को हुन् बाग्मतीकी ३७ वर्षे अर्थमन्त्री ?

को हुन् बाग्मतीकी ३७ वर्षे अर्थमन्त्री ?

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा यस पटक युवा नेतृ रचना खड्काको काँधमा पुगेको छ । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गर्न लागेको मन्त्रिपरिषद्‌मा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । बुधबार दिउँसाेका लागि शपथ तय भए पनि मन्त्रालय बाँडफाँटको अन्तिम सहमति भने भइनसकेको खड्काले बताइन् । 

खड्कासँगै सिन्धुलीका प्रदीप कटुवाल, रामेछापका शान्तिप्रसाद पौडेल, काभ्रेका चन्द्र लामा, काठमाडौँका अजयक्रान्ति शाक्य ,चितवनका विजय सुवेदी, मकवानपुरकी जुनेलीमाया श्रेष्ठ, भक्तपुरकी सरस्वती बस्नेत, नुवाकोटका बद्री मैनाली र ललितपुरका जीवन खड्कालाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको नेकपा एमाले बाग्मती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

अर्को सहमति नभए ती सबैको मन्त्रालय टुंगो लागेको तर सार्वजनिक गर्ने अवस्थामा भने पुगिनसकेको खड्काले बताइन् । एमालेभित्रको विवादका कारण केन्द्रदेखि प्रदेशसम्मका सरकारमा अदलीबदली हुँदा विगतमा माधव नेपालसँग निकट रहेर हाल एमालैमै फर्किएकी खड्काले प्रदेशसभामा पुराना एमाले नेतालाई पछि पार्दै ३७ वर्षकै उमेरमा महत्त्वपूर्ण मन्त्रालयको जिम्मवारी पाउन लागेकी छन् । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिपरिषद्‌मा उनी सबैभन्दा कान्छी मन्त्री बन्नेछन् । 

५ असार २०४१ सालमा जन्मिएकी खड्काको राजनीतिक यात्रा २०५५ सालदेखि सुरु भएको हो । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यको जिम्मेवारीबाट विद्यार्थी राजनीति सुरु गरेकी खड्का २०५५ सालमा प्रारम्भिक कमिटी उपाध्यक्ष थिइन् । २०५६ सालमा प्राक अध्यक्ष भएकी उनी सोही वर्ष अनेरास्ववियुको जिल्ला सदस्यमा निर्वाचित भइन् । 

२०५७ सालमा जिल्ला सचिव भएकी खड्काले २०५९ सालमा अनेरास्ववियुको जिल्ला नेतृत्व सम्हालिन् । अनेरास्ववियुको १६औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भइन् ।

१७औँ राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय सदस्यमा निर्वाचित भएकी रचना १८औँ र १९औँ सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुख विभागको जिम्मेवारी निर्वाह गरिन् । 

जनकपुरमा सम्पन्न २०औँ राष्ट्रिय सम्मेलनमा सचिव जितेकी रचना एमालेको नवौँ महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा विजयी भइन् ।

एमाले विभाजनका बेला तत्कालीन माधव नेपाल खेमाको बाग्मती प्रदेश कमिटी सचिवको हैसियतमा काम गरेकी उनी पार्टी औपचारिक विभाजनमा आइपुग्दा मूलघरमै बसिन् । 

मुख्यमन्त्री शाक्यसँगै एमालेमा रहेकी रचना प्रदेशसभा सदस्यमा निवार्चित भएपछि पहिलो पटक मन्त्री बन्न लागेकी हुन् ।