'माधव नेपालसहित १४ जनालाई सांसद मान्नुहुँदैन, सभामुखले माफी माग्नुपर्छ'

'माधव नेपालसहित १४ जनालाई सांसद मान्नुहुँदैन, सभामुखले माफी माग्नुपर्छ'

न्युज कारखाना  |  समाचार  |  भदौ २५, २०७८

प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ । एमालेका सांसदहरू उठेर अवरोध गरेका हुन् ।

अवरोधका क्रममा बैठकमा बोल्दै एमाले राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले माधव नेपालसहित एमालेले कारबाही गरेका १४ जनालाई सांसदको रूपमा ग्रहण नगर्ने र गल्तीका लागि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले माफी माग्नुपर्ने माग गरे । माग पूरा नभएसम्म सदन चल्न नदिने बताए ।

एमालेको तर्फबाट बोल्दै दाहालले सरकार, सभामुख र निर्वाचन आयोग मिलेर लोकतन्त्र र एमालेलाई कमजोर बनाउने षडयन्त्रमा लागेको आरोप लगाए ।

'यतिबेला नक्कली प्रजातन्त्रवादी, लोकतन्त्रवादी र सक्कली प्रजातन्त्र, लोकतन्त्रवादीको लडाइँ चलिरहेको छ । नक्कली प्रजातन्त्रवादी, लोकतन्त्रवादीको मुखुण्डो त्यतिखेर उत्रियो, जतिबेला चलिरहेको संसदलाई स्थगित गरेर भोलिपल्ट हतारहतार दल विभाजनसम्बन्धी अध्यादेश ल्याइयो', उनले भने, 'अध्यादेश मात्र ल्याइएन, यसअघिको सरकारले ४० प्रतिशत प्रावधानलाई परिवर्तन गरेर पूरै तयारीका साथ एमाले फुटाउन २० प्रतिशत बनाएर ल्याइयो । हामीले अध्यादेश ल्याउँदा कुनै दल फुटेन तर अहिले दल फुटाउने र दर्ता गर्ने काम भयो । लोकतन्त्रमा राजनीतिक दल बलियो हुनुपर्छ तर एमालेलाई कमजोर बनाउने चेष्टा गरियो ।'

दाहालले माधव नेपालसहित १४ जना सांसदको कारबाही पेन्डिङ गर्ने, त्यही आधारमा दल दर्ता गर्ने काम गरेर सभामुख, निर्वाचन आयोग र सरकार एमालेलाई कमजोर बनाउन लागेको, लोकतन्त्रलाई मास्न लागेको आरोप लगाए । 'हिजो ओलीले त्यस्तै विधेयक ल्याउँदा लोकतन्त्र, प्रजातन्त्र मास्यो भन्नेहरूले अहिले त २० प्रतिशतमा र पनि नराखेर वा भनेर ल्याए', उनले भने, 'प्रजातन्त्र कसले मास्न लागिरहेको छ भन्दा यो परमादेशी सरकार, सभामुख, निर्वाचन आयोगले मिलेर लोकतन्त्र र लोकतन्त्रमा दललाई कमजोर पार्न लागिरहेका छन् । यो विकृतिऽ विसंगतिका लागि हामी विरोध जनाइरहेका छौँ ।'

१४ जना सांसदलाई एमालेले निकालिसकेको भन्दै दाहालले उनीहरूलाई सांसदका रूपमा ग्रहण गरिनुहुँदैन भने । यसमा भएको कमी कमजोरीका लागि सभामुखले माफी माग्नुपर्ने उनको माग थियो । यसै कारण आफूहरू विरोधमा उत्रिएको र संसद चल्न नदिने जानकारी गराए ।

अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।