भक्तपुरका स्थानीय सरकार, कसले बनाए कति कानुन ?

भक्तपुरका स्थानीय सरकार, कसले बनाए कति कानुन ?

न्युज कारखाना  |  समाचार  |  आश्विन ३, २०७८

स‌ंविधानसभाबाट ६ वर्षअघि 'नेपालको संविधान' जारी गरियाे ।  इतिहासमै पहिलो पटक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । यससँगै केन्द्रीय सरकारको अधिकार विकेन्द्रीकरण भई संघ, प्रदेश र स्थानीय सरकारमा बाडफाँट भयो । संविधानले नै स्थानीय सरकार संचालन ऐन निर्माण  गरेको थियो । 

स्थानीय तहले विकास निर्माण र जनताको सेवालाई ध्यानमा राख्दै पालिकाले संविधानको अनुसूची ८ लाई टेक्दै कानुन निर्माण गर्दै आएको छ । पालिकाले दैनिक कार्य संचालन गर्न र जनताको आवश्यकता कदर गर्दै स्थानीय तहमा कानुन बनाउँदै आएको छ । 

भक्तपुरका स्थानीय तहले पनि ४ वर्षको दौडानमा कानुन बनाएका छन् । यहाँका ४ वटा स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकाले सबैभन्दा बढी कानुन बनाएको छ भने मध्यपुर थिमि नगरपालिकाले कम कानुन बनाएको छ । 

कुन पालिकाका कति कानुन ?

चाँगुनारायण नगरपालिका

क्षेत्रफलको आधारमा जिल्लाकै ठूलो चाँगुनारायण नगरपालिकाले ४ वर्षमा ८३ वटा कानुन बनाएको छ । तीमध्ये पालिकाले ५ वटा नियमावली, २७ वटा कार्यविधि, २६ वटा ऐन, ५ वटा निर्देशिका, २ वटा विधेयक, २ वटा योजना, ३ वटा संशाेधन र एक-एकवटा आचारसंहिता र नीति बनाएको पालिकाले जनाएको छ । 

नगर उपप्रमुख बिनाबाँस्तोलाका अनुसार जिल्लामा चाँगुनारायण नयाँ नगरपालिका भएकोले सिक्दै नीति, नियम र कानुन बनाएको हो । स्थानीय जनताको माग र आवश्यकतालाई सम्बोधन हुने ढंगबाट सरोकारवाला निकाय र कानुनविद्हरूको सल्लाहमा आवश्यक नीति तथा कानुन बनाएको उनको दाबी छ । 

उनले आफूले बनाएको कानुनले भावी जनप्रतिनिधिलाई कार्यसम्पादन गर्न सहज हुने विश्वास व्यक्त गरिन् । 

सूर्यविनायक नगरपालिका

नगर उपप्रमुख जुना बस्नेतका अनुसार सूर्यविनायक नगरपालिकाले ४ वर्षमा ५३ वटा कानुन बनाएको छ । उनका अनुसार पालिकाले क्रमशः  ऐनहरू १२ वटा, नियमावलीहरू ५ वटा, कार्यविधिहरू १३ वटा, निर्देशिका ८ वटा, मापदण्ड एउटा, आचारसंहिता २ वटा र एक रणनीतिक योजना बनाएको उपप्रमुख बस्नेतले जानकारी दिइन् । 

मध्यपुर थिमि नगरपालिका

४ वर्षमा मध्यपुर थिमि नगरपालिकाले २६ वटा कानुन बनाएको छ । पालिकाले हालसम्म कार्यविधि १६ वटा, ऐन ५ वटा, नियमावली ३ वटा, आदेश र मापदण्ड एक/एक वटा बनाएको छ । पालिकाले नेपालको संविधानलाई आधार गरेर कानुन निर्माण गर्दै आएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । उनले ४ वर्षमा कार्यसम्पादनको क्रममा पालिकाले कानुन नबनाएको अवस्थामा संघीय संविधानको व्यवस्थालाई आधार मानेर काम गर्दै आएको बताए । 

भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिका जिल्लाकै जेष्ठ नगरपालिका हो । पालिकाले ४ वर्षमा ४६ वटा कानुन बनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिका अनुसार ४ वर्षमा पालिकाले ऐन २२ वटा, कार्यविधि ११ वटा, निर्देशिका ४ वटा, विनियम ६ वटा, नियमावली २ वटा र एक नीति बनाएको छ । 

जनताको आवश्यकता र मागलाई सम्बोधन हुने गरी पालिकाले कानुन निर्माण गर्दै आएको दाबी उनको छ । उनले कानुन निर्माण गरे पनि कार्यान्वयनमा समस्या आउने र ती समस्यालाई छलफल गरी पुन: आवश्यकताअनुसार परिमार्जन गर्दै आएको बताए ।