मन्त्रिपरिषद् विस्तार सर्वोच्चको फैसलापछि मात्र हुने

मन्त्रिपरिषद् विस्तार सर्वोच्चको फैसलापछि मात्र हुने

न्युज कारखाना  |  समाचार  |  भदौ २७, २०७८

मन्त्रिपरिषद् विस्तार थप केही दिन लम्बिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल भए पनि अझै केही दिन मन्त्रिपरिषद् विस्तार नगर्न नेताहरूबीच सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारका अनुसार आजको बैठकमा खासै ठोस सहमति भने भएन ।

गठबन्धनका दलहरूबीच सरकार संचालनका विषयमा पनि छलफल भएको थियो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी थिए ।

बैठकमा एकीकृत समाजवादी दल दर्ताको विषयमा सर्वोच्च अदालतबाट फैसला आएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए ।