एमाले महासचिवले भने: '१० बुँदे सहमतिबाट एमाले नेतृत्व किञ्चित पछि हट्दैन'

एमाले महासचिवले भने: '१० बुँदे सहमतिबाट एमाले नेतृत्व किञ्चित पछि हट्दैन'
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ ३१, २०७८

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रस्ट पारेका हुन् ।

'संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन, शक्ति खोजेका हौं ।  पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ । पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । गुटबन्दीमा लागेर पार्टी कमजोर बनाउने, अनास्था फैलाउने, गुटगत गतिविधि स्वीकार्य छैन । एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो । प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि हट्दैन । सुझाव कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो', उनले भने ।

पोखरेलले २ जेठ २०७५ लाई २ हिसाबले बुझ्न आग्रह गरे । 'यसलाई पोलिटिकल सेन्समा बुझ्न जरुरी छ । कानुनी रूपमा पनि बुझ्न जरुरी छ । आजको एमाले २ जेठअघिको मात्र होइन, एकीकृत, एकता प्रक्रियासहितको एमाले हो', उनले भने, '२ जेठ मात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन । त्यसैले आजको एमाले एकता प्रक्रियासहहितको एमाले हो । यो बुझ्न जरुरी छ ।'