पीएनजीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । 

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले ११‍.५औँ ओभरमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको हातबाट आउट गराएका हुन् । चौथो विकेट कुशलको नाममा रह्यो । कुशलले १२.५औँ ओभरमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । 

यसअघि टस जितेर पीएनजीले ब्याटिङ रोजेको थियो । १९ ओभरको खेल जारी रहँदा पीएनजीले ५ विकेट गुमाएर ८५ रन बनाएको छ । 

पीएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यु गरेका छन् । नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिइएको छ । 

२ खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।