प्रधानमन्त्रीलाई विप्लवले भने : एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्

प्रधानमन्त्रीलाई विप्लवले भने : एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्

न्युज कारखाना  |  समाचार  |  भदौ २८, २०७८

नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए ।

विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ हुँदा गाह्रो भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिमा आपत्ति जनाए । 'प्रधानमन्त्री देउवाले समेत कुरै बुझेको छैन भनेछन् । पढेर त मान्छेले भनिराखेको छ । त्यसै भन्छ ?', विप्लवले प्रश्न गरे, 'यहाँ प्रधानमन्त्री निवासको जमिन बेचेर खाने मान्छेले के भन्छ भन्दा तपाईंले बुझ्नु भा' छैन । वैदेशिक रोजगारीमा नेपाली ठग्नेले भन्छ- तपाईंहरूले बुझेको छैन ।'

विप्लवले जसले वास्तविक बुझेको छ, उसले विरुद्धमा बोलेको पनि तर्क गरे । 'जसले बुझेर बाकस मात्र देखेको छ, डलर मात्र देखेको छ, उसले बुझ पचाएइको छ', उनले भने, 'कुरा जनताले होइन, देशका दलालले नबुझेका हुन् । नेपालभन्दा एमसीसीमा बढी तलब पाउँदा सचिवको आँखा बन्द भएको हो । उनले जनताले कुरा बुझेको होइन भन्छ । यहाँको सरकारभन्दा राम्रो डलर दिएपछि मान्छेहरू गुणगान गाइरहेका छन् ।'

विप्लवले कुरा बुझेरै अधिकार लागि लडेको स्पष्ट पारे ।