रामचन्द्रको प्रस्ताव : २७ भदौकाे पालिका अधिवेशन स्थगित गरौँ

रामचन्द्रको प्रस्ताव : २७ भदौकाे पालिका अधिवेशन स्थगित गरौँ

न्युज कारखाना  |  समाचार  |  भदौ २४, २०७८

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन् । बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन् । 

क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लाका वडा अधिवेशन हुन नसकेको भन्दै वडा अधिवेशन नगरी पालिका अधिवेशन नगर्न उनको प्रस्ताव छ । विवादमा रहेका २१ मध्ये सभापति देउवाको गृहजिल्ला डडेलधुराका वडा अधिवेशन २५ भदौ अर्थात् भोलि गर्ने तयारी भए पनि हालसम्म निश्चित भइसकेको छैन । 

पौडेलको प्रस्तावमा देउवा पनि सकारात्मक रहेका कारण पालिका अधिवेशन सर्ने निश्चित जस्तै भएको पौडेलले जानकारी दिए । उनका अनुसार देउवा ५ असोजमा हुने क्षेत्रीय अधिवेशनको मिति प्रभावित नहुने गरी पालिका अधिवेशन सार्न सकारात्मक बनेका छन् । 

यसैबीच आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी कांग्रेस नेता विमलेन्द्र निधिले बुधबार देउवालाई पत्र लेख्दै क्रियाशील सदस्यता विवाद टुंगो लगाएर मात्र पालिका अधिवेशन गर्न आग्रह गरेका थिए । बुधबार नै अर्का नेता डा. शेखर कोइरालाले पनि वडा अधिवेशन नसकिएसम्म पालिका अधिवेशन गर्न नसकिने भन्दै कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए ।