घनश्याम भुसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रतिवेदनसहित)

घनश्याम भुसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रतिवेदनसहित)

न्युज कारखाना  |  समाचार  |  आश्विन ४, २०७८

विधान अधिवेशनको संघारमा रहेको नेकपा एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भुसालले जारी स्थायी कमिटी बैठकमा २ वटा बेग्लै प्रस्ताव पेस गरेका छन् । 

३ असोज अर्थात् हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गरिएको कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि उनले ८ पृष्ठ लामो बुँदागत मत पेस गरेका छन् । आज जारी बैठकमा पनि उनले अर्को प्रस्ताव पेस गर्दै छन् । 

महाधिवेशनका लागि तय गरिएको पार्टीको कार्यक्रम संगठनात्मक प्रस्तावमा उनले 'समृद्धि र समाजवादको बाटो' शीर्षका बेग्लै मत राखेका हुन् ।

प्रस्तावमा उनले जनताको बहुदलीय जनवादमाथि छलफल हुन छाडेको भन्दै यसमा घनीभूत छलफलको माग गरेका छन् । 

उनले प्रस्तावमा माओवादी केन्द्रसँगको एकताका बेला २ अध्यक्षबीच भएका गोप्य सहमति र आलोपालो अध्यक्ष बन्ने व्यवस्थाप्रति आलोचना गर्दै यही कारण एकता नटिकेको पनि उल्लेख गरेका छन् ।

उनले अब पार्टीको कार्यदिशा र संगठनबारे व्यापक छलफल हुनुपर्नेसमेत प्रस्ताव गरेका छन् । 

‘पार्टीको कार्यदिशा र संगठनबारे, खासगरी तिनको संगतिबारे छलफल गरौँ । त्यसपछि नवौँ महाधिवेशन, एकता प्रक्रिया र पार्टी विभाजनसम्मका घटनाबारे छलफल गरौँ', प्रस्तावमा भूसालले भनेका छन्, ‘त्यसले हामीलाई राजनीतिक प्रतिवेदन पूर्ण बनाउन, त्यसका आधारमा संगठनात्मक प्रस्ताव तयार गर्न र तिनमा उल्लेखित राजनीतिक र सांगठानिक जिम्मेवारी पूरा गर्न सक्ने, संगठनलाई व्यवस्थित गर्न सक्ने विधान बनाउन बाटो देखाउनेछ ।’

उनले आसन्न विधान महाधिवेशनको महत्त्वलाई ध्यान दिँदै नेपाली समाजवादी क्रान्ति र त्यससँग सम्बन्धित कार्यदिशा, कार्यक्रम, नवौँ महाधिवेशनपछि पार्टी कामको मूल्यांकनलगायतका विषयमा बेग्लै प्रस्ताव बैठमा पेस गर्ने बताएका छन् । यो प्रस्ताव जारी स्थायी कमिटी बैठकमा पेस गर्ने भुसालको भनाइ छ ।