केपी ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

केपी ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

न्युज कारखाना  |  समाचार  |  भदौ २८, २०७८

माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ । 

१४ जना सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा पेसी तोकिएको थियो । तर, सर्वाेच्चले उक्त मुद्दा हेर्न नभ्याइनेमा राखेको छ । 

यसअघि गत मंगलबार ओलीको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो । साथै, विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए । रिटमा सभामुखले एमालेले गरेको कारबाही रोकेको र त्यही आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्ने अन्तरिम आदेश दिन माग गरिएको छ ।