पौडेल खेमाका नेताहरूले देउवालाई भने : 'कांग्रेस अधिवेशनमा प्रशासनको दुरूपयोग नहोस्'

पौडेल खेमाका नेताहरूले देउवालाई भने : 'कांग्रेस अधिवेशनमा प्रशासनको दुरूपयोग नहोस्'
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ २५, २०७८

कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरूपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

शुक्रबार बिहान नेता पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी., डा. मीनेन्द्र रिजाल, जीवन परियारसहितको टोलीले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटार पुगेर पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न तथा पार्टीको महाधिवेशनमा राज्यको प्रहरी प्रशासनको दुरूपयोग हुन नदिन ध्यानाकर्षण गराएका छन् ।

देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच आज वडा तहको अधिवेशन भइरहेको छ, जबकि कांग्रेस जिल्ला समितिले अधिवेशन स्थगित भएको सूचना जारी गरेको थियो । यही सन्दर्भलाई लिएर पनि पौडेल खेमा आज देउवालाई भेट्न बालुवाटार पुगेको हो ।

नेता पौडेलले आफूहरूले सभापति देउवाको ध्यानाकर्षण गराएको जानकारी दिए । ‘पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस्, पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरूपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौँ’, पौडेलले भने ।