एमालेले दल विभाजनसम्बन्धी अध्यादेश र सभामुखको भूमिकाबारे सदनमा प्रश्न उठाउने

एमालेले दल विभाजनसम्बन्धी अध्यादेश र सभामुखको भूमिकाबारे सदनमा प्रश्न उठाउने

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

बुधबार आज अपराह्न सुरु हुने संघीय संसदको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु संसदीय दलको बैठकले संसदमा  एमालेको आगामी भूमिका र रणनीतिका बारेमा नीति तय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘बदलिँदो परिस्थितिमा एमालेले संसदमा कसरी प्रस्तुत हुने ? भन्नेबारेमा छलफल हुनेछ’, प्रमुख सचेतक भट्टराईले भने,  ‘आजको बैठकको निर्णायअनुसार संसदमा एमाले प्रस्तुत हुनेछ ।’ तर, उनले कसरी एमाले प्रस्तुत हुनेछ भन्नेबारेमा कुनै विषय खुलाएनन् ।

आठौँ अधिवेशन स्थगित गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले एमाले विभाजन गराएको तथा सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीका लागि सिफारिस गरेका माधवकुमार नेपाललगायतका सांसद नहटाएको प्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।

‘राजनीतिक दलसम्बन्धी अध्यादेश र सभामुखको भूमिकालगायतका बारेमा अध्यक्षज्यूबाट केही निर्देशन हुन सक्छ, बैठक जारी नै भएकाले ठोस निर्णय भइसकेको छैन’, भट्टराईले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा यी २ विषयमा शेरबहादुर देउवा नेतृत्वको सरकार र सभामुख सापकोटा दुवैप्रति रोष प्रकट गर्दै आएका छन् ।