अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीले गरे संयुक्त राष्ट्रसंघलाई आग्रह

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीले गरे संयुक्त राष्ट्रसंघलाई आग्रह

एजेन्सी  |  विदेश  |  आश्विन १०, २०७८

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेको समाचारमा जनाइएको छ । 

उनले संयुक्त राष्ट्रसंघको ७६औँ महासभालाई सम्बोधन गर्दै सो आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघको ७६औँ सभालाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । उनले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देशलाई सहयोग गर्न अब पनि पछि पर्ने हो भने यसबाट विश्व समुदायलाई नै पछि पछुतो हुने पनि बताएका छन् । 

उनले अहिले अफगानिस्तानमा मानवीय सहयता चाहिएको र देशको आर्थिक अवस्था पनि निकै गम्भीर रहेकाले आगामी दिनमा यो संवेदनशीलता बुझेर विश्व समुदायले सहयोग गर्नुपर्ने धारणा राखे । सम्मेलनलाई गरेको सम्बोधनमा उनले भनेका छन्, 'यदि अहिले नै हामीले अफगानिस्तानको अप्ठ्यारो अवस्था बुझ्न सकेनौँ, मनन गर्न सकेनौँ भने अर्को वर्षसम्ममा अफगानिस्तानको अवस्था निकै नै गम्भीर भइसक्नेछ ।' 

उनले अर्को वर्षसम्ममा अफगानिस्तानका कम्तीमा पनि ९० प्रतिशत नागरिक गरिबीको रेखामुनि परिसक्ने पनि बताए । उनले यहाँको अवस्था निकै नै बिग्रिँदो रहेको र अहिले पनि देश आर्थिक रूपमा कमजोर हुँदै गएकाले यस विषयमा सबैले चनाखो भएर काम गर्नुपर्ने पनि बताए ।