आकर्षणको केन्द्रमा कृष्ण प्रणामी : युवाहरूले धर्मलार्ई निरन्तरता दिइरहलान् ?

फर्कलान् र ती दिनहरू

आकर्षणको केन्द्रमा कृष्ण प्रणामी : युवाहरूले धर्मलार्ई  निरन्तरता दिइरहलान् ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  आश्विन २, २०७८

सबै धर्मका स्थापना र आवश्यकताका विषयमा सबै सम्प्रदायका श्रद्धालु र भक्तहरूका आफ्नाआफ्ना तर्कहरू पाइँदा रहेछन् । सबै सम्प्रदाय र पन्थमा पक्कै कट्टरता चाहिन्छ किनभने त्यसले आन्तरिक अनुशासन कसिलो बनाउँछ । मानवीय कमजोरीको मनोविज्ञानलाई सबै धर्म र सम्प्रदायले केलाएका हुन्छन् तर मानव हितका विषयमा सोचेका पाइन्छन् । फरक यति हो कि कसैले यही भौतिक संसारमा कसरी परिभाषित गरिएको सुख र खुसी पाउने भन्ने छ भने कसैले अर्को जन्म नहोस् भनेर परमार्र्थका बारेमा समेत सोचेका पाइन्छ । 

धेरथोर सबै धर्ममा अवतारवाद, पुनर्जन्मवाद, पूर्वजन्मवाद र सर्वजन हितायका लागि अनुशासनको पालना गर्न अलिक कडाइ नै देखिन्छ । फरक यति हो, कतिले यो नश्वर शरीरलाई तह लगाउँदै ब्रत, उपासनाको लामो क्रम राखेका हुन्छन्, जसलाई हामी भौतिकवादी भनेर चिन्छौँ । आफूलाई धर्मनिरपेक्षताको पक्षधर भनेर चिनाउने मानव जमात छ, उनीहरूले पनि किन नमान्ने भनेर जुन तर्कहरू तयार गरेका हुन्छन्, पछि त्यही नै दर्शन अनि धर्मको रूपमा विकसित भएको पाइन्छ । 

हिन्दु धर्ममा ३३ कोटि देवी—देवता छन् भनिन्छ, त्यसको पनि तर्क २ प्रकारले दिइँदो रहेछ— एक, कोटि भनेको करोड हो, त्यसैले ३३ करोड देवी—देवता छन्, जसमा स्थानीय मानमनितो गरिने सबै खालका पर्छन् । दुई, कोटि भनेको प्रकार, श्रेणी पनि हो । ३३ प्रकारका देवी—देवताहरूको श्रेणी भनेर पनि मानिँदो रहेछ । जे होस्, जसले नयाँनयाँ बाटो तयार गर्छ, नयाँ जीवन दर्शनको प्रादुर्भाव गराउँछ या आविष्कार गर्छ, उसले त्यसको आधार, व्याख्या र परिणामका बारेमा समेत एउटा खाका बनाएर मात्र समाजमा प्रचार अभियान सुरु गरेको हुन्छ । 

केहीले सुरुमा जिज्ञासावश त्यसलाई समर्थन गर्न थाल्छन् र आफूमा नयाँ अनभूतिको संचार भएको बताउँछन् त कसैले सपनामा यस्तो भयो, उस्तो भयो भनेर विश्वास बढ्न थालेको अनि आस्था बनेको मानिन्छ । कवि शिरोमणि लेखनाथ पौडेलले ‘तरुण तपसी’ भन्ने नव्यकाव्यमा एउटा गज्जबको संयोगमा बयान गर्नुभएको छ । पहिले पहिले वस्तुभाउ हेर्न घरबाहिर जंगलतिर जाने गोठालाले आफूलाई राम्रो पार्न, कपाल कोर्नका लागि नौनी र निधारमा टीका लगाउन अबीर लिएर जान्थे । एउटा रूखमुनि बसेर सियाँल तापेका बेलामा र बस्तुभाउ चर्न वनभित्र गएका बेलामा फुर्सदमा उनीहरूले कपालमा नौनी लगाएर, निधारमा रातो टीका लगाएछन् अनि त्यही रहेको एउटा ढुंगामा त्यो दलेछन् र पुछेछन् । 

एकछिनपछि त्यो सियाँल दिने चौतारीमा ढाक्रेहरू आएर ढाकर बिसाएर, खाने कुरा बनाउँदा अलिकति चामल पनि त्यहीँ बिसाएको ठाउँमा झारेछन् । अघि एकछिन पहिले या हिजै कहिले पुछेको नौनी र अबीरमा अलिकति अक्षता पनि थपियो अनजानमा नै । कोही पुजारी त्यही बाटो कतै जाँदै थिए र उनले पनि चौतारामा  देखिएको त्यो ढंगोमा २-४ वटा फूल चढाएछन् किनभने यहाँ त देउराली पो रहेछन् भनेर । 

सायद त्यसपछि आउने जो कोहीले पनि त्यहाँ ढोग्न थालेछन्, फूल चढाउन थालेछन्, गर्दागर्दै त्यो ठाउँ कुनै देवीको स्थान बनेछ । अब मानिसहरू त्यहाँ भाकल गर्न थालेछन्, भाकलअनुसारको पुगेको भनेर अरूलाई भन्न थालेपछि र मानिसैपिच्छे त्यहाँको बारेमा नयाँनयाँ चर्तिकलाको बयान सुरु भएछ । 

अब त्यहाँ जात्रा लाग्न थालेछ, पूजाआजा चल्न थालेछ र कतिले त रातमा त्यहाँ जाज्वल्ल्यमानको दीपज्योति देखिने र बिलाउने गरेको आफ्नै आँखाले देखेको भन्नेहरू बाक्लै भेटिन थालेछ भनेर त्यो रूखले अर्थात् तरुण तपसीले बताएको कुराले कसरी कुनै धारणा बन्छ भन्ने कवि शिरोमणिले एउटा काल्पनिक तपसीको मुखबाट आफैँ भन्दै छन् । धर्म एउटा आन्तरिक चरम सुखको आधार हो, जीवनप्रति मोह र विमोहको दोसाँधमा उभिने जिज्ञासु व्यक्तिको उत्पादन, पुनरुत्पादन गरिने प्रक्रिया पनि हो । बिस्तारै त्यसमा परिवर्तन आउन थाल्छ र त्यसले पनि धर्मभित्रको एउटा सम्प्रदायको रूप लिने रहेछ । 

सायद धर्मको भन्दा पनि धर्मका संचालकहरूको नियतले कतिपय अनुयायीलाई धर्मभीरु बनाउँछ किनभने उनीहरूसँग त्यसबारेमा दिइने तर्क र अपनाइने व्यवहारमा बारेमा सायदै व्याख्या गरिन्छ । त्यसो गर्नु पनि कहिलेकाहीँ धर्मप्रति अनास्था र अधर्मी हुने डरले अनुयायीहरू खुरुखुरु अनुशासित भएर जस्तो आदेश हुन्छ, त्यस्तै गर्छन् भन्ने अनुमान लगाउन सकिन्छ । 

धर्मप्रति आस्थावान् हुनु भनेको ठिक र बेठिक स्पष्ट छुट्याउने अन्तरचेतना प्राप्त हुनु हो । त्यसैले प्रत्येक जीवित प्राणीमा एउटा लय दिएको हुन्छ प्रकृतिले स्वतः, त्यसैलाई आध्यात्मिकता मानेका होलान् व्याख्याताले, जुन लयको आविष्कार त स्वतः भएकै हुन्छ, मात्र अहिले त्यसको आफ्ना आफ्नै तरिकाले व्याख्या गर्ने हो । जस्तो कि सूर्य त झुल्कन्छन्, बिहान, दिउँसो, साँझ र रात पर्छ । तर, अहिले हामीले त्यसको कारण, प्रक्रिया र परिणामका बारेमा परिचय, व्याख्या र त्यसको परिणामका बारेमा बताएका छौँ । त्यो पनि फरक फरक तरिकाले । पौराणिक मान्यता, आधुनिक मान्यता र उत्तरआधुनिक मान्यता । 

जेजे परिणाम देखिन्छ, त्यसको नयाँनयाँ व्याख्याद्वारा पुष्टि गरिन्छ । धर्मले पुष्टि गर्न सक्नुपर्छ र त अनुयायीहरूको ओइरो लाग्छ किनभने त्यसको परिणामले मानव हित गर्छ भन्ने विश्वास पलाउन सक्छ ।

हाम्रो पूर्वीय दर्शनले पनि धेरै धर्महरूको बाटो तयार गरेको देखिन्छ । एउटै समूह या सम्प्रदायमा पनि नयाँनयाँ अनुसन्धान या ध्यानमार्फत् नयाँनयाँ बाटोको उत्खनन भएको छ । नयाँ बाटोमा हिँड्दा आउने अवरोध, व्यवधान, अप्ठ्याराहरू र त्यसको क्रमिक परिणामले कति अनुयायी थपिन्छन् भन्ने कुरा निर्धारण गरिन्छ । कुनै पनि भौतिक तथा आध्यात्मिक कुराहरूको निर्माण, विनिर्माण तथा पुनरुत्पादनको प्रक्रिया करिब करिब ब्रह्माण्डमा नै एकै प्रकारको हुने रहेछ । तर, प्रकृतिका नियमहरूमा बलजफ्ती परिवर्तन गर्दा वा अनावश्यक दोहन गर्दाका परिणामहरूको बहुआयामिक नकारात्मक प्रभाव देखिन थालेका छन् र पनि त्यो क्रम न त रोकिन्छ, न रोक्नु नै हुन्छ । 

परिवर्तन जसलाई हामीले भन्छौँ, त्यो अपरिहार्य तत्त्व हो र त्यसलाई आत्मसात् गरेर मात्र अस्तित्व रहन सक्छ भनेर भनिँदै आएको पनि छ र छ पनि त्यस्तै ।

म फेरि श्रीकृष्णको अस्तित्वप्रति फर्कन्छु । अहिलेसम्म प्राप्त प्रमाणहरू र श्रुतिस्मृतिका आधारमा अहिले जुन युगमा हामी बाँचेका छौँ, त्यसलाई कलीयुग भनेर अर्थ्याइएको छ र कलीयुगका विशेषताहरूका बारेमा जुनजुन तर्कहरू दिइएको थियो, ती अहिले प्रारम्भिक अवस्थाका संकेत मान्दा पनि विश्व भयावह अवस्थामा पुग्न लागेको अनुभूत हुन थालेको छ । यही पौराणिक मान्यताअनुसार श्वेतवाराह कल्प हो, जुन धेरै परिवर्तनपछिको २८औँ कल्पको रूपमा मानिएको छ । 

यही प्रक्रिया दोहोरिन्छ र पात्रहरू पनि समयअनुकूलमा जन्म, मृत्यु, पुनर्जन्म हुँदै आफ्नाआफ्ना कर्तव्यअनुसारको गणितका सूत्रझैँ नियतिको चक्रमा घुमिरहने हो भनिन्छ । तर, नियतिलाई कर्मले, प्रयासले नियमित गर्न सकिन्छ भन्ने मान्यता पनि पाइन्छ । त्यसै क्रममा २७औं कल्पसम्म ब्रह्माण्डसहित मानवजातिको दुःख कष्ट नाश गर्न विष्णुको अवतार हुँदै आएको थियो, जसमा अनेक अवतारको वर्णन पाइन्छ । 

मुख्यमुख्य अवतारको रूपमा मत्स्य, बराह, वामन, श्रीराम, परशुराम, कृष्णको रूपमा अवतरित भएका देखिन्छन् । तर, २८ औं द्वापरयुगमा भने तिनै विष्णुको अवतारमा अवतरित भइरहने कृष्ण वासुदेव यस पटकचाहिँ परब्रह्मको पूर्णांशसहित यो धराधाममा अवतरित भएका थिए र उनले आफ्ना वचनअनुसार यो विश्वको भार हरण गर्न अनेक कष्ट सहँदै मानव हितमा आफूलाई समर्पण गरेकाले उनकै नाममा समेत अनेक पन्थ, सम्प्रदाय र बाटाहरूको अनुसन्धान र कार्यान्वयन भएको पाइन्छ भन्ने धार्मिक अनुसन्धाताहरूको राय पाइन्छ । 

सदाचार, भ्रष्टाचारविहीन समाज र पारदर्शी जीवनका रूपमा विकसित गर्न कसरी निरन्तरता देलान् ? मेरो व्यक्तिगत धारणामा यसका लागि यसका नेतृत्ववर्गले अलि बढी नै मिहिनेत गर्न पर्ने हो कि ? सदाचारी समाज रूपान्तरणका लागि ती मन्दिरहरू रसद्बिचार प्रचारकहरूमार्फत समाजमा कसरी फैलाउन सक्लान् ?

अरू सबै अवतारहरूमा केही कामको सिलसिलामा त्यो अवतारको लक्ष्य पूरा हुने र उनीहरूको क्षमता बिस्तारै ह्रास हुने अनि उनीहरूको आवश्यकता पूरा भएपछि कुनै क्षमताको प्रदर्शन पनि गर्न नसक्ने मानिँदो रहेछ । जस्तो कि परशुरामका वरबाारेमा सुनिन्छ । उनै परशुराम हुन्, जसले २१ पल्ट घुमीघुमी क्षत्रीयहरूको नाश गरे भन्ने छ, जबकि पुराणको कथनानुसार स्वयं राम, जसले बञ्चरोको सहायताले विध्वंश गर्न सक्ने अद्भूत क्षमता जन्मजात पाएका थिए, तिनै परशुरामले न त भीष्म पिताम, जो उनकै चेला थिए, लाई युद्धमा जित्न सके । न उनको भनाइलाई कसैले पछि वास्ता नै गरेका थिए, जबकि उनी अष्ट चिरञ्जीवी मानिएका छन्, जो कहिल्यै मर्दैन- अनन्तकालसम्म जीवित रहने वरदानप्राप्त । 

त्यस्तै, मथुराका स्थानीय राजा वसुदेवका छोरा वासुदेव अर्थात् प्रचलित नाम कृष्णको अवतारका बारेमा सबै पुराणहरूले दिएको जानकारीले एउटा अद्भूत क्षमताका परमात्माका पूर्णांशका रूपमा अक्षरातीत ईश्वरीय क्षमतायुक्त महामानव मानिएको छ, जो न जन्मियो, न मर्छ तर सबैमा व्याप्त छ । पहिले पहिलेका विष्णुका अंशहरूको अन्तिम गन्तव्य स्वर्ग र बैकुण्ठसम्मको मानिएको छ भने यी अनुपम शक्तिधारी कृष्ण परमधामका बासी हुन् र उनको अवतारको पनि एउटा झझल्को मात्र हो, मोहनी स्वरूप संसारलाई नयाँ बाटो देखाउनका लागि भएको अवतारको चरम स्वरूप मानिएको छ । 

कृष्णका बारेका पूर्वीय संस्कृतिमा अनेक चर्चा र ग्रन्थ तयार छन्, जसमा महाभारतमा वर्णित विराट रूपधारी कृष्ण र श्रुतिस्मृतिमा वर्णित कृष्णको चर्चा र पन्थ तयार भएका छन् । यो आधुनिक विश्वमा अतिचेतनाका संवाहकका रूपमा वर्णित कृष्णको बासस्थान परमधाम मानिएको छ र उनलाई कसैले साकार र कसैले निराकारको स्वरूपको माने पनि उनलाई  सर्वव्यापी मानेका छन् । हाल मैले जानेको श्रीकृष्णबारेका संस्थाहरू, जसले विश्वव्यापी प्रचार पाएका छन् र करोडौँ अनुयायीहरूको धड्कनको रूपमा मानिएका भनिएका श्रीकृष्णका श्री कृष्ण प्रणामी धर्म र अन्तर्राष्ट्रिय कृष्ण अन्तर्चेतनाको प्रचार र कार्यान्वयनका लागि इस्कोनको कार्यक्षेत्र पाइन्छ । 

श्री कृष्ण प्रणामी धर्मको रूपमा तिनै कृष्णको आराधना गर्दै सम्पूर्ण मानव जातिको हितमा सम्पूर्ण सम्प्रदायका अनुयायीहरूलाई उत्प्रेरित गरिएको छ, जसको मुख्य मन्दिरको रूपमा जामनगरस्थित श्रीकृष्ण प्रणामी खिजडा मन्दिरको नाम लिन सकिन्छ । खिजडा किन भनिएको रे भने, देवचन्द्र महाराज, जसले यो श्री कृष्ण प्रणामी धर्मलाई मानव मात्रको निजानन्द स्वरूप भनी स्थापना गर्नुभएको थियो, उहाँले तिवन लाउँदै आएका सानासाना खिजडाको हाँगाको टुक्रा पछि वृक्षको रूप लिएकाले खिजडा मन्दिर भनेर परिचय गराइएको रहेछ । 

मैले थाहा पाएअनुसार भारत, नेपाल, युरोप, अमेरिकामा गरी हजारौँ मन्दिरमार्फत श्रीकृष्ण प्रणामी धर्मको आराधना, प्रचार तथा नैतिक मूल्यको प्रचार गरिएको पाइन्छ ।
२०७१ सालको पुसमा श्री १००८ महाराज श्रीकृष्णमणिज्यूको स्वर्ण जन्मोत्सवमा ठूलो उत्सवको आयोजना गरिएको थियो, जहाँ लाख बराबर आगन्तुकहरूको बस्ने, खाने, श्रीमद्भागवत र तारतम सागरको श्रवणका लागि पण्डालको  व्यवस्था गरिएको थियो । मैले बुझेअनुसार ती सबै व्यवस्थाका लागि श्रद्धालु भक्त तथा आयोजक समितिको सक्षम व्यवस्थापनको कारण संभव भएको थियो । यस्तै, संसारमा व्यवस्थित गरिएका मन्दिरमा श्रद्धालु अनुयायीहरूका लागि खान, बस्नको व्यवस्था गरिएकै हुँदो रहेछ । सुनिएअनुसार मुम्बईको मन्दिरमा आउने श्रद्धालुहरूलाई मन्त्र के हो, कसले दिएको हो र कण्ठी हेरेर मात्र निःशुल्क प्रवेश दिइन्छ रे ! वास्तवमा जो कृष्ण प्रणामी होइन, जसले श्रद्धा व्यक्त गर्दैन, त्यो त यसै पनि जाँदैन नि ! तर, निःशुल्क बस्न र खान पाइन्छ भने मानिसले ढाँट्न पनि सक्छ भन्ने धारणा होला ।

श्रीमद्भागवत पुराणका वाचकहरू धेरै आएका थिए विश्वबाटै तर मुख्य वाचकका रूपमा वयोवृद्ध सुन्दरसाथ श्री १०८ महाराज सदानन्द स्वामीजी हुनुहुन्थ्यो र उहाँका सहयोगीहरू धेरै थिए । त्यस बेला उहाँको उमेर करिब ९० को वरिपरि हुनपर्छ । उहाँले सदाचारका बारेमा, अहङ्काररहित जीवनका बारेमा र सरल जीवनयापनमा कृष्ण प्रणामीहरू उदाहरणीय हुनुपर्ने भन्ने उपदेश बारम्बार दिनुभएको पाइन्थ्यो । एउटा विवाद भने भुसको आगो जस्तै देखेँ मैले- जब तारमत सागर नै सम्पूर्ण वेद, पुराण र उपनिषद्को सार हो भने किन महाराजजीको जन्मोत्सवका १८ पुराण, उपनिषद्हरू, वेदहरूको वाचन गरिएको हो ? त्यहाँ ब्रह्ममुनिहरूले कुनै वर्ण, जातलाई वास्ता नगर्दै तारतम सागर, गीता, पुराणहरू,वेदहरू, उपनिषद्हरू वाचन गरिरहेका थिए । 

त्यसले के झझल्को दिएको थियो भने वास्तवमा हामी परम्परागत हिन्दु धर्मका अनुयायी हौँ, हामीले नै सम्पूर्ण ऋषिहरूको परंपरालाई कृष्ण मन्दिरमार्फत सम्पादन गरिरहेका छौँ । मान्दै आएका परंपरागत धर्महरूलाई विभेद नगरी श्रीकृष्णको आराधना गर्दै विश्व समाजमा अहिंसात्मक, सात्विकी खाना, सधैँ सरसफाइ र मानव मात्रलाई एउटै परमात्माको सन्तानको रूपमा मान्ने सन्देशको उपदेश गरिएको थियो । कृष्णमणि महाराजले अन्तिम उपदेश दिने बेलामा भन्नुभयो, 'हामी त्यही समाजको प्रतिनिधित्व गर्छौं, जुन समाजमा हामी निरन्तर रहन्छौँ । हामी अरूभन्दा फरक होइनौँ बरु विशिष्ट स्वभावका हुनुचाहिँ जरुरी छ । मानव मात्रको सेवा, सेवा अनि सेवा नै हाम्रो कर्तव्य हो । अहङ्कार, विद्वेष, प्रतिशोध र अरूलाई अपमान गर्दै हामी मात्र ठूला हौँ भन्ने, हाम्रो पन्थ मात्र विशेष हो भन्ने घमण्ड नगरी अहिंसात्मक, मासु नखाने, मानवीय सरसफाइमा जोड दिने, प्रत्येक वनस्पतिलाई माया गर्ने, प्राकृतिक सम्पत्तिको संरक्षण गर्ने बानीले समाजका सबै बर्गको मन जित्नुपर्छ र कृष्ण प्रणामी भनेका अत्यन्त सहयोगी सम्प्रदाय हो भन्ने विश्वास दिलाउनुपर्छ ।'

ती ७ दिनहरूमा सत्संगको बिराम समयमा द्वारका गइयो, भेट द्वारिका गइयो र गान्धीको जन्मस्थान पोरबन्दरको भ्रमण गरियो । मैले बरखीबारेकाले अन्य मन्दिरहरूका गइएन किनभने बरखी बारेका भक्तहरूले श्रीकृष्ण मन्दिरमा चाहिँ दर्शन गर्न गएको पाइयो अरू मन्दिरमा देखिएन । पोरबन्दरमा महात्मा गान्धीकी माताले सधैँ पूजा, आराधना गर्ने कृष्ण मन्दिरचाहिँ अलिक भित्रै शहरमा रहेछ, ढिलो हुने भएकाले गइएन तर मुख्य मन्दिरमा भने दर्शन गरियो । 

महात्मा गान्धीको स्मृति भवनमा उहाँका सामानहरू, फोटाहरू र केही डकुमेन्ट्री पनि हेरियो । त्यहाँको समुद्र किनारामा देखियो, नुन जमाएर राखिएको अनि त्यहाँका गोरुका सिङ कति ठूला हुन् नि ! मेरो छोराले हामी जामनगर जाने भनेपछि भनेको थियो, 'बाबा, त्यहाँका गोरुका सिङ देख्दा तपाईंलाई लाग्नेछ कि यो भार गोरुले कसरी बहन गर्छ होला ?'

नभन्दै गोरुका सिङ कत्राकत्रा । अनि, भैँसीका चाहिँ सिङ तेर्सा न तेर्सा । लामा सिङ । मानिसहरू देख्दा मलाई लाग्यो, हाम्रो सुरुवाल र दौराको पूर्वरूप त्यहाँका बासिन्दाले लगाएको पाइन्थ्यो बल्ल मलाई याद भयो, पशुपतिमा दर्शन गर्न आउने फेटा बाँधेका अनि नेपालीका जस्तै भोटो लगाएका, सुरुवाल लगाएका मानिसहरू त गुजरातीहरू पो रहेछन् !

त्यो महाकुम्भ जस्तै जन्मोत्सव भेलाको अर्को विशेषता के पनि थियो भने, पूरा नेपाललाई त्यस भेलामा प्रतिनिधित्व गरिएको जस्तो लाग्थ्यो । धेरैजसो युवाहरू थिए । त्यसले के प्रदर्शन गरिरहेको थियो भने, नेपालका किशोर, युवा जमात धर्मप्रति आकृष्ट हुँदै छन् । खाली मलाई एउटै कुरामा भने अझै विश्वस्त हुने आधार स्पष्ट भएको छैन, के ती युवा जमात यो पावन कार्यमा बुझेर लागेका हुन् ? या पछिसम्म यो सद्विचारलाई, विश्वबन्धुत्वलाई निरन्तरता दिन सक्लान् ? अहङ्ककाररहित जीवन, मानव हितमा आफूलाई सत्यको बाटोमा निरन्तर हिँडेर गन्तब्यसम्म पुग्न सक्लान् या बीचैमा गन्तब्य छाडेर फेरि अरू नै नयाँ बाटोको खोजीमा पो जाने हुन् कि ?

त्यसलाई कसरी सदाचार, भ्रष्टाचारविहीन समाज र पारदर्शी जीवनका रूपमा विकसित गर्न कसरी निरन्तरता देलान् ? मेरो व्यक्तिगत धारणामा यसका लागि यसका नेतृत्ववर्गले अलि बढी नै मिहिनेत गर्न पर्ने हो कि ? सदाचारी समाज रूपान्तरणका लागि ती मन्दिरहरू रसद्बिचार प्रचारकहरूमार्फत समाजमा कसरी फैलाउन सक्लान् ? भन्ने जिज्ञासा अहिले पनि छ । सायद यसको उत्तर भविष्यमा मात्र पाइएला कि ? 
क्रमशः