संघीय संसदमा आजदेखि २ नयाँ दलकाे प्रवेश

संघीय संसदमा आजदेखि २ नयाँ दलकाे प्रवेश

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

संघीय संसद्‌को नवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट २ वटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल विभाजित गराइदिएपछि आजको संसद बैठकमा २ वटा नयाँ पार्टीले प्रवेश पाउने भएका हुन् ।

नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीले पहिलो पटक संसदमा प्रवेश पाउन लागेका हुन् । 

‘२ नयाँ पार्टी थपिएकाले संघीय संसद् भवनमा सिट व्यवस्थापनको काम सम्पन्न भइसकेको छ’, संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘एकीकृत समाजवादी सत्ता पक्षतर्फ र लोसपा प्रतिपक्षमा बस्ने गरी व्यवस्था मिलाइएको छ ।’ उनका अनुसार सो सिट व्यवस्थापन दुवै नयाँ दलको आग्रहअनुसार नै गरिएको हो ।