अफगानिस्तानलाई राजनीतिक प्रक्रियामा ल्याउन तालिबानसँग सहकार्य गर्न रुसी विदेशमन्त्रीको आग्रह

अफगानिस्तानलाई राजनीतिक प्रक्रियामा ल्याउन तालिबानसँग सहकार्य गर्न रुसी विदेशमन्त्रीको आग्रह

एजेन्सी  |  विदेश  |  आश्विन १०, २०७८

रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरूसँगको सहकार्यबिना उनीहरूलाई राजनीतिक प्रक्रियामा ल्याउन संभव नभएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहेका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याए । 

त्यसैले यस प्रक्रियाका लागि अफगानिस्तानमा हाल सत्तामा रहेका तालिबानहरूसँग सहकार्य गर्नुपर्ने र उनीहरूलाई शान्ति र अफगानिस्तानको स्थायित्वका लागि सहयोग पनि गर्नुपर्ने बताए । उनले हाल अफगानिस्तानको अवस्था नाजुक रहेकाले सहयोग गर्न सबै विश्व समुदाय लाग्नुपर्नेमा पनि जोड दिए । 

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री खानले पनि संयुक्त राष्ट्रसंघको ७६औँ महासभालाई शनिबार सम्बोधन गर्दै अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत विश्व समुदाय समक्ष आग्रह गरेका थिए ।

उनले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देश र यहाँका जनतालाई सहयोग गर्न विश्व समुदाय पछि पर्न नहुने बताएका थिए ।