आजदेखि संसद् अधिवेशन सुरु: नवौँ अधिवेशनको आयु कति ?

आजदेखि संसद् अधिवेशन सुरु: नवौँ अधिवेशनको आयु कति ?

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत ८ जेठमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा ब्युँतियो । फैसलासँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

देउवा नेतृत्वको सरकारले आह्वान गरेको आठौँ अधिवेशन १० वटा बैठकमा सीमित भएर अन्त्य भएको थियो । उक्त अधिवेशन जम्मा २० घन्टा १५ मिनेट चलेको थियो ।

बिहीबारदेखि सदनको नवौँ अधिवेशन सुरु हुँदै छ । तर, यो अधिवेशनको आयुका बारेमा पनि विभिन्न अड्कलबाजी सुरु हुन थालेका छन् ।

ओली सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने मागबमोजिम सर्वोच्चले परमादेशबाट सम्बोधन गरेपछि सुरु भएको आठौँ अधिवेशनलाई सरकारलाई ‘विजनेस’ दिन नसकेको नजिरका बीच नवौँ अधिवेशनका बारेमा विभिन्न अड्कलबाजी सुरु भएका हुन् ।

३ देखि ३२ साउनसम्म २९ दिनको समयसीमामा सरकारले कुनै पनि विधेयक दर्ता नगरी हठात् संसद अधिवेशन स्थगित गरेको थियो । संसद स्थगित गरेलगत्तै एमाले र जनता समाजवादीलाई विभाजन गर्ने उद्देश्यसहित सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो, जसमा प्रमुख प्रतिपक्ष दल एमालेले विरोध जनाउँदै आएको छ । दुवै दल विभाजन पनि भए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको तथा पार्टी गतिविधिविरुद्ध लागेका आफ्ना सांसदलाई निश्कासन गर्न लेखेको पत्रलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेको प्रति क्षुब्ध एमाले संसदका कारबाही कसरी अगाडि जान देला ? भन्ने आमचासो छ ।

तर, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुख सापकोटाको भूमिकालाई लिएर सार्वजनिक रूपमा नै आपत्ति जनाउँदै आएका छन् भने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि ‘सभामुखका कारण संसद सहजै चल्ने अवस्था नभएको’ टिप्पणी गरिसकेका छन् ।

सभामुखको भूमिकाका कारण संसदलाई सहजै चल्ने अवस्था नदेखिएपछि प्रधानमन्त्री देउवाले आफ्ना दूतका रूपमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई गत साता एमाले अध्यक्ष ओली र नेम्वाङलगायतसँग भेटघाट गर्न पठाएका थिए । ओली र नेम्वाङले सत्ता पक्षको व्यवहारमा भरपर्ने प्रतिक्रिया दिएर कार्कीलाई पठाएका छन् ।

प्रधानमन्त्री देउवाले बजेटसम्बन्धी अध्यादेश पारित गराउन आफू तयार रहेको तर त्यसका लागि एमाले प्रतिनिधिसभा नियमावलीका केही अंश निलम्बन गर्न तयार हुनुपर्ने शर्त तेर्स्याएका छन् ।

संसद पुनर्स्थापना भएपछि कुनै पनि विधेयक पेस नगरी २० घन्टा १५ मिनेट मात्र चलेको आठौँ अधिवेशनपश्चात साेही राजनीतिक परिदृश्यमा नवौँ अधिवेशन आज बुधबारदेखि सुरु हुँदै छ । प्रमुख प्रतिपक्ष दल एमालेले खेल्ने सक्ने संभावित भूमिकाले संसद अधिवेशनको आयु निश्चित हुने देखिन्छ ।