एमालेलाई सभामुखले भने: अदालतले बोल्न बन्देज लगाएको छ

एमालेलाई सभामुखले भने: अदालतले बोल्न बन्देज लगाएको छ

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जबाफ मागेको छ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद उठेर अवरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । भट्टराईले प्रश्न गरे, 'सभामुखज्यू, एमालेले कारबाही गरेका सांसदको पद जोगाउन र एमाले पार्टी फुटाउन किन मतियार बन्नुभयो ? यसको जवाफ चाहन्छौँ ।'

भट्टराईले दल विभाजनका लागि नामै नभएका छ जना र कारबाही गरेका १० जना सांसदलाई समेटेर नयाँ पार्टी बनाएको भन्दै निर्वाचन आयोगमाथि पनि आक्रोश पोखे । 'नियम कानुनविपरीत प्रतिपक्षलाई तल पार्न, हेप्न खोज्छ भने एमाले चुप लागेर बस्दैन । जबाफ नपाएसम्म संसद चल्न दिँदैनौँ ।'

सभामुखले 'म जबाफ दिन तयार छु' भन्दै बोले । उनले माधव नेपालसहित १४ जना सांसदको कारबाही सिफारिसबारे प्रचलित कानुनका आधारमा निर्णय लिएको बताए । थप जबाफ दिन अदालतले रोक्ने बताए । 'कारबाही निर्णयको विषय हाल अदालतमा विचाराधीन छ । अदालतमा भएको कुरा बोल्न बन्देज छ', सापकोटाले भने ।

सभामुखको यो जबाफमा एमालेले चित्त बुझाएन । सांसदहरू रोस्टमतिर अघि बढेर नाराबाजी गर्न थाले । सभामुखले ध्यानाकर्षण गराउँदा पनि नाराबाजी नरोकिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।