जामनगरमा घनचक्कर: सम्धीजीको मीतको घर फेला पार्दाको खुसी

फर्कलान् र ती दिनहरू

जामनगरमा घनचक्कर: सम्धीजीको मीतको घर फेला पार्दाको खुसी

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  भदौ २६, २०७८

कुनै पनि धर्म, सम्प्रदाय र आध्यात्मिक चिन्तनको एउटै लक्ष्य देखिन्छ- मानव हित वा मानव कल्याण । संसारमा प्रचलित धर्महरूमध्ये सबैभन्दा पुरानो मानिएको पूर्वीय सभ्यताका अनेक पन्थहरू बनेका पाइन्छ । पूर्वीय दर्शन भन्दाभन्दै हिन्दु धर्मको नाममा पूर्वीय दर्शनको पर्याय बन्यो र बुद्ध, किरात, जैन, शिख धर्म जस्ता ओमकार परिवारलाई हिन्दु धर्म नै त भनिएन तर सनातन धर्मका अनेक रूपमा लिन थालियो । 

त्यसो त इस्लाम, इसाई, बहाई, यहुदी धर्महरूमा पनि कतिपय मिल्दाजुल्दा कुराहरू पाइन्छन् । सायद त्यही भएर हो, पूर्वीय दर्शनको वेदबाट ती धर्महरू कुनै न कुनै तरिकाले प्रभावित छन् या तिनमा धर्ममा हुनुपर्ने आवश्यक तत्त्वहरू अचानक उस्तै देखिन्छन् । आखिर सबै धर्मको मूलतत्त्वमा मानव हित, ब्रह्माण्डका बारेमा चिन्तन, खगोलका बारेमा नयाँनयाँ धारणा पाइन्छन् । 

भनिन्छ, प्रत्येक धर्म हुनका लागि आध्यात्मिकता चाहिन्छ । या मानवताका लागि पनि ती आध्यात्मिक भावना चाहिन्छ ।  

धर्म र आध्यात्मिकता भनेको एउटै हो कि होइन भन्ने विवाद दार्शनिकहरूले धेरै पहिलेदेखि नै गर्न थालेका छन् । जतिजति समय आधुनिकतातर्फ मोडिँदै छ, त्यतित्यति मानिसहरूमा जिज्ञासा हुने नै भयो । आध्यात्मिकताले मानवीय पक्षलाई संवेदनशीलताका साथ लिन्छ र एउटा विवेकको नयाँ चरण उत्पादन गर्छ । साँचो बोल्ने, नठग्ने, सबैलाई समान मान्ने, अध्ययनशीलता बढाउने, आपसमा सबैलाई आफू सरह मान्ने, गुरु, आमा, बालाई मान्यवर सम्झेर आज्ञा पालन गर्ने भन्ने हेर्दा अतिसूक्ष्म तर पालना गर्न साह्रै मुस्किल पर्ने आत्मअनुशासनको पक्षमा मानवीय चेतनाको विकास गरेको हुन्छ । अनि मात्र त्यो व्यक्ति धार्मिक नभए पनि उसमा अन्तर्चेतना भएको व्यक्तिको रूपमा लिइन्छ । 

त्यसैलाई आध्यात्मिक भन्ने गरिन्छ । अनि, धर्मका अनुयायी हुनका लागि ती तत्त्वहरू अत्यन्त आवश्यक परेकाले र कुनै पक्षका दर्शनप्रति प्रतिबद्ध हुनुलाई धर्मप्रतिको पालना र धर्म पालना गर्नेलाई धार्मिक पनि भनिन थाल्यो । 

धर्मका लागि आवश्यक तत्त्वहरू जुन मानिन्छन्, ती आध्यात्मिकताका मुख्य तत्त्वहरू हुन् । मानवीय संवेदनालाई अझ परिष्कृत गर्नका लागि र अझ बढी मानव हितमा लाग्नका लागि अनेक नियमहरू बनाउँदै लगियो । ती नियमहरू कहिले अलिक बढी नै अनुशासित गराउने खालका भए र तिनका बारेमा स्वतन्त्रता चाहनेहरूले ती नियमहरूमा परिवर्तन चाहे । धर्मका बारेमा ३ प्रकारका मानिसहरू देखिए- एक प्रकारका देखिए, जे नियम बनेका छन्, ती ईश्वरका वचन हुन्, तिनलाई उल्लङ्घन गर्नुहुँदैन भन्ने धार्मिक गुरुहरू । त्यसलाई यथावत् मान्ने धर्मभीरु जमात । 

अर्का प्रकारमा देखिए- तिनको परिमार्जन र परिवर्तनका लागि सधैँ प्रयास गर्ने र धर्मभित्र रहेका कतिपय बुँदाहरूमा, भनाइहरूमा अन्धविश्वास देख्दै समयानुकूल परिवर्तन गर्नका लागि प्रयासरत । अनि, अर्को प्रकारका देखिए ईश्वर नै मरिसक्यो, अब ईश्वर नै नभएपछि कसको भनाइ मान्ने ? या ईश्वरका बारेमा गरिएका सबै कल्पना हुन् भन्दै नयाँनयाँ पन्थको धारणा समाजमा ल्याउने । 

एउटै धर्ममा पनि विश्वास र मतभिन्नता देखिए पनि त्यही धरातलमा उभिएर नयाँनयाँ सम्प्रदायको उत्पत्ति हुने । खासगरी हिन्दु धर्ममा ब्रह्मा, विष्णु, महेश्वरलाई मुख्य देवताको रूपमा मान्दै अनेक सम्प्रदायहरूको जन्म भएको पाइन्छ । 

हुनत वेदलाई सबैले अपौरुषेय ज्ञानको रूपमा मानिएको छ र त्यसपछि वेदका आधारमा अनेक पुराण, इतिहास र अन्य धार्मिक ग्रन्थहरू तयार गरिएको छ । पुराणहरूमध्ये १८ पुराणको धेरै महत्त्व छ, जसमा सबै देवी, देवताहरूमा बारेमा स्पष्ट रूपमा बयान गरिएको छ । अर्थात् जसलाई जुन पन्थ मनपर्छ, त्यसमा लाग्नका लागिसमेत त्यसले बाटो देखाएको छ । 

विष्णु पुराणले विष्णुका बारेमा, ब्रह्म पुराणले ब्रह्मा र विवेका बारेमा, शिव पुराणले शिवजीका बारेमा, देवी भागवतले देवीका बारेमा या तिनका पनि पूरक र सम्पूरक ज्ञानका लागि अन्य पुराण, उपपुराणहरूको लेखन कार्य व्यासले गरे भनिन्छ ।  

त्यसै बेलामा नै व्यासले सबैको गुदीका लागि श्रीमद्भागवतको सिर्जना गरे भन्ने भनाइ छ । व्यासले नै महाभारत नामक ग्रन्थ तयार गरे, जुन ग्रन्थ बृहत् महाकाव्यका रूपमा लिइन्छ । वाल्मीकिले पहिले नै त्रेतायुगमा रामायण लेखेर एउटा आदर्श राज्य, आदर्श पुत्र र नैतिकताका आधारमा समाजलाई कसरी चलाउन सकिन्छ भनेर उदाहरण प्रस्तुत गरे । 

भनिन्छ, जय नाम गरेको ग्रन्थलाई अलिक बढी परिमार्जन गरेर भरतका सन्तानहरूको चर्तिकलाको इतिहास लेखे श्रीकृष्णद्वैपायन व्यासले पनि भनिएको छ । श्रीकृष्णका चरण कमलमा भक्तिभाव व्यक्त गर्नका लागि श्रीमद्भागवत ग्रन्थको रचना गरे पनि भनिएको छ । कृष्ण त्यस बेलामा प्रचलित नाम रहेछ किनभने द्वापर युगमा ३ वटा कृष्णको बिगबिगी थियो रे ! एउटा वसुदेवका पुत्र वासुदेव, जसलाई कृष्णका रूपमा मानिन्थ्यो, अर्को कुन्तीपुत्र अर्जुनलाई पनि कृष्ण नै भनिन्थ्यो र पराशरबाट मत्स्यगन्धामार्फत् एउटा द्वीपमा जन्मिएका पुत्रलाई पनि श्रीकृष्ण द्वैपायन व्यास भनिएको हो । 

व्यास एउटा गुरुको पद हो, जुन ठाउँमा श्रीकृष्ण द्वैपायनलाई २८औँ व्यास मानिन्छ । २९औँ व्यासका रूपमा द्रोणाचार्य पुत्र अश्वत्थामाको पालो थियोे तर उनको मस्तिष्क मणि नै निकालिएकाले उनलाई व्यास पदको उपाधि दिइएको देखिँदैन ।  

त्यसपछि सायद कुनै व्यासको पद पाउने व्यक्तिको नाम अझै तोकिएको छैन भन्ने बुझिन्छ । हुनत शङ्काराचार्यहरूको व्यवस्था हुन थालेका बेलामा धार्मिक समस्याको निरूपण गर्न र धर्मका बारेमा समयानुकूल परिवर्तन गरी आमजनतामा नैतिकताको शिक्षा दिने काममा अहिले संसारमा धेरै धर्मका धेरै सम्प्रदायहरू देखिन्छन् । हाम्रै देशमा पनि विभिन्न धर्मका विभिन्न सम्प्रदायहरू कार्यरत छन्, जसको उद्देश्य मानव मात्रको नैतिक बल बढाउँदै मानवताको पक्षमा जनतालाई सचेत बनाउनु हो ।

मैले केही प्रसंगमा लेख्दै थिएँ कि कृष्णका बारेमा ब्रह्मवैवर्त पुराणमा श्रीकृष्ण-राधाको उपस्थिति थियो र श्री महादेवले कृष्णको तपस्या गरेर वरदान पाएको भन्ने देखिन्छ । तर, यहाँ के कुरा स्मरणीय छ भने ब्रह्मालाई सृष्टि, विष्णुलाई पालन र महादेवलाई संहारको जिम्मा दिएको र उनीहरू एउटै पुरुष भएको पनि मानिन्छ । 

पुरुष र प्रकृतिको समन्वयबाट संसारको उत्पत्ति भएको अनि सबै एउटै स्वरूप भएकाले कसैले पनि ब्रह्मा, विष्णु र महेश्वरमा फरक नगर्नू भन्ने आदेश जताततै पाइन्छ । अब हामीले सबै कुरा गूढार्थभित्र प्रवेश गरेर बुझ्नु जरुरी छ भन्ने प्रगतिशील धार्मिक जागरुकता पनि आउन थालेको छ, जसलाई पुनरुत्थानवादको नयाँ संस्करणको रूपमा बुझ्नु सहज हुनेछ । 

जुनजुन सम्प्रदायमा लागे पनि आध्यात्मिक चिन्तन जरुरी छ र कसरी मानव हितमा आफूलाई समर्पण गर्न सकिन्छ भन्ने चेतना नै आध्यात्मिक या धार्मिक पक्षले सन्तुलित रूपमा सिकाएको हुन्छ, त्यसले मात्र मानवतावादको रक्षा गर्न सक्छ । मावनतावादभित्र यो ब्रह्माण्डको हितको कुरा आउँछ किनभने विवेक र बुद्धिको आधारमा मानवताको पक्षमा लाग्ने प्राणी भनेको नै मानव जाति हो । उसलाई जति संस्कारित बनाउन सकियो, त्यति नै हाम्रो मानव जातिको हित उत्तरोत्तर संभव छ ।

‘सम्धीजी, मेरो एक जना मीत हुनुहुन्छ जामनगरमा । नाम कमलेश उपाध्याय हो । त्योभन्दा अरू थाहा छैन । सायद पुरानो बस्ती कि कता भन्नुहुन्थ्यो बासस्थान । त्यति मात्र थाहा छ । उहाँसँग आफ्नै गाडी छ । यदि उहाँले कसैको पनि गाडी खोजिदिनुभयो भने हाम्रा लागि यात्रा निरापद हुने थियो ।  यदि उहाँले नै घुमाउनुभयो भने अरूले जति भाडा दिएर लैजानुहुन्थ्यो ।’

भारतमा एउटा कुरा मलाई साह्रै मनपर्‍यो कि त्यहाँ धार्मिक सम्प्रदायलाई पनि प्रभावी नागरिक समाजको रूपमा लिइँदो रहेछ । सडकमा, रेलमा वा सामजिक जीवनमा ती संन्यासी, बाबा, गुरुहरू, मुल्ला, सन्त महन्त, बौद्ध गुरु, विभिन्न सम्प्रदायका पीठाधीशहरू, पादरीहरूप्रति अत्यन्त सम्मान गरिँदो रहेछ । त्यसको कारण हो, त्यो समुदाय, त्यो सम्प्रदायका मानिसहरूप्रतिको आदर र सम्मान । उनीहरूले सामाजिक जीवनमा गरेको त्याग, सेवाको  सम्मान हो । हुनत भारतमा नै धेरै कथित गुरुहरू अहिले पनि अपराधका कारणले जेलमा छन् । उनीहरूको अर्बौंको सम्पत्ति सरकारीकरण गरिएको छ । ती अपवादका रूपमा लिइँदो रहेछ । 

भनिन्छ, करिब डेढ अर्ब जनसंख्या भएको ठाउँमा एकाध मानिसहरू त्यस्ता हुनु र धर्मलाई जनताको सेवाभन्दा शोषण र धर्मभीरुपनको अनावश्यक फाइदा उठाउनु पाप हो, जुन उनीहरूले प्रचार गर्ने गर्थे आदर्श उपदेशमा तर यथार्थमा त्यो आदर्शलाई जसले उल्लंघन गर्छ, त्यो पक्कै नै धार्मिक नीति र प्रचलित कानुनअनुसार दण्डित हुनु नै पर्छ । 

यसभन्दा पहिलेको प्रसंगमा मैले गुजरातको जामनगर पुगेको कुरा भनेको थिएँ । जब जामनगर पुगियो, त्यहाँ हाम्रा लागि चौथो तलामा कोठा तयार थियो । दर्ता गर्ने ठाउँमा पुग्नेबित्तिकै मेरी जेठीसासू दिदी राधा गजुरेलको नाममा हामी ७ जनाका लागि कोठा तयार थियो मूल मन्दिरमा नै । 

त्यहाँ सबैलाई सकेसम्म व्यवस्था गरिएको रहेछ किनभने १ जनवरी २०१५ का दिन श्री १००८ महाराज श्रीकृष्णमणिजीको ५०औँ जन्मदिन थियो । त्यो स्वर्ण जन्मोत्सव मनाउन संसारभरबाट हिन्दु धर्मावलम्बी, अन्य धर्मावलम्बीहरूको आगमन भइरहेको थियो । उहाँको जन्मदिनमा उहाँको वजन बराबर चाँदी अर्पण गर्र्ने कार्यक्रम रहेछ । उहाँलाई बधाई दिने, उहाँको जन्मोत्सवका लागि श्रीमद्भागवतको सप्ताह लगाउने र त्यसको साङ्गेका दिन विभिन्न धर्म र सम्प्रदायका गुरुहरूले, मुल्लाहरूले, पीठाधीशहरूले शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेछ । 

पुराण सुरु गर्ने अघिल्लो पूर्वाङ्ग गरेको दिन महाराजश्रीलाई चाँदीको रथमा राखेर जामनगरको परिक्रमा गराइयो र हजारौँ मानिसहरूले कलश बोकेर जामनगरको शहर परिक्रमा गरिएको थियो । पछि साधु, सन्त, महन्तहरूको भारत, नेपाल, श्रीलंका, युरोप, अमेरिका, अफ्रिकाबाट आगमन भएपछि हामीलाई अन्यत्र व्यवस्था गरियो । स्वाभाविकै हो, उहाँहरूको बीचमा शास्त्रार्थ हुने थियो होला या विश्वभरबाट श्रीकृष्ण प्रणामी धर्मको अवस्था, प्रचार, संख्या, अबको रणनीति, कसरी त्यो धर्मका सदस्यहरूलाई मानव धर्म र सेवामा समर्पित गराउने भन्ने विषयमा विशद् छलफल भएको रहेछ । 

हामी हाम्रो समूहमा गएका ७ जनाको निवासस्थान भनेर मन्दिर नजिकै रहेको कवीर मन्दिर या आश्रमको धर्मशाला तोकियो । तत्कालै त्यहाँ पठाइएका हामी श्रद्धालुहरूलाई सम्पूर्ण भौतिक साधनको व्यवस्था गरियो र प्रत्येक कोठामा तातो पानीको व्यवस्था, ओछ्यानको व्यवस्था गरियो । खानका लागि बृहत् क्याटरिङको व्यवस्था थियो । 

करिब एक लाख मानिसहरूका लागि व्यवस्था गरिएको रहेछ तर भारतका मानिसहरू जन्मदिनसम्मका आइपुग्ने भए । त्यसैले करिब ७० हजार जनाका लागि सबै व्यवस्था गरिएको थियो । हामी नेपाली मात्र करिब ३५ हजार जनाजति पुगेका थियौँ । सबैको व्यवस्था मन्दिरका आयोजकहरूले गरेका थिए । 

जाडोको बेला थियो, राम्रो ओड्नेका व्यवस्था गरिएको थियो । त्यति जाडो नहुने रहेछ । त्यस बेला अर्थात् मध्यपुसमा समेत दिउँसो गर्मी नै थियो । त्यहाँका मानिसहरूले त हाफ कमिज लगाएका देखिन्थ्यो तर हामी नेपालबाट जानेहरूले पुस सम्झेर बाक्ला लुगा लगाएर गएका रहेछौँ । 

श्रीमद्भागवत महापुराण स्वामी सदानन्द महाराजका मधुर ध्वनि र बाजागाजासहित चलिरहेको थियो । भागवत पुराणसँगै श्री महाराज कृष्णमणिजीको मुखारबिन्दबाट धार्मिक उपदेश सुन्न आएका भक्तहरूका लागि उहाँले आफ्ना विचारहरू तारतम सागर, श्रीमद्भवतका मधुर वाणीसँगै गुजराती, मराठी, अंग्रेजी, हिन्दी अनि कहिलेकाहिँ नेपालीभाषीहरूका लागि पनि नेपालीमा भन्नुहुन्थ्यो । यो एउटा भाषिक पक्षधरता पनि हो किनभने उहाँ इलाममा जन्मिएर झापामा बस्दै पढ्दै गरेको बराल ब्राह्मण परिवारका श्रीकृष्णका भक्त हुनुहुँदो रहेछ । 

उहाँले प्रारम्भिक धार्मिक ज्ञान र उपदेश कालिम्पोङमा लिनुभएको रहेछ र त्यसपछि जामनगर जानुभयो । आफ्नो क्षमताले काम गर्दागर्दै श्रीकृष्ण प्रणामी सम्प्रदाय या निजानन्द सम्प्रदायको प्रमुख हुन सक्नुभयो । अर्थात् गादीपति श्रीकृष्णमणि महाराज । 

स्वाभाविक रूपमा नेपाली समुदायको अलिक बढी नै हालिमुहाली भएजस्तो लाग्यो सेवाको भावमा हेर्दा । हामीले उहाँको जन्मदिनभन्दा पहिले नै भागवतको समयको विश्राम र कुनै दिन पुराण सुरु हुने बेलामा द्वारिका धाम र भेट द्वारकाको दर्शन गर्न गयौँ । 

एउटा प्रसंग अर्को पनि रोचक थियो । मेरा कान्छा सम्धीजी रेवतीप्रसाद सापकोटाले सन् २००६ मा १२ हजार ब्रह्ममुनिले पाठ गर्ने बेलामा अहमदावादसम्म जाँदा एक जना रिजर्भ गाडी चालकसँग कुरा मिलेर या उसको व्यवहारले मीत लगाउनुभएको रहेछ । सम्धीजी हिन्दी फरर नबोले पनि ती ड्राइभरको भलाद्मीपन देखेर मीत लगाउनुभएको रहेछ । नाम मात्र कमलेश उपाध्याय सम्झनुभएको अरू केही पनि थाहा नभएको बताउनुभयो । 

ती मीतका बारेमा अचानक कुरा गर्नुभयो सम्धीजीले । ‘सम्धीजी, मेरो एक जना मीत हुनुहुन्छ जामनगरमा । नाम कमलेश उपाध्याय हो । त्योभन्दा अरू थाहा छैन । सायद पुरानो बस्ती कि कता भन्नुहुन्थ्यो बासस्थान । त्यति मात्र थाहा छ । उहाँसँग आफ्नै गाडी छ । यदि उहाँले कसैको पनि गाडी खोजिदिनुभयो भने हाम्रा लागि यात्रा निरापद हुने थियो ।  यदि उहाँले नै घुमाउनुभयो भने अरूले जति भाडा दिएर लैजानुहुन्थ्यो ।’

मीतसँग भेट पनि हुने, आन्तरिक रूपमा जामनगर र द्वारकाको दर्शन पनि हुने । मेरा लागि उहाँले एउटा अनुपम चुनौती खडा गर्नुभयो । उहाँ र म मीतज्यूको घर खोज्न हिँड्यौँ तर गन्तव्य थाहा थिएन । मात्र एउटा कुरो थाहा थियो, पुरानो बस्ती । हिन्दी बुझ्ने मानिस कम । जो अंग्रेजी बुझ्थे, तिनले त हिन्दी बुझ्थे तर एकदम कम मानिसहरूले हिन्दी बुझ्ने । जाँदै गर्‍यौँ कताकता र सोध्थ्यौँ पुरानो बस्तीबारे । कसैले पूर्व देखाउँथे, कसैले पश्चिम देखाउँथे त कसैले भन्थे ,‘अब त्यो पुरानो बस्ती बाँकी छैन ।’

कसले के बुझ्थ्यो, हामी विदेशीलाई त्यही भन्थे । तर, जामनगरको पनि हिँडेर यात्रा गर्ने, पुरानो बस्ती पनि फेला पार्ने मेरो लक्ष्य रह्यो । कतै कमलेश उपाध्यायलाई चिन्छौ ? भन्थ्यौँ त कतै पुरानो बस्ती कता हो ? भन्थ्यौँ । हामी अँध्यारामा तीर चलाउँदै जान्थ्यौँ तर त्यो वाण खेर मात्र जान्थ्यो । अनि, उहाँ गाडी चालक भएकाले हामी बिसाएर बसेका भ्यानका चालकहरूलाई पनि सोध्थ्यौँ । 

सायद पुरानो बस्तीलाई होड्खे भन्दा रहेछन् क्यारे ! एक जनाले हामीलाई सोध्यो, ‘कमलेश उपाध्याय भनेको मिलिटरी स्कुलको स्टाफ हो ?’

हामीलाई त्यो थाहा नभएकाले ‘होइन’ भन्यौँ । तर, धेरैबेर घुमेपछि फेरि त्यही ठाउँमा गएर सोध्यौँ, ‘हुन पनि सक्छ, उहाँको जागिरका बारेमा हामीलाई थाहा भएन तर उहाँलाई तपाईं चिन्नुहुन्छ ?’

मुस्किल त के थियो भने न उहाँको फोटो थियो, न त उहाँको अनुहार सम्धीजीले राम्रोसँग सम्झनुहुन्थ्यो । यति मात्र भन्नुहुन्थ्यो, ‘अलिक होचा छन्, हिन्दीचाहिँ बोल्छन् किनभने भाडाको भ्यान चलाउने गर्छन् ।’

८ वर्षमा केके प्रगति भयो होला कसरी भन्नु र ? तर, मेरा लागि त्यो चुनौती स्वीकार गरेर खोज्न तम्सिएको नै हुँ । नभन्दै फेरि त्यही मानिसलाई सोध्यौँ, ‘उहाँको घर कता छ त ?’

उसले भन्यो, ‘यदि उहाँ नै हो भने मिलिटरी स्कुलका स्टाफ लैजाने ल्याउने गर्नुहुन्छ तर घरचाहिँ थाहा भएन । मलाई लाग्छ, यहाँभन्दा करिब ५०० मिटर पश्चिममा एउटा चोक छ,  जहाँ भाडाका गाडीहरू राखिन्छन् र आफ्ना पालामा त्यहाँबाट लैजान्छन् ।’

कारण रहेछ, उहाँहरूका घरमा ग्यारेज रहेनछ । त्यो चोकमा गयौँ र सोध्यौँ, ‘कमलेश उपाध्यायको घर कहाँ हो ?’

कसैले भन्न सकेनन् तर एउटा केटाले भन्यो, ‘होचाहोचा ड्राइभर हुन् ? यदि ती हुन् भने घर देखाउँछु ।’

उसले गल्लीभित्र लग्यो । ऊ हतारहतार हिँड्दै थियो सायद कुनै काममा थियो । घुमाउरो गल्लीभित्र लगेर टाढैबाट भन्यो, ‘सायद यही घर हुुनुपर्छ ।’ 

ऊ फनक्क फर्कियो । हामी रनभुल्ल पर्‍यौँ किनभने त्यहाँ न हिन्दी बुझ्ने, न त अंग्रेजी बुझ्ने थिए । तर, थुप्रै घरमध्ये कुन घर हो कमलेशजीको या होइन । हामी त चक्रव्यूहमा जस्तो फस्यौँ किनभने कता जाने भित्र, कता जाने बाहिर अनि कुन घर हो कमलेशजीको ? फेरि उहााँ घरमा हुनुहुन्छ कि हुनुहुन्न ? 

तैपनि मैले त्यही ठाउँमा उभिएर ‘कमलेशजी ! कमलेशजी !’ भन्दै ठूलो आवाजले बोलाउन थालेँ, असभ्य तरिकाले जस्तै । अँध्यारामा हानेको ढुंगा लागेको रहेछ । एक जना मानिस एक तला माथिबाट उभिएर हामीलाई हेरे । हामीलाई नियालेर हेरेपछि हात उठाएर बाहिर आएजस्तो लाग्यो । सम्धीजीले पनि भन्नुभयो, ‘सायद उहाँ नै हो ।’

नभन्दै कमलेशजीले आफ्नो नेपाली मीतलाई चिन्नुभयो र माथि लैजानुभयो घरमा । सामान्य घर । सरकारले उपलब्ध गराएको आवासगृह । कमाएको पैसाले भाइ, बहिनी, छोराछोरीको पढाइ, लेखाइ, विवाहमा खर्च गरेर जस्तो पहिले, उस्तै रहनुभएको रहेछ । 

छोराहरू २ भाइ साना रहेछन् अर्थात् एउटा छोरो पूर्वमध्यमामा अहमदावादमा पढ्ने, एउटा छोरो कक्षा ७ मा जामनगरको सरकारी विद्यालयमा पढ्ने । छोरीको भने विवाह गरेर नातिसमेत भएको । भाइहरू २ जना नै राम्रो जागिरमा रहेछन् । वृद्ध आमा भाइसँग बस्नुहुँदोरहेछ । 

हो रहेछ, उहाँले मिलिटरी स्कुलकी प्रिन्सिपलको गाडी चलाउनुभएको रहेछ । २ वटा गाडी रहेछन् । अझै त्यही आवासमा बस्ने । सिपिङ् कम्पनीको जागिर भाइ र इन्स्योरेन्स कम्पनीका भाइहरूले घर बनाएर बेग्लै बसेका रहेछन् । 

जेठा छोराको समस्या त नेपालमा जस्तै नै रहेछ, बहिनीको पनि विवाह गरेर अहमदावादमा दिएको रहेछ । उहाँकी निपा नामकी धर्मपत्नी हुनुहुँदो रहेछ । हिन्दी पनि नजान्ने तर हामीले उहाँहरूको सम्मानलाई भाषाविहीन शब्दले पनि स्वीकार गर्‍यौँ । 

अलिकति हिन्दी बोल्ने भनेको सम्धीजी कमलेश नै हुनुहुँदो रहेछ । एकछिन त्यहाँ बस्दा नै रात पर्न लाग्यो । मन्दिरको अनुशासनमा ७ बजेदेखि ८ बजेसम्म खाना खाइसक्नुपर्ने थियो  हामी बेलैमा फर्कियौँ उहाँकै गाडीमा । हामीले उहाँलाई लिएर मन्दिरमा आयौँ र हाम्रो समूहसँग चिनापर्ची गरायौँ । भोलिपल्ट बिहानै आरतीको समयपछि द्वारका, भेट द्वारका, पोरबन्दर जाने कार्यक्रम बनायौँ र गयौँ । त्यसपछिका रोचक प्रसंग फेरि पछि प्रस्तुत गर्नेछु । 
क्रमशः