कांग्रेसका महाधिवेशन प्रतिनिधि: कुन समुदायबाट कति ?

कांग्रेसका महाधिवेशन प्रतिनिधि: कुन समुदायबाट कति ?

न्युज कारखाना  |  समाचार  |  भदौ २७, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् । कांग्रेसको विधानअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रत्यक्ष र समानुपातिक गरी ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिँदै छन् ।

यसपालि प्रत्यक्षतर्फ २ हजार ४७५ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन्, जुन कुल महाधिवेशन प्रतिनिधिको ६० प्रतिशत हो । समानुपातिकतर्फ एक हजार ५०० महाधिवेशन प्रतिनिधि चुनिनेछन्, जुन ४० प्रतिशत हो । समानुपातिकमा सबैभन्दा धेरै खस/आर्य समुदायबाट महाधिवेशन प्रतिनिधि ५२७ जना आउनेछन् ।

समानुपातिकबाट आएका कुल महाधिवेशन प्रतिनिधिमध्ये खस/आर्यबाट ३१.९ प्रतिशत प्रतिनिधित्व हुन्छ । यस्तै, आदिवासी जनजातिबाट ३०.२ प्रतिशतले हुन आउने ४९८ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । दलितबाट २३२ जना चुनिनेछन्, जुन १४.१ प्रतिशत प्रतिनिधित्व हुन्छ ।

यसरी नै मधेसी समुदायबाट २२७ जना प्रतिनिधि चुनिनेछन्, यो १३.८ प्रतिशत सहभागिता हो । थारू समुदायबाट ५.७ प्रतिशतले हुन आउने ९४ जना प्रतिनिधि चुनिनेछन् भने मुस्लिम समुदायबाट ७२ जना महाधिवेशन प्रतिनिधि चुनिनछन्, जुन ४.४ प्रतिशत हुन आउँछ । 

महिला एक हजार ३०४

१४औँ महाधिवेशनमा महिला महाधिवेशन प्रतिनिधिको संख्या एक हजार ३०४ जना हुनेछ, जुन ३१.६ प्रतिशत हो । त्यसमा पनि प्रत्यक्षतर्फ ६६० जना र समानुपातिक ६४४ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । कांग्रेसको विधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने उल्लेख छ । यसपालि ८ लाख ५२ हजार क्रियाशील सदस्य पुग्दा महिलाहरू २१ प्रतिशत मात्र थिए । १६८ सदस्यीय केन्द्रीय समितिमा महिलालाई ३३ प्रतिशत सुनिश्चितता गर्दा ५५ जना महिलाहरू केन्द्रीय समितिमा रहन्छन् । 

२०७२ सालमा भएको कांग्रेसको १३औँ महाधिवेशनमा अहिले जसरी सबै समुदायबाट प्रतिनिधित्वको व्यवस्था गरिएको थिएन । अघिल्लो महाधिवेशनमा मधेसी वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका व्यक्तिबाट प्रतिनिधित्व भन्ने थियो । समानुपातिकतर्फ ११ जनामा २ जना महिलासहित भनेर एक आदिवासी जनजाति, एक दलित, एक मधेसी वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका व्यक्ति भन्ने थियो ।

कांग्रेसले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार अब ५ असोजभित्र वडा अधिवेशन गरिसक्नुपर्छ । ९ असोजमा गाउँपालिका र नगरपालिका अधिवेशन, १२ असोजमा प्रदेश क्षेत्र अधिवेशन, १५ असोजमा एक मात्र संघीय निर्वाचन क्षेत्र भएको जिल्लाको क्षेत्र र जिल्ला अधिवेशन तथा १८ असोजमा २ वटा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । यसअघि (आज) २७ भदौमा गाउँ/नगर अधिवेशन तोकिएको थियो ।

वडा अधिवेशनबाट आएका क्षेत्रीय प्रतिनिधिमध्येबाट महाधिवेशन प्रतिनिधिहरू चयन हुन्छन् । केन्द्रीय सभापति, कार्यसमिति र सदस्य महाधिवेशन प्रतिनिधिमध्येबाट हुन्छन् भने महाधिवेशनका लागि पनि मतदाता महाधिवेशन प्रतिनिधि नै हुन् ।

केन्द्रीय सभापति, पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन्, उनीहरू भने वडाबाट चुनिएर आउनुपर्दैन । आमन्त्रित केन्द्रीय सदस्य भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि चयन भएर आउनुपर्ने विधानमा व्यवस्था छ । वडादेखि केन्द्रीय महाधिवेशनसम्म कांग्रेसले ८ तहमा अधिवेशन गर्छ । केन्द्रीय महाधिवेशन आगामी ९-१३ मंसिरमा हुने कार्यतालिका छ ।