सभामुखका तनाव: पहिला आत्तिए, पछि रिसाए

सभामुखका तनाव: पहिला आत्तिए, पछि रिसाए

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

संघीय संसदको नवौँ अधिवेशन बुधबार अपराह्न ठीक ४ बजे सुरु भयो । राष्ट्रगान बजिसकेपछि सभामुखले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्दै राष्ट्रपतिबाट संसद अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाउन थाले । पत्र पढ्न सुरु गरेलगत्तै एमाले सांसदहरू उठेर टेबुल ठोक्न थाले । टेबुल ठोक्न थालेलगत्तै सभामुखले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने अनुमति दिए । 

भट्टराईले सभामुखको कमजोरी औँल्याउँदै बैठक चल्न नदिने बताएर बस्न नभ्याउँदै सभामुखले आत्तिएर लिखित पत्र पढ्न थाले । उनले पत्रमा आफूले किन एमालेका १४ जना सांसदलाई कारबाहीको प्रक्रिया अघि नबढाएको भनेर बताउन नभ्याउँदै एमाले सांसद उठेर रोस्टमतर्फ अघि बढे । 

रोस्टम नजिक पुगेर नाराबाजी गरेपछि सभामुख थप हतास र आत्तिएको देखिन्थे । प्रचलित कानुनअनुसार आफूले निर्णय लिएको सभामुखले बताइरहँदा एमालेका सांसद रोस्टमतर्फ अघि बढे । त्यसपछि सभामुख सापकोटा आत्तिएका देखिन्थ्यो । आत्तिँदै सभामुख सापकोटाले भने,  ‘नियमको २१ खण्ड ख र ग ध्यानाकर्षण गर्छु ।’

सभामुखले नियमप्रति ध्यानाकर्षण गराए पनि एमालेको सांसदहरूको नाराबाजी रोकिएन । त्यसपछि डराएको भावमा सभामुख सापकोटाले भने,  ‘माननीय सदस्यहरू, देशमा संविधान छ, कानुन छ, ऐन छ । मर्यादाबाहिर नजानुहोला । संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला । फेरि पनि म भन्छु,  प्रतिनिधिसभा नियमावली, २०७५ को ख र ग तपाईंहरूलाई गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’ 

सभामुखको बारम्बारको चेतावनीपछि पनि एमाले सांसदहरूको नाराबाजी नरोकिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो ।