बजेट प्रतिस्थापन विधेयक सेटिङमा आयो : ओली

बजेट प्रतिस्थापन विधेयक सेटिङमा आयो : ओली
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  आश्विन ३, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट प्रतिस्थापन विधेयक सेटिङमा आएको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ४ जना व्यापारीलाई पोस्ने र दर्जनौँलाई पेल्ने गरी विधेयक आएको टिप्पणी गरे । साना व्यापारीलाई चेप्ने र क्यासिनो व्यापारीलाई छुट दिने भन्दै उनले आक्रोश पोखे ।

'सरकार केमा लागेको छ ? उद्यमीहरू सेटिङ भयो भनेर कराइरहेका छन् । पीडा पोखिरहेका छन्', उनले भने, '४ जनालाई पोस्ने, दर्जनौँलाई पेल्ने ? प्रतिस्थापन विधेयक त्यसैले आएको रहेछ ।'

७० दिनमा मन्त्रिपरिषद् विस्तार गर्न नसकेको, बजेट ल्याउन नसकेर देश बजेटविहीन भएको, आफ्ना कार्यकर्ता भर्ती गर्न सुकुम्बासी आयोग खारेज गरेको, मेलम्चीको पानी ल्याउन ध्यान नदिएको भन्दै ओलीले सरकारको आलोचना गरे ।

'कस्तो सरकार होला ? ७० दिनमा सरकारले मन्त्रिपरिषद् पूर्णता दिँदैन । २ महिनापछि बजेट होलिडे छ । बजेटबिना सरकार चलेको छ । कस्तो आश्चर्यको कुरा ? सुकुम्बासी आयोग किन भंग गरेको भन्दा आफ्ना मान्छे नियुक्त गर्न ? प्रतिस्पर्धाबाट आएका मान्छे हटाएर आफ्ना मान्छे राख्न ? चाहिने आयोग बन्द किन गरेको भन्दा आफ्नो मान्छे भर्ती गर्न । मेलम्चीको पानी ल्याउन यो सरकारको ध्यान छैन । यस्तै हो भने २ वर्षमा पनि आउँदैन', उनले भने ।