काठमाडौंमा बैठक राखेर एकीकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता चुनियो

काठमाडौंमा बैठक राखेर एकीकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता चुनियो

न्युज कारखाना  |  समाचार  |  भदौ २८, २०७८

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई चयन भएका छन् । काठमाडौंमा बैठक बसेर राईलाई संसदीय दलको नेता चयन गरिएको हो । राई बिरामी भएपछि उपचारका लागि काठमाडौं गएका थिए ।

'अधिकांश माननीयज्यूहरू काठमाडौंमै भएकाले उतै बैठक बसेर राईलाई संसदीय दलको नेता चयन गरेका हौँ । आजै नेकपा (एस)ले भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा पठाउने तयारी भइरहेको छ', प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले भने ।

प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सांसदले सनाखत गरेका थिए । उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । आयोगले संसद सचिवालयलाई पत्रसमेत पठाइसकेको छ ।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको थियो । १० जनाले हस्ताक्षर गरेसँगै मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परिसकेका छन् ।

मुख्यमन्त्री आचार्य भने सदनमा विश्वासको मत प्राप्त गर्ने आशामा छन् । उनी निकट स्रोतका अनुसार पार्टी अलग भए पनि एकीकृत समाजवादीतिर गएका सांसदले आफूलाई सघाउने विश्वास छ ।

प्रदेशसभामा हाल कायम संख्या ९२ छ । एमालेमा ५१ सांसद रहेका थिए । त्यसमध्ये एक जना गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छन् । एमालेकै एक जना सभामुख रहेका छन् । ५१ जना सांसद रहेको एमाले खुम्चिएर ४१ मा झरेको छ ।

'मुख्यमन्त्री आचार्यलाई हामीले राजीनामा दिन सुझाव दिएका छौँ', प्रदेश सांसद घिमिरेले भने, 'उहाँले राजीनामा नदिए विश्वासको मत लिँदा उहाँ आफैँ ठेगान लाग्नुहुन्छ ।'  

प्रदेशसभामा कांग्रेसका २१, माओवादीका १५ र जनता समाजवादीका ३ जना सांसद छन् । यी ३ दलसँग जम्मा ३९ जना सांसद छन् । त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ जना पुगेको छ । यो संख्या गठबन्धन दलमा रहिरहे गठबन्धनको सरकार बन्न पर्याप्त हुनेछ ।