बेलायती रक्षामन्त्री र भूपू ब्रिटिस गोर्खा संगठनबीच लण्डनमा छलफल

बेलायती रक्षामन्त्री र भूपू ब्रिटिस गोर्खा संगठनबीच लण्डनमा छलफल

न्युज कारखाना  |  समाचार  |  भदौ २४, २०७८

भूपू ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायती रक्षामन्त्री बेन वालेस र ब्रिटिस गोर्खा संगठनहरूबीच छलफल भएको छ ।

लण्डनस्थित नेपाली राजदूताबासमा रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डोचेर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच बैठकमा मागबारे छलफल भएको दूताबासले जनाएको छ ।

बैठकमा भूपू गोर्खाहरूको माग सम्बोधनका लागि विगतमा भएको सहमतिअनुरूप भूपू गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपाल र बेलायत सरकारबीच डिसेम्बरदेखि सुरु हुने वार्ताका लागि वार्ता समिति गठन, वार्ता समितिको टर्म्स अफ रिफ्रेन्स एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको छ ।

बैठकमा भूपू गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसोका सभापति कृष्णकुमार राई, बीजीडब्लूएसका अध्यक्ष टीकेन्द्रदल देवान, एनईएसएका अध्यक्ष केशबहादुर गुरुङ, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, यूबीजीएनका अध्यक्ष राम राईको उपस्थिति थियो ।

त्यसैगरी आमरण अनशनमा बसेका गोरखा सत्याग्रहका प्रतिनिधिहरू ज्ञानराज राई, पुष्पा राणा घले, धनबहादुर गुरुङ, गोरखा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङ एवं राजदूताबासका उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्‍नबहादुर गोदार पनि सहभागी थिए ।