कांग्रेसमा महाधिवेशन किचलो : पौडेल खेमाका केन्द्रीय सदस्यहरू बैठकमा

कांग्रेसमा महाधिवेशन किचलो : पौडेल खेमाका केन्द्रीय सदस्यहरू बैठकमा

न्युज कारखाना  |  समाचार  |  भदौ २८, २०७८

महाधिवेशनको मिति जतिजति नजिकिँदै छ, कांग्रेसमा संस्थापन र इतर समूहबीच तिक्तता पनि बढ्दो छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एकपक्षीय ढंगले वडा अधिवेशन गरेको भन्दै नेता रामचन्द्र पौडेल खेमाले आपत्ति जनाएको छ । देउवाले प्रहरी प्रशासनको आडमा एकलौटी रूपमा वडा अधिवेशन गरेको भन्दै डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल पक्षले अधिवेशन नस्वीकार्ने चेतावनी दिइसकेको छ ।

यसै क्रममा महाधिवेशनलगायतका विषयमा कुराकानी गर्न अहिले कांग्रेस मुख्यालय सानेपामा पौडेल खेमाको भेला सुरु भएको छ । पौडेल खेमाले अधिवेशनहरूको समीक्षा गर्न आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक राखेको हो ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाललगायत नेताहरू सहभागी हुँदै छन् । पौडेल समूहका एक नेताका अनुसार देउवा खेमाले चालेका कतिपय कदमको समीक्षा गर्दै भावी रणनीति बनाउन बैठक राखिएको हो ।