सभामुखलाई एमालेका २ दबाब: पदमुक्तको सूचना टाँस वा पद छाड

सभामुखलाई एमालेका २ दबाब: पदमुक्तको सूचना टाँस वा पद छाड

न्युज कारखाना  |  समाचार  |  भदौ २८, २०७८

पदीय मर्यादाको ख्याल नगरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्ग प्रशस्त गर्नुपर्ने (पद छाड्नुपर्ने) अडान राख्ने भएको छ ।

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष केपी ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अडान राख्ने भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख सचेतक विशाल भट्टराईमार्फत मार्ग प्रशस्तको सन्देश पठाउन लागिएको जानकारी दिए ।

‘सभामुखले बोलाएको बैठकमा अध्यक्षज्यू पनि जानुहुन्न, म पनि जान्नँ । तर, प्रमुख सचेतकले सभामुखलाई भेटेर दुइटा सन्देश भने दिनुहुनेछ’, नेम्वाङले भने, ‘पहिलो एमालेले कारबाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्नेछ र दोस्रो पदीय जिम्मेवारीविपरीत कार्य गरेकाले सभामुखले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सन्देश दिनुहुनेछ ।’ उनका अनुसार सभामुख सापकोटाले बैठक संचालन गर्नु अगावै भट्टराईले सो सन्देश दिनलाई निर्देशन दिइसकिएको छ ।

पार्टी गतिविधिविपरीत लागेको भन्दै एमालेले गत १ भदौमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेका थियो । तर, सभामुख सापकोटाले पदमुक्त नगरी दिएकाले पार्टी विभाजन भएको एमालेको बुझाइ छ । सोही कारण एमाले विभाजित भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको भन्दै एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गरेपछि आज दिउँसो २ बजे सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । तर, बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता ओली र उपनेता नेम्वाङले नजाने बताएका छन् ।

ओली र नेम्वाङ नजाने भएपछि प्रमुख सचेतक भट्टराईमार्फत पार्टीको सन्देशसहित बैठक अगाडि नै सभामुख सापकोटालाई भेट्ने प्रयत्नमा लागेका छन् ।