कोरोनापछि खेलकुद क्षेत्र चलायमान बन्दै, यी खेल हुँदै

कोरोनापछि खेलकुद क्षेत्र चलायमान बन्दै, यी खेल हुँदै

न्युज कारखाना  |  खेलकुद  |  भदौ ३०, २०७८

गत वैशाखमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का कारण फुटबलप्रेमीमा एक प्रकारको रौनक थियो । केही युरोपेली खेलाडीका साथ नेपाली खेलाडीहरू फरक खेल प्रदर्शन गरिरहेका थिए । तत्कालै सरकारले लकडाउन घोषणा गर्‍यो । एनएसएलको पहिलो चरण नसकिँदै प्रतियोगिता रोकिने खतरा बढ्यो । चौधरी ग्रुुपको नेतृत्वमा खेलकुदमा धेरै लगानी भित्रिएको थियो ।

सरकारले अत्यावश्यकबाहेकका सम्पूर्ण गतिविधि बन्द गर्दा पहिलो संस्करणको एनएसएल रोकिने अवस्थामा पुग्यो । खेलकुदमा ठूला कर्पोरेट हाउसहरू जुन तरिकाले भित्रिएका थिए, त्यसरी आउने अवस्था रहँदैन थियो । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले एनएसएल नरोक्न दबाब दिए ।

देशभर अत्यावश्यकबाहेकका गतिविधि नहुँदा बिनाअवरोध दशरथ रंगशालामा भने सदाझै खेल संचालन भए । खेल संचालन गर्न दिए पनि सरकारले दर्शकलाई भने रंगशाला प्रवेशमा रोक लगायो ।

४ जेठसम्म दैनिक करिब २०० हाराहारीमा रंगशालामा खेलाडी, अफिसियल, टिम मालिक, टेक्निकल टिम, पत्रकार, ब्रोडकाष्टरको समूहसहित लिग सम्पन्न भयो ।

एनएसएल सकिएसँगै नेपालमा घरेलु प्रतियोगिता हुन सकेनन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने दोस्रो चरणको लकडाउनमा समेत आफ्नो गतिशीलता अघि बढायो । एनएसएलको केही समयमै उसले राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण सुरु गर्‍यो । 

केही समयपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु गर्‍यो । नेपाल भलिबल संघले समेत एभीसी सेन्टर जोन प्रतियोगिताका लागि खेलाडीलाई काठमाडौं ल्याएर बन्द प्रशिक्षण गर्‍यो । यद्यपि, कोरोना रेड जोनमा रहेका कारण आयोजकले नेपाली टोलीको नाम नै फिर्ता लियो । 

कोरोनाकालमै टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीले अभ्यास गरे । अभ्याससँगै प्रतियोगितामा केही रेकर्ड कायम गरी घर फर्किसकेका छन् ।

नेपाल सरकारले समेत भदौ पहिलो सातादेखि लकडाउनलाई विस्तारै खुल्ला गर्दै आयो । देशभर सम्पूर्ण गतिविधि जारी छन् । तर, सरकारले धेरै मान्छे जम्मा हुने भन्दै खेलकुद क्षेत्रलाई भने नियममै बाँधिरह्यो । अझै खुला गरिसकेको छैन ।

सरकारले अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुने संघहरूलाई कोरोना मापदण्ड पूरा गरी प्रशिक्षण गर्न स्वीकृत दिएको छ । कुनै प्रतियोगिता आयोजना गर्न भने सरकारले सहजै स्वीकृत दिएको छैन । 

एन्फाले पछिल्लो २ सातामा पुरुषतर्फ नेपाल-भारत तथा महिलातर्फ नेपाल-बंगलादेशबीच २ मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्‍यो । प्रतियोगिता आयोजनाका लागि सहजै स्वीकृति दिएको सरकारले दर्शकसहितको खेलमा भने कडाइ गर्दै आइरहेको छ ।

भारत र बंगलादेशविरुद्धको खेलमा सरकारले कुल क्षमताको ३३ प्रतिशत मात्र दर्शकलाई मैदान पस्न स्वीकृत दिएको थियो । त्यो पनि रंगशाला प्रवेश गर्ने दर्शकले पीसीआर नेगेटिभको रिपोर्ट वा कोरोना खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने नियम थियो । सरकारले बन्द रंगशालामा घरेलु प्रतियोगिता गर्नसमेत स्वीकृत प्रदान गरेको छ ।

नेपालमा सबैभन्दा चलायमान तथा लोकप्रिय खेल भनेकै फुटबल, क्रिकेट, भलिबललगायत हुन् । एन्फाले कोरोनाबीचमै बन्द रंगशालामा सी डिभिजन लिग छनोट प्रतियोगिता आयोजना गरिरहेको छ । बन्द रंगशालामा जारी प्रतियोगितामा देशभरबाट ६८ टोली सहभागी छन् । 

यसपछि एन्फाले २९ कात्तिकबाट देशकै प्रतिष्ठित तथा शीर्ष डिभिजनको ए डिभिजन लिग आयोजना गर्दै छ । त्यसअघि एन्फाले २ असोजबाट मोफसलमा १० टोली सहभागी हुने फुटसल लिग आयोजना गर्दै छ । 

क्यानले स्वीकृत दिएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) असोजमै आयोजना हुँदै छ । नेपाल भलिबल संघले एनभीए लिगको आयोजना असोज चौथो साता गर्ने तयारी गरेको छ । यसका लागि संघले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै छ । यी सबै खेल बन्द रंगशालामा हुँदै छन् । यस्तै भलिबल संघले आगामी महिना पहिलो फ्रेन्चाइज लिगका लागि चौधरी ग्रुपको नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट कम्पनीसँग १० वर्षे सम्झौता गरिसकेको छ । 

यता, कोरोना कहरकै बीच क्रिकेट टोली आईसीसी लिग- २ खेल्न ओमानमा छ भने पुरुष फुटबल टोली साफ च्याम्पियनसिपका लागि कतारमा १६ दिनको बन्द प्रशिक्षणमा छ । एएफसी महिला एसिया कप, २०२२ छनोट खेल्न महिला फुटबल टोली उज्वेकिस्तान पुगेको छ ।