सोलुमा नुम्बुरजस्तै उघ्रिँदै, छोपिँदै, हानिँदै र सुसाउँदै

सोलुमा नुम्बुरजस्तै उघ्रिँदै, छोपिँदै, हानिँदै र सुसाउँदै

टङ्क भट्टराई  |  साहित्य  |  भदौ २६, २०७८

सोलु छोडेको दुई जुग हुन लागिसकेछ । 
सम्झनाहरु मनभरि छन् । अनुभूतिहरु बग्रेल्ती छन् । 

जिल्ला हुलाक कार्यालय, सल्लेरीमा झण्डै तीन वर्ष बिताएपछि २०५६ साल फागुनमा म सोलुबाट काठमाडौं आएँ । मैले जागिर खानुअघि माथ्लाघरका माइला काका (राम बहादुर) लुक्लामा प्रहरी हवल्दार थिए । उनले सोलुको बखान गरेको सुन्दा मलाई पनि जाऊँ–जाऊँ लाग्थ्यो । उनी सोलुबाट हरेक चोटि आउँदा राम्रा–राम्रा गलैंचाहरु लिएर आउँथे । एकचोटि उनले लुक्लाबाट घोडै लिएर आए । उनको शान देख्ता र सोलुको बखान सुन्दा मलाई पनि कुनै जागिर खाएर सोलु जान रहर चढ्थ्यो । उसो त खोटाङका धेरै जना सोलु गएर मास्टरी गर्थे । 

नभन्दै मैले पनि लोक सेवा पास गरें । ओखलढुङ्गामा खरिदार चार महिना खाएपछि लगत्तै मैले हुलाक समूहको ना.सु. पास गरें र सोलु पोष्टिङ भएँ । 

२०५४ जेठको महिना बिहानै ओखलढुङ्गाको रमाइलो डाँडो हुँदै म सोलुखुम्बूतिर लागें । ओखलढुङ्गाको अग्लो डाँडो पात्तालेमा पुगेर थकान मारें । त्यहाँबाट मेरो सपनाको प्यारो ठाउँ सोलुका गाउँ बस्तीहरु देखें । सुन्दर हिमालहरु देखें । मनमा त्यसै–त्यसै खुसी भरिएर आयो । अहिल्यै उडेर पुगूँ जस्तो । 

सोलुको मनोहर प्रकृति र त्यो हिमाली जीवनशैलीले मेरो जिन्दगीमा एउटा नयाँ आयाम र मोड दियो । हिमाली सौन्दर्यमा लपक्कै भिजेका सोलुका हरेक ठाउँहरुले मेरा भावनालाई तरलित बनाइ रहे । लेखनीमा ऊर्जा बनिरहे । 

सकारात्मक र नकारात्मक दुवै पाटाहरुको संयोजनले सोलुको मेरो बसाइ त्यति सामान्य रहेन भन्ने मलाई लाग्छ । 

घामको झुल्कोसँगै एकाबिहानै उत्तरतिरबाट नुम्बुर हिमाल हाँस्थ्यो । हरिया डाँडापाखाहरु हिमालको आभासँगै मस्किन्थे । जता गयो उतै राम्रो । जता हेर्‍यो उतै रमाइलो ।

म जिन्दगीको पच्चीस वसन्तसम्म गाउँमै बसें । त्यसैले पनि घर–परिवारबाट टाढा हुँदा नियाश्रो लागेर आउँथ्यो । गाउँको यादले खुबै सताउँथ्यो । प्रायः हरेक साँझपख म माथि भेटनरी अफिस मुनिको डाँडोमा बस्थें र नुम्बुरको फेदीबाट बग्ने सोलु खोलाको अविरल प्रवाहलाई नियाल्थें । ती हरिया वनपाखा हेर्दै गीत गुन्गुनाउँथें। सिर्जनाहरु कोर्थें । 

सोलुमा बिस्तारै–बिस्तारै घुलमिल हुँदै गइयो । बेलाबेला हुने साहित्यिक कार्यक्रममा मेरो सक्रियता पनि बढ्दै गयो । म गएकै बेला भानु जयन्तीको अवसरमा सल्लेरीमा एक भव्य कवि गोष्ठी भयो । त्यो बेला सहायक प्रजिअ द्रोण पोखे्रलले भने, 'सोलुको इतिहासमै यत्तिको भव्य साहित्यिक कार्यक्रम भएको थिएन ।'

केही समयपछि एक भव्य दोहोरी गीत प्रतियोगिता भयो सल्लेरीमा । जिविस परिसरमा त्यो तीन दिनसम्म चल्यो । रमिता हेर्न र कार्यक्रममा भाग लिन मान्छेहरु गाउँगाउँबाट आए । त्यसैगरी अर्को वर्ष बृहत लोकगीत प्रतियोगिता पनि भयो । सोलुमा भएका यस्ता रचनात्मक कार्यक्रमहरु यस अघि भएका थिएनन् भनी स्थानीयहरु भन्थे । यसअघि त्यस्तो साहित्यिक/साङ्गीतिक वातावरण नभएर नै होला कार्यक्रमहरु हुन नसकेका । 

त्यसो त सोलुको प्रकृति नै कवितामय । हातैले छुँदा भेटिने जस्तो त्यो हिमश्रृङ्खला । लालीगुराँस ढकमक्क फुल्ने ती वनपाखा । हिमालको छातीबाट गुन्गुनाउँदै झर्ने ती नदी, ती छहरा सबै नै कवितामय । सल्लेरी वनको बतास नै सङ्गीतमय । ती रुख, लतिका, ती पहरा, कन्दरा सबै–सबै नै सङ्गीतमय ।

मैले बसुञ्जेल ‘सोलुका सुसेली’ र ‘कर्मचारीका सुस्केरा’ पत्रिकाहरुको सम्पादन गरें । ती पत्रिका भित्र कर्मचारीहरूका अनुभूति, दुःख–सुखका साथै सोलुको प्रकृति अट्यो । सोलुको संस्कृति अट्यो । अनि गाउँबस्तीका थुप्रै मनहरु सिर्जनशील बनेर लेख्न हौसिए ।

 दूधकुण्ड सोलुको प्रसिद्ध धार्मिक ठाउँ । जनै पूर्णिमामा प्रत्येक वर्ष ठूलो मेला लाग्ने । एक पटक गएर दूधकुण्डमा नुहाएपछि ठूलो पुण्य हुने, मोक्षको बाटो खुल्ने । यो जन्मका पाप सबै पखालिने विश्वास । म सोलु गएकै साल दूधकुण्ड पुगें तर बढो कष्टका साथ । सल्लेरीबाट एक दिन उकालो हिंडेपछि फेरा, जुनवेंसी हुँदै दूधकुण्ड पुगिन्छ । तर बाटैभरि रुखबाट प्यात्त-प्यात्त  झर्ने लामा–लामा खरी जुकाहरुको सुटुक्क आक्रमण त बेस्मारी झेल्नुपर्ने ।

ती दिल साटेका प्रीति गाँसेका लेकाली चहुर र नागीहरुमा अहिले पनि भेडा चरिरहेका होलान् । चौंरी र जोक्पे पुच्छर डोलाउँदै उग्राइरहेका होलान् । बर्खा मासमा सधैं–सधैं कुहिरोको सेतो घुम्टो ओढेर घामले बादलको पर्दा उघारेको बेला घरिघरि लजालु मुस्कान छोड्दी हो सोलु ।

दूधकुण्ड पुग्नुअघि एक सहश्रवेणी भन्ने ठाउँ छ । सहश्रवेणी सयौं झरनाहरुको सुन्दर दृश्य। हिमालमुन्तिरका ती लेकाली पाखा–पखेरा सबै जडीबुटीहरुले ढाकेका । विभिन्न फूल र वनस्पतिहरुले मनमोहक देखिएका । सुनपाती, भैरमपाती जस्ता फूल र विविध वनस्पतिहरुको चर्को सुगन्धले मन र दिमाग दुईटै लठ्ठ हुने । उच्च हिमाली भागमा अक्सिजनको कमी र तिनै फूलहरुको चर्को बासनाले बानी नपरेकाहरुमा बिस्तारै टाउको दुख्न थाल्ने ।

त्यसैले त्यहाँ जाने तिर्थालुहरुले साथमा लसुन, मकै–भटमासको सातु, कागती जस्ता कुराहरु बोकेर हिंड्थे । लेक लागेर त्यहाँ बाटोमै कति मान्छेहरु बर्सेनी मर्दा रहेछन् । लेक लाग्न थालेपछि टाउको दुख्ने र वाक्वाकी लाग्न थाल्ने । यस्तो लक्षण देखिएपछि अरु उकालो नगई उँधो झर्नुपर्ने रहेछ । सोलु भर्खरै गएको र त्यहाँको हावापानीमा अभ्यस्त नभएको कारण मलाई पनि सहश्रवेणी वरैबाट टाउको दुख्न थाल्यो । सँगै गएका फणिन्द्र ढुङ्गेल, दुर्गा प्रधान, कपिलमुनि, गुणराज पाण्डे थिए । अरु पहिल्यैदखि सोलु बसेका हुनाले केही भएन । उनीहरुकै लहलहैमा म बिस्तारै उकालोतिर लम्कें ।

बाटोमा दोहोरीलता मान्छेहरुको लर्को । धामी झाँक्रीहरुको त्यस्तै धुइरो । तिनीहरु बाटैभरि ढोल–ढ्याङ्ग्रा बजाएर देवी–देउता र आफ्ना  इष्टदेवको नाम फलाक्दै उफ्रिरहेका हुन्थे । शेर्पा, तामाङहरु आफ्नै  लय र शैलीमा गाइरहेका हुन्थे, नाचिरहेका हुन्थे । यी सबै हेर्दा बहुत रमाइलो लाग्ने । अन्ततः अनेकौं लेकाली थुम्की र नागीहरु नाघ्दै, हिमाली खोलाहरु तर्दै र यी मनै हर्ने रमाइला दृश्यहरु हेर्दै बेलुका दूधकुण्ड पुगियो । हल्का पानी परिरहेको । हिमाललाई कुहिरोले ड्याम्मै ढाकेको । त्यही नुम्बुर हिमालको फेदमा दुनियाको मन लोभ्याउने त्यो रहस्यमय विशाल कुण्ड । दूधकुण्डको एउटा किंवदन्ती छ–
 उहिल्यै दूधैदूधको कुण्ड थियो त्यो । कुनै व्यक्तिले त्यही कुण्डको दूधमा खिर पकाएर खान्थ्यो । पछि यो कुरो अरुले थाहा पाएपछि कुण्डको दूध पानी भयो ।

टाउको दुखिरहेकै थियो । साथीहरुसँग हल्का चिरिप्प तलैदेखि लाइएको थियो । माथि पनि थपियो । रातैभरि नाचगान चल्ने रहेछ । विभिन्न भेषभुषामा धामी झाँक्रीहरु उफ्रिएको उफ्रियै । मान्छेको भीडले खुट्टा राख्ने ठाउँ छैन । कहाँ बस्ने ? सुत्ने त कुरै छैन । बल्ल–बल्ल एउटा बस्ने ठाउँ भेटियो । पालमुनि धुपिका पात ओछ्याइएको । टुक्रुक्क बस्ने मात्र ठाउँलाई जनही पचास रुपिंया तिरेर हामी पनि बस्यौं । टाउकोको व्यथा झन्झन् बढेकै थियो ।

रात निकै बितेपछि छेउकी एउटी बुइनीको मजेत्रो तानेर कतिखेर निदाएछु । बिहान उज्यालो भएपछि झिलिक्क हिमाल देखियो । कुण्डमा मान्छेहरु नुहाउन थाले । नुहाउन त के सकिन्थ्यो, छेउमा चुर्लुम्म चोबलियो अनि निक्लियो । हामीले त अञ्जुलीमा पानी उबाएर जिउमा छर्कियौं । अनि बाउनसँग जनै किनेर सञ्जे भनेपछि आफ्नो कर्म सिध्यायौं । 

त्यो विशालकाय दूधकुण्डका अतिरिक्त वरिपरि अरु पनि कयौं कुण्डहरु । कुण्ड नुहाएपछि नजिकैको डरलाग्दो भूत पोखरीलाई दाहिने पारेर झर्दारहेछन् मान्छेहरु । कोही माथि पहरो छिचोलेर सूर्यकुण्डसम्म पुग्दा रहेछन् । हामी त त्यहाँ पुग्न सकेनौ । केही माथिसम्म पुगेर नुम्बुर हिमाललाई अघाउँजी हेरेपछि फर्कियौं । साथीहरु त्यसैदिन सल्लेरी  पुगे । म भने बिरामी भएर पुग्न सकिनँ । वरै बसें । भोलिपल्ट फाप्लु हस्पिटलमा जचाएर औषधि खान थालें । झण्डै एक हप्ता सुतेपछि मात्र निको भएँ । जबर्जस्ती गर्दा झण्डै खुस्किएको । भगवानका कृपाले धन्न बाँचिएछ । 

भदौ असोजमा सोलुमा स्याउ लटरम्मै । फाप्लु बागवानीमा किलोको ६ रुपिंयाले किन्न पाइन्थ्यो । हामी धोक्राभरि ल्याएर खाटमुनि स्याउ लडाउथ्यौं । अनि जतिखेरै दार्न थाल्थ्यौं । जता हेर्‍यो स्याउकै बगैंचा । रुख नजिकै गएर ती झरिला राता स्याउ छुँदा पनि आनन्द लाग्थ्यो । स्याउको दाना मात्र होइन, दाना कुहाएर बनाएको सोम रस त्यत्तिकै मीठो । शेर्पाहरु स्याउको रक्सी बनाएर माटोमुनि गाडेर राख्थे । जति वर्ष गाडेर राखो उति राम्रो हुने अरे रक्सी । मान्छेहरु भन्थे, 'स्वास्नी नयाँ मीठो, रक्सी पुरानो मीठो ।'

ऊ बेला त्यो पुरानो रक्सी एक बोतलको एक सय बीस रुपिंया पथ्र्यो । सोलुको जाडो थाम्नै नसकिने । हामी घाम अस्ताउन थालेपछि प्रायः तान्न थाल्थ्यौं । कहिलेकाहीं त राति अबेरसम्म रमाइलो रमाइलैमा बित्थ्यो । अर्जुन दाइ 'फूलसिमीलाई पख तिमीलाई' भन्ने गीत गाउन थाल्थे । हेम सागर त झन् गीत गाउन भनेपछि हुरुक्कै⁄यसो कान तात्न थालेपछि 'फुर्के धागैमा, लैजाऊँला सानुलाई आउँदो माघैमा' गाउन थालिहाल्ने । गीत शुरु हुनासाथ मचाहिं धामी उफ्रिए जस्तै बुरुक–बुरुक नाच्न थाल्थें । 

त्यो बेला सोलुका चौंतीस गाविसमा पावै र सोताङ बाहेक प्रायः सबै ठाउँ घुमियो । लुक्ला, नाम्चे, सगरमाथा राष्ट्रिय निकुञ्ज, होटल एभरेष्ट भ्यू, खुम्जुङ, तेङबोचे गुम्बा सबै डुलियो । हेम सागरको गलै राम्रो । बाटैभरि गीत गाए । जति उँभो चढो उति राम्रो । हेरेर कहिल्यै नअघाइने । हिंडेर कहिल्यै नथाकिने ।

२०५४ सालको स्थानीय निर्वाचनमा म टाक्सिन्दु परें । नूनथला, टाक्सिन्दु पनि त्यस्तै रमाइलो । एक हप्ता बसेर चुनाव सम्पन्न गराइयो । चुनाव सकिएपछि एउटा खसी काटेर रमाइलो गरेर हिंड्यौं ।

सोलुबाट काठमाडौं आउँदा जूनबेंसी, लामाजुरा, भकाञ्जे, चौंलाखर्क, रामेछापको देउरालीडाँडा, जिरी–दोलखा हुँदै हिंडेर आउनुपथ्र्यो । जिरी आउन ठ्याक्कै दुई दिन लाग्ने । जिरीबाट काठमाडौंको बस पाइन्थ्यो । 

भकाञ्जे चौंलाखर्कमा इलाका हुलाक थियो । काठमाडौं जाँदा–आउँदा हुलाकी राम बहादुर बस्नेतको होटलमा बास बसिन्थ्यो । धनकुटाका मनोज राई त्यो बेला त्यही इलाका प्रमुख थिए । नजिकै किञ्जा खोला बग्थ्यो । एकचोटि राम दाहालको होटलमा मनोजजीसँगै बेलुका चिरिप्प पारेर रातैभरि नाचेका छौं । ओखलढुङ्गाका सन्त नारायण र कृष्ण श्रेष्ठ पनि त्यहींको हुलाकी रुटमा काम गर्थे । उनीहरुले अहिले जागिर छोडिसके । त्यो बेला सोलु हुलाकमा अस्थायी खरदार जागिर खाएका मनोज राई अहिले धनकुटा जिल्लामा शहीदभूमि गाउँपालिका पिप्ले, धनकुटाका अध्यक्ष भएका छन् । उनीसँगको सान्निध्य त्यति लामो नभए पनि निकै मीठो रह्यो । अहिले पनि बेला–बेला हाम्रो सम्पर्क भइरहन्छ । 

सँगै बसेका अफिसका साथीहरु अहिले काँ पुगे ? खिलाराज बानिया, सन्त नारायण, बेग बहादुर, राम बहादुर टाढा भए पनि फोन सम्पर्क गरिरहन्छन् । रामबहादुर खड्का बिहानैदेखि रक्सी खाइ रहने । उमेरमै मरेछन् । कान्छा बा जुँगामा ताउ लाइरहन्थे । नृपध्वोज अङ्कल जतिखेरै मुसुक–मुसुक हाँसिरहने । गुणराज पाण्डे जोक भनेर जतिखेरै हँसाइरहने । रामकाजी श्रेष्ठ कर्मचारीहरुका नेता । जे होस्, सोलु हुलाकमा कार्यरत ऊ बेलाका धेरैले जागिर छोडिसके । कति अर्को लोक गइसके । कति त बुढ्यौलीको उकालो चढिरहेका होलान् । 

सँगै कोठामा बस्ने फणिन्द्र ढुङ्गेल मीठो तिहुन पकाउँथे । अलिकति चिरिप्प पारेपछि भतिज नवराज (दोर्पाली भट्टराई) अरुलाई बोल्नै नदिने । हेम सागरको मुखमा त जतिखेरै गीत । सूर्य पोखरेल कोठामा पसेपछि जतिखेरै सुतिरहने । खाना पकाउन भनेपछि म जस्तै अल्छे । खेमराज श्रेष्ठ त घर गएपछि दुई महिनासम्मै नआउने । सोलुमा अफिस यसरी नै चल्थ्यो । कति कर्मचारीहरु घर गएपछि दुई तीन महिनै अनुपस्थित हुन्थे । लुक्ला नाम्चेतिर त झन् कार्यालय सहयोगीले अफिस चलाउँथ्यो । 

त्यतिखेर सोलुमा सँगै रमेका कर्मचारी साथीहरुमा थुप्रैको अनुहार आँखा अगाडि आउँछ । जागिर त एउटा चौतारी रहेछ । एकछिन बसो । बात मारो । दिलचित्त गाँसो । त्यसपछि को कहाँ, को कहाँ । एक छिन झिलिक्क फोटो खिचेजस्तो । यो स्मृतिका पानाहरु पल्टाइरहँदा सन्दर्भवश उल्लेखित नामका अतिरिक्ति आत्मीय भित्रहरु जय घिमिरे, धर्मेन्द्र धमला, चेतनाथ आचार्य, सूर्य घिमिरे, नारायण दाहाल, गोकुल निरौला, गायत्री घिमिरे, माधव घिमिरे लगायत केही साथीहरुलाई विशेष सम्झिरहेछु । चाहेर पनि हाँसखेल गरेका कति साथीहरुको नाम लिन सकिनँ । कति त विस्मृतिमा हराइसके । उसो त त्यो बेला सोलुका राजनीतिक, सामाजिक, शैक्षिक, व्यवसायी तथा साहित्यिक व्यक्तित्वहरु धेरैसँग हिमचिम भयो । नाम बिर्से पनि कतिपय अनुहारहरु सम्झिरहेछु ।

नयाँ बजारमा शनिवार हाट लाग्थ्यो । हाटमा त्यहाँ उत्पादित गलैंचा, तामाका डाली मुख्य आकर्षण हुन्थे। सल्यान र नेचा बेंसीको लोकल चामल आउँथ्यो । शेर्पा दाइ, शेर्पिनी दिदीहरु चौंरी र जोक्पेलाई बोकाएर लेकको आलु, स्याउ, जङ्गली च्याउ, भोटे लसुन, सिल्टिमुर आदि बेच्न ल्याउँथे । शेर्पिनी बुइनीका स्याउ जस्तै गाला हेर्दै र जिस्किंदै हामी हप्ताभरिलाई सामानहरु किन्थ्यौं । चामल र नून भने कर्मचारीलाई सस्तो भाउमा महिनाको कोटा अनुसार खाद्य गोदामले बाँड्थ्यो । 

लक्ष्मी होटलको तोम्बा, नयाँ बजार शनिवारे हाटनेर साथीहरुसँग प्रत्येक शुक्रवार रमरम हुँदै खाएको पाडाको मासु, सानुले पकाएको मम, डोल्मुले थपेको छ्याङ कति मीठो ! फूलमाया र प्रेमालामुकोमा राति अबेरसम्म पिएको स्याउको रस कति नशालु ! 

सोलुको आलु खुबै मीठो ! बारीका डल्लाको थुप्रोमा झ्यास मिसाएर पोलेपछि त्यसमा आलु रोप्थे किसानहरु । ती स–साना माटाका थुप्रामा झण्डै मेरै टाउका जत्रा आलु फल्थे । नून–खोर्सानीसँग भोटे लसुन, सिल्टिमुर पिँधेर त्यसमा उसिनेको फकफक आलु चोबेर खाँदाको स्वादको वर्णन अहिले कसरी गरौं ?

काठको लामो भाँडोमा जौ को सातु, चौंरीको नौनी र नून मथेर बनाएको निम्की चिया त्यस्तै मीठो । औषधियुक्त । एक पेला किनेर खाँदा एक पेला त्यसै थपिदिन्थे शेर्पिनी दिदी–बैनीहरु । त्यसो त रक्सी, छ्याङ, चिया जे खाँदा पनि आफ्नो तर्फबाट गिलासभरि थपेर दिने त्यहाँको संस्कार नै रहेछ । 

 ‘हिउँ परेको साल सहकाल लाग्छ । हिउँ नपरे अनिकाल लाग्छ’ भन्थे त्यहाँका मान्छेहरु ।

वर्षको एकचोटि कहिले पुस–माघ, कहिले चैत–वैशाखमा हिउँ पथ्र्यो सल्लेरीमा । सल्लेरी बजार त सोलुको होचै ठाउँ हो । त्यहाँ पनि दुई फिटसम्मै हिउँ पथ्र्यो भने झन् माथि–माथि अग्लो ठाउँमा त कति बाक्लो हो कति। हिउँ पर्ने बेला असाध्यै न्यानो हुने । माथिबाट कपासजस्तै फुस–फुस हिउँ झर्दा सार्‍है रमाइलो देखिने । त्यो बेला सबै मान्छेहरु बाहिर बाटामा निस्किएर रमाउँदै त्यो हिउँलाई आफ्नो आङभरि थाप्थे ।

हिउँ परिसकेपछि भने ती सल्ला र स्याउका रुखहरु, सेतो बर्को ओढेर उभिए जस्ता देखिन्थे । भूपि शेरचनले भने झैं ती हाँगाहाँगामा कुखुराका चल्लाहरु फल्दथे । ती डाँडापाखाहरु बर्खी बारेर थचक्क बसेका मान्छे जस्ता देखिन्थे । मास्तिरको हिमाल तलतिरै झरेको हो कि जस्तो लाग्थ्यो । बाक्ला–बाक्ला ज्याकेट र जुत्ता लगाएर मान्छेहरु भोलिपल्टदेखि हिउँमा खेल्थे । एकचोटि काठमाडौंबाट सोलु आउँदा लामाजुराको बाक्लो हिउँमा हिंड्दा–हिंड्दा साथीहरुसँग कति चोटि चिप्लिएर लडियो भनी साध्य छैन । कति मान्छेहरु सिसाजस्तै हिउँमा पुरिएर मरेको सुन्थ्यौं हामी ।

जेहोस् हिउँले ढाकेका डाँडाकाँडा बिछट्टै राम्रा देखिन्थे । हिउँलाई जति हेरे पनि हिउँसँग जति खेले पनि कहिल्यै धित नमर्ने । 

फाप्लुबाट चार–पाँच घण्टा उकालो हिंडेपछि रातनाङ्गे र क्याम्जेका डाँडाहरु आउँछन् । बिहान पाँच–छ बजेसम्म पुगियो भने त्यहाँबाट पूरै सगरमाथाको सुन्दर दृश्य देख्न सकिने । विशेषगरी चैत वैशाखको बेला गुराँस र चिमलका फूलले ढकमक्क ढाकिएका ती डाँडा हेर्दा स्वर्गको एक टुक्रा त्यहीं खसेको हो कि जस्तो लाग्ने ।

वसन्त ऋतुमा प्रकृतिको त्यो अनुपम छटा हेर्न बिहानदेखि बेलुकासम्म मान्छेहरुको लस्कर त कति हो कति । घरि वल्लो रुख चढो, घरि पल्लो रुख । घरि रातो गुराँस टिपो, घरि सेतो चिमाल । घरि वल्लो डाँडो, घरि पल्लो डाँडो । खै कति चाहार्नु मन कहिल्यै अघाउने भए पो ! गुराँसका हाँगा–हाँगा चाहार्दै फूल टिपेर चुम्दै गरेका, एक अर्कामा माया पोखिरहेका प्रेमिल मनहरु त कति हो कति ।

गुराँस र चिमालका थुङ्गा–थुङ्गामा माहुरी र भ्रमराहरुको भुन–भुन । तल फेदमा प्रेमले लपक्कै भिजेका जोडीहरुको गुन–गुन । उता वनै मुग्ध पार्ने कोइलीको कोहो–कोहो गीत । यता एक छिनको लागि संसारै भुलेका जोडीहरुको प्रीत । ओहो त्यो प्रकृतिको लीला ! ईश्वरले आफैं रचना गरे जस्तो त्यो दिव्य उपवन । साथीहरु फणिन्द्र ढुङ्गेल, भतिज नवराज, जय घिमिरे, सूर्य पोखरेलसँग हास्दै रमाउँदै ०५५ सालको नयाँ वर्ष मनाउन त्यहाँ पुगेको म कहिल्यै बिर्सन सक्तिनँ । उनीहरुले पनि सायद बिर्सेका छैनन् होला । 

  देउसा मुक्ली/माथि उक्ली
    काँगेल पञ्चन/त्यसै भन्छन्
    नेचा सल्यान/गर कल्यान

सोलुबाट घर आउँदा मुख्य दुईवटा बाटा थिए । दोर्पु, गार्मा, नेले, काँगेल, देउसा, मुक्ली, पञ्चन हुँदै कोसी तरेर देम्लीटारको तेर्सो र जुबुको उकालो हुँदै माथि ऐंसेलुखर्क बजार पुगेर बास बस्ने अनि माक्पाको ओरालो झरेर रावाखोला र तावाखोला तरी कुभिण्डेको उकालो हुँदै लोचाको पट्टेर जङ्गल पार गरी नूनथलाको तेर्सै–तेर्सो हिंडेर रुपाकोटको मुनि वाताल, मुडे हुँदै दिक्तेल बजारबाट खाल्ले झर्ने एउटा बाटो । 

पञ्चनबाट तिङ्ला, सल्यान, नेचा वेतघारी, नेचा सिरानको बाक्लो जङ्गल हुँदै खानी भञ्ज्याङ झरेर बास बस्ने अनि खानी भञ्ज्याङको जङ्गलै–जङ्गल ओर्‍हालो झरेर रभुँवा तरी लामीडाँडा निक्लेर विजुले हुँदै लैकु सिरान, छापगाउँ, बुइपा पञ्चे दोबाटो, कल्यानडाँडाको ओरालो झरेर दिखुवा तरेर खन्याटारको उकालो लागेपछि घर पुग्ने अर्को बाटो । 

यी दुइटाबीचको अर्को बाटो पनि थियो । पञ्चन पुछार कोसी तरेर ओखलढुङ्गाको कुइभीर हुँदै डुम्रे धारापानी निस्किएर रावा खोला तरी खार्पा हुँदै लोचा नूनथला निस्किएर हिंड्ने अर्को बाटो । 

जे होस् सोलु आउने जाने माथिका दुई बाटाचाहिं निकै प्रचलित थिए । बीचको बाटो कहिलेकाहीं हिउँद याममा मात्र हिंडिन्थ्यो । नूनथलाको बाटो हिंड्दा भने निकै रमाइलो लाग्ने । चैत वैशाखको बेला नूनथला र रुपाकोटका डाँडैभरि ढकमक्क लालीगुराँस । वन–वनेली पूरै राताम्य । नूनथलाबाट वारिपारि लगायत खाल्ले गाउँ पूरै देखिने । खाल्ले गाउँ देख्नासाथ उडेर अहिल्यै पुगूँ जस्तो । रुपाकोट मुनि वाताल र मुडेबाट पारि देखिने अग्लो टेम्के । हाटडाँडा माथिको देवीथान, त्यो मझुवागढी त्यहीं नजिकै उभिए जस्तो । मझुवाकी सातकन्ने भगवतीलाई मुडेबाटै दर्शन गरेर रत्नपार्कदेखि हाटडाँडासम्म लमतन्न सुतेको दिक्तेल बजार पूरै हिंडेर त्यहाँबाट ओर्‍हालो झरी चन्द्रमानेको वरपीपल हुँदै कोपिलाकी आमाकोमा कोदाको दुई–तीन गिलास तानेर साँझ टरेपछि घर पुगिन्थ्यो ।      

असार–साउनको बेला सल्यान, नेचा हुँदै खानी भञ्ज्याङको जङ्गलै–जङ्गल ओर्‍हालो झर्दा बाटाहुँदि आँपै–आँपका रुख । रुखैभरि जता हेरो उतै आँप लटरम्म पाकेका । आँप भने सिँदुरे जातका सानै खालका तर, निकै मीठा । जङ्गलमा पाकेका आँप सित्तैमा भेटेको कसरी छोडेर हिंड्नु । घरि वल्लो रुख घरि पल्लो रुख आँप खाँदाखाँदै समय बितेको पत्तै नहुने । नाइटो फुलुञ्जेल आँप खाइसकेपछि अझै केही झोलामा समेत हालेर हामी बाटो लाग्थ्यौं ।  

रहँदा–बस्ता सोलुसँगका यति धेरै सम्झनाहरु छन् कि भनी साध्य छैन । त्यहाँका चम्किला हिमालहरु, हरियो सारी लाएर लहरै उभिएका जस्ता देखिने सल्लेरी वनका अग्ला–अग्ला रुखहरु, सल्लेरी र च्याल्साका रमणीय गुम्बाहरु, उँभोउँभोतिरका ती भेडीगोठहरु, बेलाबेला साथीहरुसँग हिंडे डुलेका फाप्लु, रिंबु, नूनथला, फुलेली, खरी खोला (जुभिङ), पैंया, लुक्ला, फादिङ, जोरसल्ले, नाम्चे, स्याङ्बोचे, होटल एभरेष्ट भ्यू, तेङबोचे गुम्बा, हिमगङ्गा, जुनबेंसी, लामाजुरा, गोयम, बासा, काकु आदिको सुन्दर र मनोहर दृश्यहरु सिनेमाका पर्दामाझैं एकपछि अर्को गर्दै आँखा अगाडि हर्दम नाचिरहन्छन् ।         

नाकभरि सिंगानका मुठा बोकेर त्यतिखेर चौंरी धपाउँदै हिंड्ने ती साना–साना पेम्बा र तेण्डीहरुले आज कति चोटि हिमाल चढिसके होला । नुम्बुर हिमालबाट हान्निँदै झरेको सोलु खोलो अहिले पनि त्यसरी नै सुसाउँदो हो । पारि पात्ताले डाँडाबाट झुल्केको कलिलो घामको मुस्कानसँगै ती वनपाखा मुस्कुराउँदा हुन् ।

ती दिल साटेका प्रीति गाँसेका लेकाली चहुर र नागीहरुमा अहिले पनि भेडा चरिरहेका होलान् । चौंरी र जोक्पे पुच्छर डोलाउँदै उग्राइरहेका होलान् । बर्खा मासमा सधैं–सधैं कुहिरोको सेतो घुम्टो ओढेर घामले बादलको पर्दा उघारेको बेला घरिघरि लजालु मुस्कान छोड्दी हो सोलु । हिउँदमा हिउँ परेको बेला भुइँभरि कोमल कपासको नरम बिछ्यौनामा सुत्ती होला सोलु । रङ्गीविरङ्गी गुराँस फुलाएर रातनाङ्गे र क्याम्जेमा रहस्यमय जादु छर्दै बर्सेनी वासन्ती उत्सव मनाउँदी हो प्रकृति । 
कति गरुँ सोलुको बखान ! जति लेखे पनि यो लेखनी रोकिन मान्दैन ।

यत्तिका वर्षपछि प्रिय सोलु ! 

मुटुभरि माया र आँखाभरि छायाँ बोकेर हजारौं–हजार सम्झनाका साथ तिमीलाई हार्दिक सलाम !