राजनीतिक अराजकता, दल विभाजन, नेतृत्वमा अहं र जनताको भूमिका

राजनीतिक अराजकता, दल विभाजन, नेतृत्वमा अहं र जनताको भूमिका

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  आश्विन ८, २०७८

नेपाली राजनीतिको आकाशमा पछिल्लो समय दल विभाजनको होडबाजी निकै चलेको छ । दल विभाजनका मुख्य केही  कारणहरू हुन्छन् । वैचारिक मतभेद, सांगाठानिक अराजकता र सैद्दान्तिक अडान जस्ता केही आधारभूत तत्त्वले विभाजन वा नयाँ रूप लिने हो । 

तर, नेपालका दल विभाजनको हकमा भने यी तत्त्वले भूमिका खेलेका पाइँदैन । अब यहाँबाट प्रश्न सुरु हुन्छन् । आधारभूत तत्त्वमै फरक मत नभएर दल विभाजन हुनु भनेको लोकतान्त्रिक गणतन्त्रका लागि क्यान्सर हुन सक्छ । किनकि लोकतान्त्रिक गणतन्त्रका मुख्य आधार नै राजनीतिक दल हुन् । यस कारण अब प्रष्ट हुन्छ कि सत्ता र स्वार्थका लागि नैतिक, अनैतिक दादागिरी, चम्चागिरी गरी अगाडि बढ्ने काम नै राजनीतिक अराजकता हो । 

जब राजनीतिमा यस्ता कामहरू सुरु हुन्छन्, तब दल मात्र होइन, सिंगो मुलुक नै अराजकताको भुमरीमा रुमलिन्छ । नेपालको सन्दर्भमा यही भएको देखिन्छ । सत्ता प्राप्तिका लागि जे पनि गर्न तयार नेता नेता होइन, त्यो गुलाम हो । किनकि नेतामा विचार र विवेक हुन्छ । यही कुरालाई प्रयोग गरेर मुलुकको भविष्य दलल्ने प्रयत्न गर्छ तर गुलामसँग स्वार्थबाहेक केही हुँदैन । त्यस कारण गुलाम जे पनि गर्न तयार हुन्छ ।

नेपालको हकमा दल विभाजन एक खतरनाक रोग हो, जसका कारण मुलुक र जनताको भविष्य अन्धकारतिर लम्केको देखिन्छ । आज मुलुकका सबै दल दिशाविहीन छन्, नेता विचारविहीन छन् । यो किन ? प्रश्न जनताको । 

यही कुराले आज नेपाली राजनीतिक आकाशमा काला बादलका झुण्डहरूबाहेक केही देखिँदैनन् । जब आकाशमा काला बादलका झुण्डहरू हुन्छन्, तब धर्तीमा आँधीको पूर्वसन्ध्या हुन सक्छ । ख्याल कसले गर्ने ? त्यो आफैँले बुझ्नुपर्छ । 

नेपालको हकमा दल विभाजन एक खतरनाक रोग हो, जसका कारण मुलुक र जनताको भविष्य अन्धकारतिर लम्केको देखिन्छ । आज मुलुकका सबै दल दिशाविहीन छन्, नेता विचारविहीन छन् । यो किन ? प्रश्न जनताको । 

एकै व्याक्तिको ३ दशकसम्म दलमा एक्लै हालिमुहाली किन ? लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भाष्यमा जनतालाई अल्मल्याउने, प्रगतिशील विचारधाराका नाममा जनतालाई भ्रममा पारेर शाह वंशले भन्दा माथि चढेर जनताको टाउको दुखाउने, त्यो कुनै वीरतापूर्ण वा गौरवपूर्ण कार्य नहुन सक्छ । 

आज जनता आजित भएर इतिहासको चिहान खोतल्ने कार्य किन गर्दै छन् ? त्यो कुरा गणतान्त्रिक व्यावस्थाका प्रगतिशील दलहरूले बुझ्ने विषय हुन सक्छ । यस कारण नेपालको राजनीतिक अराजकताको मूल कारण नै निम्नपुँजीवादी चिन्तन नै हो । जब यस्ता चिन्तन र विचार राजनीतिमा हावी हुन्छन्, तब मुलुकको अस्तित्व कोमामा पुग्न सक्छ । ख्याल गर्ने नयाँ पुस्ताले हो ।

सत्ताकै लागि, स्वार्थकै लागि मुलुक र जनताको भविष्यलाई अन्धकारतिर धकेल्ने त्यो अनुहार मात्र नेपाली हो । अरू सबै विदेशी हुन् । यसैले आज मुलुक राजनीतिक अराजकताको भुमरीमा रुमलिरहेको छ ।

जब मुलुकको राजनीतिमा अराजकता हावी हुन्छ, तब देशका आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा अराजकताले राज गर्छ । यसैले सबैभन्दा पहिेले राजनीतिक अराजकतालाई पाखा लगउनुपर्छ ।

कांग्रेसको आसेपासेवाद, एमालेको आफन्तवाद र माओवादीको कृपावादमै मुलुक रुमलिएको छ । यस्ता प्रवृत्तिले वैधानिक अधिकारी अथवा देउवा, ओली र प्रचण्डको अंशियार त जन्माउला तर मुलुक र जनताको भाग्य र भविष्य बदल्ने राजनेता जन्माउन सक्दैन । यसैले परविर्तन जरुरी छ । 

विश्व इतिहासका पाना पल्टाउने हो भने परिवर्तन र विद्रोहका गाथाहरू प्रशस्तै भेटिन्छन् । विश्वको कुरा छाडिदिऊँ, नेपालकै इतिहासको कुरा गर्ने हो भने पनि राजनीतिक, सामाजिक र सांस्कृतिक विद्रोहको स्तुतिगान गाउन खुबै आनन्द आउँछ  । त्यस कारण जब साशक अराजकतातिर लम्कन्छ, तब जनताले सुन्दर इतिहास निर्माण गर्छन् । 

राणाको अत्याचारविरुद्घको आन्दोलन, पंचायतको निरंकुशताविरुद्धको आन्दोलन र वंशाणुगत शासन व्यवस्थाविरुद्धको आन्दोलन नै किन नहोस्, नेपाली जनताले रचेका सुन्दर इतिहास हुन् ती ।

नेपालको मात्र होइन, संसारकै इतिहास यस्तै छ । जबजब राज्य अराजकताको उन्मादमा जान्छ, तब जनताले पानीले आगो निभाए जसरी शासकलाई नै निभाउन बाध्य हुन्छन् ।

अहिले नेपालको राजनीतिमा अराजक तत्त्वले राज गर्‍यो । यस अराजकतालाई निभाउनका लागि स्वतःस्फुर्त ढंगले आफ्नो खुट्टामा उभिएर विद्रोह गर्नु नै नेपाली जनताको आजको आवश्यकता हुन सक्छ ।

यी विषयलाई केलाउँदा आजको नेपाली राजनीतिको मूल समस्या नै निम्नपुँजीवादी चिन्तन हो । यसलाई चिर्न यी दल र यो व्यवस्थाबाट संभव छैन । किनकि यी दल र व्यवस्था आफैँ यसका मतियार हुन् । 

केपी ओलीबाट छुट्टिएर माधव नेपालले केही लछारपाटो लाउन सक्लान् भन्ने ठान्नु दिवा स्वप्न मात्र हुनेछ । यो माधवको मात्र कुरा होइन, यो त यी दल र सबै नेताको विवशता हो । यस कारण परिवर्तन यी नेता र यो तरिकाबाट संभव छैन । छ त नेपाली जनताको जागरणबाट मात्र । 

अब नेपाली जनताको मुख्य कार्यभार भनेकै मुलुकलाई सही दिशामा लैजाने प्रमुख हुन सक्छ । राजनीतिलाई सही निर्देशन दिने काम नै नेपाली जनताको हो ।

अन्त्यमा, नेपालको सबैभन्दा ठूलो समस्या भनेकै राजनीतिक अराजकता हो । राजनीतिक अराजकताको मुख्य समस्या भनेकै निम्नपुँजीवादी चिन्तन हो । यसले नै मुलुक र जनताको भविष्य सिध्याउँदै छ । अब ख्याल जनताले गर्नुपर्छ । आशा गरौँ, यस्तै अस्थिरता र अराजकताबीचबाट गौरवमय इतिहास बनाउने काम जनताको हो ।