सूदुर भूगोलमा एमालेका २ इन्चार्ज, कार्यकर्तामा अन्योल: कसलाई मान्ने ?

सूदुर भूगोलमा एमालेका २ इन्चार्ज, कार्यकर्तामा अन्योल: कसलाई मान्ने ?

न्युज कारखाना  |  समाचार  |  भदौ ३०, २०७८

नेकपा एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा आआफ्नो दाबी गरेपछि नेता, कार्यकर्ता अन्योलमा परेका छन् ।नेता, कार्यकर्तामा कसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको छ । रावल र भट्ट दुवै सुदूरपश्चिम आएर आफू नै इन्चार्ज भएको दाबी गरे, जसका कारण प्रदेश इन्चार्जको विवाद सतहमा आएको छ ।

पार्टी अध्यक्ष केपी ओलीले रावलकै अगाडि आफूलाई इन्चार्जको जिम्मेवारी दिएको भट्टको भनाइ छ । उनी सोमबार सुदूरपश्चिम आएका थिए । पार्टीको कामले नभई पारिवारिक कामका लागि कंचानपुर आएका भट्टले आफैँ सुदूरपश्चिमको इन्चार्ज भएको दाबी गरे ।

मंगलबार रावल कैलाली आइपुगे । धनगढी पुगेर कार्यकर्तासँगको भेटघाटमा उनले पार्टीलाई एकताबद्ध बनाउन आफू त्याग गर्न तयार रहेको अभिव्यक्ति दिए । तर, उनले १० बुँदे सहमति कार्यान्वयनमा पनि जोड दिए । रावलको अभिव्यक्तिपछि उनी निकट नेता, कार्यकर्ताले भट्टलाई इन्चार्ज मान्न नसक्ने बताउन थालेका छन् । रावललाई १० बुँदे सहमति कार्यान्वयनका लागि गठित प्रदेशस्तरीय समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

‘१० बुँदे सहमतिपछि पूर्ण रूपमा २ जेठ २०७५ अघिको पार्टी संरचना संचालन हुनुपर्छ’, एमाले केन्द्रीय सदस्य भानुभक्त जैशीले भने, ‘त्यसबाहेक पार्टी अघि बढ्न खोजेमा मान्य हुँदैन, सहमति कार्यान्वयन नभए त्यसको परिणाम अर्कै हुनेछ ।’ पूर्ववनमन्त्रीसमेत रहेका जोशीले २ जेठ २०७५ अघि सुदूरपश्चिम प्रदेश इन्चार्जमा रावल भएको बताउँदै अब पनि उनी नै प्रदेश इन्चार्ज हुने बताए । 

एमाले कस्तो हुने भन्ने ३ असोजको केन्द्रीय समिति बैठकले निर्धारण गर्ने उनको भनाइ छ । ‘आगामी ३ असोजमा एमाले केन्द्रीय समितिको बैठक बस्दै छ’, उनले भने, ‘सो बैठकमा हुने निर्णयका आधारमा हामी एमालेमा रहने वा नरहने भन्ने निर्क्योल गर्नेछ । १० बुँदेविपरीत पार्टी गएमा हामी मान्दैनौँ ।’ 

रावल र भट्ट दुवै जना धनगढीमा आउँदा दुवै नेताबीच सुदूरपश्चिममा कुनै समन्वय भने भएको छैन । रावलले लामो समय अछाम नगएका कारण आफू गृहजिल्ला जान धनगढी आएको बताएका छन् । भट्टले पनि पारिवारिक कामका लागि आफू धनगढी आएको उल्लेख गरेका छन् ।

माओवादी केन्द्र छाडेर एमालेमा लागेका भट्टले भने खुला रूपमा आफू नै सुदूरपशिचम प्रदेशको इन्चार्ज भएको बताएका छन् । रावल र आफूबीच तिक्तता नभएको उनको भनाइ छ । ‘म धनगढी आउँदा रावल कमरेडलाई जानकारी गराएको थिएँ’, भट्टले भने, ‘त्यसको एक दिनपछि उहाँले म पनि धनगढी आएँ भनेर भन्नुभएको थियो तर हाम्रो भेट भने भएको छैन । उहाँ पनि व्यक्तिगत कामले आउनुभएको हो ।’ पार्टीले दिएको जिम्मेवारीअनुसार आगामी दिनमा अघि बढ्ने उनले बताए ।

एमाले उपाध्यक्ष रावलले भने अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई एमालेले सम्मान गर्ने बताए । मंगलबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमालेलाई ठूलो र बलियो बनाउन अन्य पार्टीबाट आएका साथीलाई सम्मान गरिनुपर्ने धारणा राखे । ‘यसअघि अन्य पार्टीबाट एमालेमा आउँदा उनीहरूलाई दिइएको जिम्मेवारी यथावत् राख्दै हामीले उनीहरूको सम्मान गर्नुपर्छ’, रावलले भने, 'त्यसो गर्दा एमाले बलियो हुन्छ ।’