अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ : योगेश भट्टराई

अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ : योगेश भट्टराई

न्युज कारखाना  |  समाचार  |  आश्विन १, २०७८

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरू एमालेमै फर्किने दाबी गरेका छन् ।

पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरूको मनमा एमाले नै रहेकाले मुल पार्टीमा फर्किने दाबी गरे । ‘जो विभाजन लाग्नुभयो, उहाँहरूमा टिप्पणी छैन । धेरै नेता, कार्यकर्ताको मनमा एमाले नै छ । अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होमसिक जस्तै एमालेसिक हुन्छ । उहाँ यतै आउनुहुन्छ’, भट्टराईले भने, ‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन । असफल प्रयत्नतिर नजाऔँ । त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्नेबाहेक कुनै काम छैन ।’

पार्टी पंक्ति र नेताहरूको सुझबुझका कारण विभाजनको असर खासै नपरेको उनले सुनाए । ‘जे कोसिस गर्‍यौँ, यसले विभाजनको असर निकै कम भयो । जति तल गयो, विभाजनको असर उति कम भयो’, उनले भने, ‘पार्टी विभाजन गर्नुहुुँदैन भन्ने एकताको पक्षधर साथीहरू एकजुट हुनुभयो । अझै अत्यन्त मिहिनेत गर्छौं । जहाँ घाटा लागेको छ, त्यसको पूर्ति गर्नुपर्छ ।’

कांग्रेस र माओवादीका कार्यकर्ता तानेर एमालेको क्षति पूर्ण गर्ने उनको भनाइ छ । ‘माओवादीका तल्लो तह निराश छन् । हामीले उनीहरूलाई एमालेमा आउन अपिल गरौँ’, उनले भने, ‘कांग्रेसका साथीहरूलाई पनि भनौँ । हिजो भोट नहालेकाहरूलाई पनि एमालेमा आकर्षित गरौँ ।’

भट्टराईले कांग्रेसले देशलाई विकल्प दिन नसक्ने भन्दै एमालेले बहुमत ल्याउने दाबी गरे । ‘आगामी चुनावमा पनि कांग्रेसले बहुमत ल्याउन सक्दैन किनकि उसले कुनै विकल्प दिन सक्दैन’, उनी भन्छन्, ‘बहुमत ल्याउन सक्ने तागत एमालेसँग छ । राजनीतिक स्थायित्व र विकासका लागि एमालेको बहुमत अनिवार्य छ ।’ विभाजनमा लागेका नेता, कार्यकर्ताहरूलाई मूलघरमै फर्किन उनको आग्रह छ ।

उनले एमालेकै नेतृत्वमा आगामी निर्वाचन हुने दाबी गरेका छन् । अहिलेको सरकार असफल भएको भन्दै उनले एमालेको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताए ।

उनले एमसीसीका बारेमा सत्तारुढ दलको धारणा स्पष्ट गर्न आग्रह गरे । ‘एमसीसीको बारेमा सत्तारुढ दलको धारणा के हो ? कांग्रेस, माओवादी र एकीकृत समाजवादीको धारणा के हो ? उहाँहरूको संसदीय दलले पास गरेको कहाँ छ ?’, भट्टराईले भने, ‘धारणा स्पष्ट गर्नुहोस् । एमसीसी के गर्ने हो ?’

सरकारका कारण बजेट होल्ड भएको र यसले आर्थिक तथा वित्तीय अनुशासन ध्वस्त भएको उनको तर्क छ । २ महिना बितिसक्दासमेत सरकारलाई पूर्णता दिन नसक्नु अहिलेको गठबन्धनको अक्षम कदम भएको भट्टराईको भनाइ छ ।