भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाले गरे यी विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाले गरे यी विषयमा छलफल

एजेन्सी  |  विदेश  |  आश्विन ८, २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योसिहिदे सुगाले २ बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमका बारेमा छलफल गरेका छन् । वार्ताका अवसरमा यी २ नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो । सो अवसरमा दुवै प्रधानमन्त्रीले मुम्बई-अहमदाबाद हाई स्पीड रेल परियोजनाको सुरुवात र समयमै यसको कार्यान्वयनका लागि आ-आफ्नोतर्फबाट प्रतिबद्धता जनाएका छन् ।

२ नेताबीचको बैठक क्वाडको पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीच ४ पक्षीय सहयोगसँग सम्बन्धित छ । विदेश मन्त्रालयका अनुसार उनीहरूबीच रक्षा उपकरण र प्रविधिको क्षेत्रसहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउनेबारे सहमति जुटेको छ ।

२ प्रधानमन्त्रीबीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रहेको बताइएको छ । सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उनीहरूबीच ३ पटक टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री मोदीले भारत-जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरसिपमा पछिल्ला केही वर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिए ।

प्रधानमन्त्री मोदीले कोभिड- १९ महामारीका बीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाईसमेत व्यक्त गरे । सो अवसरमा दुवै प्रधानमन्त्रीले २ देशबीचको बढ्दो आर्थिक संलग्नताको स्वागत पनि गरे ।

उनीहरूले यस वर्षको सुरुमा भारत, जापान र अस्ट्रेलियाबीच आपूर्ति शृंखला र लचकता पहलको लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको स्वागत गरे । उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि २ पक्षीय साझेदारीको संरचना निर्माणका लागि जोड दिए ।

जापनी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिएको जानकारीअनुसार यस वर्षको सुरुमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक सम्झौतालाई संचालनका लागि जापानी पक्षले सन् २०२२ को सुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम संचालन गर्नेछ ।

२ प्रधानमन्त्रीबीच कोभिड- १९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल  केन्द्रित भएको छ । उनीहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्त्वलाई जोड दिँदै यस विषयमा भारत-जापान डिजिटल पार्टनरसिपमा विशेष गरी स्टार्ट-अपमा भएको प्रगतिको सकारात्मक मूल्यांकन पनि गरेका जनाइएको छ ।

२ नेताबीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउनेबारे विचार आदानप्रदान भएको बताइएको छ । जलवायु परिवर्तनका मुद्दाहरू, हरित ऊर्जा संक्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिसनसँग जापानी सहयोगको संभावनाका विषयमा पनि छलफल भएको छ ।

२ नेताले भारत-जापान एक्ट इस्ट फोरमअन्तर्गत भारतको उत्तरपूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनाहरूमा भएको प्रगतिलाई स्वागत गर्दै  यस्तो सहयोगलाई अझ बढाउने संभावनाहरूको समेत उल्लेख गरेका जनाइएको छ ।