आशारामको नियति र नरेन्द्र गिरीको बाध्यात्मक 'इच्छामरण': सही को, गलत को ?

आशारामको नियति र नरेन्द्र गिरीको बाध्यात्मक 'इच्छामरण': सही को, गलत को ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  आश्विन १०, २०७८

भारतका एक शक्तिशाली संन्यासीको रहस्यमय मृत्यु भयो । प्रथम दृष्टिमा उनको मृत्यु इच्छा-मरण जस्तो पनि देखिन्छ ।

नरेन्द्र गिरी नामक यी संन्यासी भारतका संन्यासीहरूको सर्वोच्च संस्था अखिल भारतीय अखाडा परिषद्का अध्यक्ष थिए । अखाडा परिषद् भनेको संन्यासीहरूका विभिन्न १३ वटा अखाडाहरूको संयुक्त मंच हो । आदिगुरु शंकराचार्यले धर्मरक्षा हेतु संन्यासीहरूलाई एकजुट गर्न अखाडाको चलन चलाएको जनश्रुति छ । 

१३ वटा अखाडामध्ये नरेन्द्र गिरी श्री पंचायती निरंजनी अखाडाका महन्त थिए  । सन् २०१६ मा उनी निरंजनी अखाडाको प्रतिनिधित्व गर्दै अखाडा परिषद्का अध्यक्ष भएका थिए  । सन् २०१९ मा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए  ।

गएको महाकुम्भमा यसै अखाडाका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरीको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र धर्मनगरी हरिद्वार  पुगेका थिए  । नरेन्द्र गिरी कोरोना संक्रमित भएका कारण सम्मान समारोहमा उपस्थित हुन सकेका थिएनन्  ।

नरेन्द्र गिरीभन्दा पहिला अखाडा परिषद्का अध्यक्ष ज्ञानदास  निर्वाणी अखाडासँग सम्बन्धित थिए  । यिनी सन् २००४ मा अखाडा परिषद्का अध्यक्ष बनेका थिए । अनेक तामझाम गरेर सन् २०१६ मा ज्ञानदासलाई अध्यक्ष पदबाट हटाई नरेन्द्र गिरी अध्यक्ष बन्न पुगेका थिए  ।

भारतमा रहेका संन्यासीहरूका यी अखाडा नामले संन्यासीको संगठन भए पनि धन, सम्पत्ति, वैभवमा यी  प्रत्येक अखाडा अर्बौं रुपैयाँमा खेल्छन्  । भारतभर यी अखाडाका प्रशस्त चल अचल सम्पत्ति छन्  ।

शैव, वैष्णव र उदासीन (मूलतः शिख सम्प्रदायसँग आबद्ध)मा विभाजित यी अखाडामा शैव परंपराका ७ वटा अखाडा छन्  । जुना अखाडा सबैभन्दा ठूलो अखाडा हो । शैव अखाडासँग सम्बन्धित सबै अखाडाका आराध्य देव भगवान् शिव अथवा शिवका अवतार हुने गर्छन् । वैष्णव अखाडाका आराध्य देव भगवान् विष्णु र विष्णुका अवतार हुने गर्छन्  । उदासीन अखाडा शिख धर्मको परंपरा पालन गर्छन् । वैष्णवहरूका ३ र उदासीनका ३ वटा अखाडा छन्  ।

नरेन्द्र गिरी निरंजनी अखाडाको प्रयागराजस्थित बाघम्बरी मठका प्रमुख थिए  । यी १३ वटै अखाडाका भारतभर विभिन्न मठ रहेका छन्  । एउटा एउटा मठको सम्पत्ति अर्बौं रुपैयाँ रहेको छ  । बाघम्बरी मठकै कुरा गर्ने हो भने यससँग ११ हजार करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ । साथै यसको दैनिक आम्दानी पनि करोडौँमा छ  । 

बाघम्बरी मठको प्रमुख हुनुका साथै नरेन्द्र गिरी निरंजनी अखाडाका सचिव पनि थिए । निरंजनी अखाडाको भारतका विभिन्न राज्यमा हजारौँ बिघा जमिन हुनुका साथै २५-३० अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ ।

पंक्तिकारलाई एउटा रमाइलो प्रकरणको सम्झना आउँछ । परंपरागत १३ वटा अखाडामा नआउने एउटा संन्यासी समूहको आचार्य महामडलेश्वर (यस समूहका भारतभर झण्डै २५० आश्रम छन्)सँग थिए । साथमा थिए कोलकाताका एक जना खर्बपति व्यापारी  । तोदी थरका व्यापारीले सुनाए, ‘महाराजजी, अब त तपाईंहरूलाई दान दिनु पनि जोखिमयुक्त भयो । तिरुपति बालाजी दर्शन गर्न गएको थिएँ  । श्रद्धाले त्यहाँ १० करोड रुपैयाँ भेटी चढाएँ । राति नै मलाई दिल्लीबाट फोन आयो- मेरो कोलकातास्थित निवास र कार्यालयमा भोलि आयकरको ‘रेड’ हुँदै छ  । हतारहतार ५ ट्रकमा ‘क्यास’ र ‘गोल्ड’ लोड गरेर  हुगलीमा फाल्नुपर्‍यो ।’

स्वामीजीले जोक गर्दै भन्नुभयो, ‘अरे तोदीजी, एक-दुइ ट्रक यता पठाइदिए हुन्थ्यो नि ।’

‘यति समय कहाँ थियो महाराजजी ! बिहान हुनुभन्दा पहिला नै सबै कुरा क्लियर गर्नु थियो ।’

साँझमा महाराजजीले मसँग सोध्नुभयो, ‘५ ट्रकबाट कति पैसा फालियो होला ?’

मेरो मनले यसको अंक गणित नगरेर केही वर्ष पहिला महाराजजीको गुरुको पुण्य तिथिमा भएको ३ दिने कार्यक्रमबारे कल्पना गर्दै थियो  । चित्रकूटमा भएको यस कार्यक्रममा श्रद्धालुले दिएको दानलाई बोरामा खाँदेर अण्डरग्राउण्ड हलमा थुपारिएको थियो ।

सन् २००३ अथवा २००४ को कुरा हो, तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीले भन्नुभयो, ‘गरिबी निवारण हेतु सरकारलाई २० हजार करोड धनराशिको आवश्यकता छ  । सरकारसँग यति धन हुने हो भने भारतबाट गरिबी मेटिन्छ ।’

गरिब, दलित, उपेक्षित, आदिवासी समाजमा भइरहेको धर्मान्तरण सिद्धान्त, दर्शन, सत्य, निर्वाण, मोक्षका लागि भइरहेको छैन । खान नपाउने, लगाउन नपाउने, उपचार नपाउने, मानिस भएर पनि समाजमा मानिस सरहको व्यवहार नपाउने वर्गमा भइरहेको धर्मान्तरणको असल अपराधी अन्य कोही नभएर हिन्दु धर्मका ठेकेदारहरू नै हुन् । क्षमा गर्नु होला, तपाईं हामी नै हो ।’

नाम त याद छैन, एक जना लेखकले लेखेका थिए, ‘अटलजी, म तपाईंलाई २० हजार करोड होइन, ४० हजार करोड व्यवस्था गर्ने उपाय भन्दै छु । तपाईंसँग इच्छाशक्ति भए गरेर देखाउनुहोस् । भारतका विभिन्न मठ-मन्दिर-महामण्डलेश्वरहरूसँग जनही हजार-दुई हजार करोडको सम्पत्ति छ  । सबैको राष्ट्रियकरण गर्नुहोस् ।’ 

डबल श्री रविशंकरसँग २०० मिलियन डलर, माँ अमृतानन्दमयीसँग २५० मिलियन डलरको सम्पत्ति छ  । जेलमा रहेका आशाराम बापुसँग १३४ मिलियनको अकुत सम्पत्ति छ । यी महात्माहरूले यो पैसा बाबुको सम्पत्तिबाट अंश पाएका होइनन्, हाड घोटेर कमाएका होइनन् । राष्ट्रलाई आवश्यकता पर्दा राष्ट्रले जुन बेला पनि लिन सक्नुपर्ने हो । कसैको व्यक्तिगत सम्पत्ति होइन यो ।

रविशंकर संन्यासी हो भने, अमृतानन्दमयी माँ आध्यात्मिक हुन् भने आफ्नो आश्रम-ट्रस्टको नाममा भएको सम्पत्ति जुन बेला पनि मानवता हेतु अर्पित गर्न तत्पर हुनुपर्छ ।

किन गरे इच्छामरण नरेन्द्र गिरीले ? 

‘आम्दानी अठन्नी, खर्च रुपैयाँ’का  अनेकौँ ‘साइड इफेक्ट’सम्बन्धी कथा हामीले सुनेका छौँ । भारतका मठाधीशहरूका सम्बन्धमा कथा अलिअलि मात्र होइन, पूरै फरक छ । यहाँ आम्दानी आम्दानी मात्र छ । जति खर्च गरे पनि विभिन्न अदृश्य स्रोतहरूबाट आउने धन प्रवाह यति विशाल छ कि मठाधीशहरू धनको अम्बारमाथि नाग झैँ कुण्डली मारेर बसेका हुन्छन् । 

वृन्दावन, हरिद्वार, उज्जैनलगायत विभिन्न धर्मक्षेत्रको एउटा सामान्य औसत बुद्धिभन्दा तलको दरिद्र बुद्धिधारी हेय एवं तुच्छ प्राणी पनि भगवान्को आडमा अर्बपति बनी टोपलेको हुन्छ ।


विकिपीडिया, फोब्र्स, ब्लुमबर्गका अनुसार भारतमा १४० जना अर्बपति छन् । व्यापारीको मात्र गणना हुने भएकाले संख्या थोरै छ । यी महन्त, मठाधीश, महामण्डलेश्वरलगायत अनेक नामका उपाधि धारण गरेका धूर्तहरूको मूल्यांकन गर्ने हो भने थप ५००-६०० जनाको सूची तयार हुन्छ ।

द्रव्यमोहमा फसिसकेका नरेन्द्र गिरी देखिने गरी मात्र ११ हजार करोड सम्पत्ति र मासिक १२-१५ करोड रुपैयाँ आम्दानी गर्थे । उनको आत्महत्याको कारण उनले नै हुर्काएका अर्का प्रतिस्पर्धी द्रव्यलिप्त उनका शिष्य आनन्द गिरी बने ।

सन् २०१६-२०१७ मा हरिद्वारमा एउटा साधु सम्मेलनमा उपस्थित थिए । धर्मान्तरणलाई लिएर छलफल हुँदै थियो  । नरेन्द्र गिरीलगायत अन्य मठाधीश धर्मान्तरण कसरी रोक्ने भन्नेबारे चर्चा गरिरहेका थिए ।

एउटा युवा संन्यासीले भन्यो, ‘भारतमा धर्मान्तरण एक बोरा चामल, छोराछोरीको शिक्षार्थ, उपचारका खातिर, नोकरी पाउने आसमा हुँदै छ । गरिब, दलित, उपेक्षित, आदिवासी समाजमा भइरहेको धर्मान्तरण सिद्धान्त, दर्शन, सत्य, निर्वाण, मोक्षका लागि भइरहेको छैन । खान नपाउने, लगाउन नपाउने, उपचार नपाउने, मानिस भएर पनि समाजमा मानिस सरहको व्यवहार नपाउने वर्गमा भइरहेको धर्मान्तरणको असल अपराधी अन्य कोही नभएर हिन्दु धर्मका ठेकेदारहरू नै हुन् । क्षमा गर्नु होला, तपाईं हामी नै हो ।’

ऊ भन्दै थियो, ‘मिसनरीका मानिस चामल, किताब, कम्बल, लुगा लिएर बस्तीबस्तीमा पुग्छन् । भन्नुहोस्, तपाईं-हामीमध्ये कति जना कुनै भोकोलाई, नांगोलाई, रोगीलाई, व्यथितलाई, अपांगलाई, हेलितलाई, बञ्चितलाई मद्दत गर्न अघि आउँछौँ ? महाशयहरू, भारतमा जम्मा ६ लाख गाउँ छन् । तपाईं जस्ता अर्बपति महात्माको संख्या ६ लाखभन्दा बढी छ । एक जना महात्माले एउटा गाउँका गरिब, बञ्चित, दरिद्र, अभावग्रस्त, रोगी, उपचार गर्न असमर्थ, बालबालिका पढाउन असमर्थ वर्गको जिम्मा लिने हो भने के मिसनरी त्यो गाउँमा पस्न सक्छ ?’

तपाईंहरूमध्ये धेरै जनालाई लाग्ला, नरेन्द्र गिरी संन्यासी, महात्मा थिए । क्षमा गर्नुहोला, नरेन्द्र गिरी मात्र होइन, भगवा ओढेर संन्यासीको ख्याति आर्जन गरेका धेरै जना नाम चलेका हस्ती मेरा लागि आशाराम, रामपाल, रामरहिम, नित्यानन्द, राधे माँकै संस्करण हुन् ।

नरेन्द्र गिरीले आफ्नो अन्तिम बकपत्रमा शिष्य आनन्द गिरीले कम्प्युटरमा बनाएको कुनै महिलासँगको भिडियो सार्वजनिक गर्ने धम्कीका कारण लोकलाजले डराएर यो साहसी पाइला उठाएको  लेखेका छन् । एउटा महात्मालाई लोकलाजको यति चिन्ता ! आमजन भने यस्ताका पछाडि लागेर वैतरणी पार गर्ने कल्पना गरिरहेको हुन्छ ।

केही वर्ष पहिला भारतका एक जना प्रख्यात आध्यात्मिक गुरु भैय्यु महाराजले कन्चटमा गोली हानी इहलीला समाप्त गरेका थिए  । मृत्यु उपरान्त मैले उनलाई जीवनमा गरेको पहिलो राम्रो कामका लागि स्याब्बासी दिएको थिए । नरेन्द्र गिरीले झुन्डिने बाटो रोजे  । 

सामाजिक संजालको बढ्दो प्रयोग र उपयोगिताले धेरै जना छद्मभेषीहरूले नरेन्द्र गिरीको सिको गर्नुपर्ने हुन्छ अथवा आशाराम, रामपालझैँ जीवनका अन्तिम दिन मोक्षका लागि नभएर जेलबाट आजादीको कामनामा बिताउनुपर्ने हुन्छ । आशारामभन्दा मलाई त नरेन्द्र गिरीको रोजाइ ठीक लाग्छ ।