फगत चटक र रमिता देखाउने थलो नबनोस् कांग्रेस महाधिवेशन

फगत चटक र रमिता देखाउने थलो नबनोस् कांग्रेस महाधिवेशन

विष्णु आत्रेय  |  दृष्टिकोण  |  आश्विन ११, २०७८

आगामी मंसिरका लागि तय गरिएको कांग्रेस महाधिवेशन यो आलेख तयार पार्दासम्म तलमाथि हुने कुनै संकेत कतैबाट प्राप्त भएको छैन । पटक पटक बसेको कांग्रेस पदाधिकारी बैठकले पनि तोकिएको यस मितिलाई हेरफेर गर्ने कुनै हतार गरेको देखिएन । भलै, यस विषयमा छलफल भएका कुरा मिडियामा आए । 

महाधिवेशन प्रतिनिधिको अनुहार करिब करिब स्पष्ट नभई सक्दै सभापतिमा आआफ्नो दाबी प्रस्तुत गर्ने हतारो कांग्रेसमा देखिएकै हो । यस पटक पनि यस्तो हतारो देखिएको छ । उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय नै खोलेर सभापतिको दाबी गरिसक्नुभएको छन् भने युवा नेता कल्याण गुरुङको उम्मेदवारी घोषणा भइसकेको छ सभापतिका लागि । उता, प्रकाशमान सिंहको पनि सभापतिमा आकांक्षा प्रकट भइरहेकै छ । बाँकी रामचन्द्र पौडे, कोइराला परिवार र कृष्णप्रसाद सिटौलाको घोषणा आउनै छ ।

हुनत मुलुकको एक मात्र र वास्तविक प्रजातान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसको महाधिवेशनमा यतिको सरगर्मी नभए मुलुकमा प्रजातन्त्र कसरी जोगिएला र ! प्रजातान्त्रिक प्रश्नहरू त उठ्ने नै भए ।

सबैभन्दा पहिले नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट आएका युवा नेता कल्याणकुमार गुरुङले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो । उहाँको उम्मेदवारीले युवा नेतालाई हौस्याउने काम त गर्‍यो नै, सँगसँगै उहाँ कुनै दौराको फेर समातेर वा कोही ‘दाजु’ वा ‘दिदी’ अथवा ‘भाउजू’को हात समातेर आउनुभएको हो कि भन्ने आशंका पनि जन्माएको छ । 

लोकसंवादडटकमसँगको एक अन्तर्वार्तामा (‘सभापतिमा मेरो उम्मेदवारी चर्चा र चन्दाका लागि होइन, कुनै दबाब र प्रभावमा पर्दिनँ’) उहाँले आफूले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने र यस पटकको महाधिवेशन प्रतिनिधिमा युवा नेतृत्वको चयनले विजय सुनिश्चित भएको समेत बताउनुभएको छ । 

हुनत यसलाई ‘नेताका कुरा हुन्’ भनेर उडाउने पनि नभेटिएका होइनन् । यसलाई उडाए भन्दा पनि नेताको विगत र चरित्रले उठेको प्रश्न हो भनेर बुझ्दा भने अझ न्यायसंगत होला । 

आफ्ना पिता वसन्त गुरुङलाई बीपी कोइरालाको पत्रले नेविसंघको सभापति बन्न रोकेपछि सभापति बनेका शेरबहादुर देउवाका विरुद्ध यतिखेर कल्याण भने कांग्रेसकै सभापतिको प्रत्यासी बन्नुभएको छ । 

हुनत राजनीतिमा यसरी अथ्र्याउनु अलिक बचपना होला तर कल्याणले भने यसलाई युवाको उम्मेदवारीको रूपमा दाबी गर्नुभएको छ । 

युवा भन्दै गर्दा दोस्रो पुस्ताका भनिने विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजाता कोइरालादेखि शेरबहादुर देउवा र रामचन्द्र पौडेलसम्मले आफूलाई युवा भन्दै सभापतिमा आफ्नो दाबी छाड्नुसभएको छैन । 

अरूले नछाडे पनि देउवा र पौडेलले भने यस पटक आफूलाई युवा भन्न छाड्नुहोला कि ! अनुमान त गर्न पाइयो नि ! किनकि उमेरका हिसाबले शेरबहादुर ७६ तथा रामचन्द्र ७७ वर्ष पुगिसक्नुभएको छ ।

५ पटक प्रधानमन्त्री र हालका सभापति देउवाको यही ‘ट्र्याक रेकर्ड’का कारण पनि पार्टीमा आफ्नो दुश्मन बढेको उहाँको ठम्याइ छ । तर, जजसले जेजे भने पनि ज्योतिष बाको सिलोटले विश्राम नभनेसम्म उहाँ अडिनुहुन्न ।

सभापतिमा रामचन्द्र पौडेलको दाबी उहाँको गुटमा निर्विकल्प बन्न सकेको छैन । यस्तै अवस्था देउवाको पनि छ । आफ्नै गुटका ३ कोइराला र प्रकाशमानले पौडेल बाको पनि टाउको दुखाइरहेकै छन् । 

१७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार भएर पराजित हुँदा पनि उहाँलाई नेपाली कांग्रेसले प्रधानमन्त्री तथा सभापति बनाउने सदाशयता देखाउन सकेको छैन । आखिर राजनीति न हो !

भलै, उहाँ सभामुख, उपप्रधानमन्त्री तथा धेरै पटक मन्त्री भने भइसक्नुभएको छ । उहाँ महामन्त्री र उपसभापति पनि नहुनुभएको होइन । तर, पार्टी तथा सरकारको ‘फस्र्ट म्यान’ हुने उहाँको चाहना भने अधुरै छ । 

देउवाले आफ्नो टिमको घोषणा यद्यपि गरिसक्नुभएको छैन । तर, उहाँलाई यसअघिका आफ्ना सहयोगी मानिएका गोपालमान, विमलेन्द्र निधिलगायतले आफैँ सभापतिको आकांक्षी भएको बताएपछि देउवा पनि अहिले तनावमा हुनुहुन्छ । हुनत उहाँको तनावको विसर्जन ज्योतिष बाको हातमा छ । 

५ पटक प्रधानमन्त्री र हालका सभापति देउवाको यही ‘ट्र्याक रेकर्ड’का कारण पनि पार्टीमा आफ्नो दुश्मन बढेको उहाँको ठम्याइ छ । तर, जजसले जेजे भने पनि ज्योतिष बाको सिलोटले विश्राम नभनेसम्म उहाँ अडिनुहुन्न । 

अर्को कुरा, समन्वय, समीकरण र सामञ्जस्यमा माहिर मानिएका देउवाले अन्त्यमा आफ्नो खेमाबाट आफूलाई एक्लो सभापतिको रूपमा प्रस्तुत गर्नुहुन्छ भन्ने आमबुझाइ छ । हेर्दा त्यस्तै पनि देखिन्छ । र, उहाँले स्वयं त्याग गरेबाहेक गुटमा उहाँलाई रोक्न सक्ने अर्को उम्मेदवारी देखिँदैन पनि । 

अर्का नेता कृष्णप्रसाद सिटौला पनि आफूलाई सभापतिको उम्मेदवारका रूपमा संकेत गरिरहनुुभएको छ । तर, हालसम्म उहाँको टिममा कोको हुने र आफू स्वयं पनि पक्का उम्मेदवार हुने कि नहुने भन्ने कुरामा भने उहाँको स्पष्टता देखिँदैन ।

तर, १३औँ महाधिवेशनमा हलो अड्काएर आफूलाई सशक्त ‘बार्गेनिङ’मा उतार्नुभएका सिटौलालाई अहिले पनि त्यस्तै ‘बार्गेनिङ’को लोभले मात्र आफ्नो उपस्थिति देखाउन खोजेको हो कि भन्ने बुझिन्छ । 

उम्मेदवारी घोषणा नगर्दा ‘आफू बिहाइण्ड द सिन’ होइन्छ भन्ने डरले पनि उहाँमा उम्मेदवारीको लोभ रहेको बुझिन्छ । पार्टीमा ‘म पनि कहीँ न कहीँ, कतै न कतै छु’ भन्नका लागि मात्र हो उहाँको उम्मेदवारी भन्नेहरू पनि छन् । 

सिटौला आफू सभापति हुने भन्दा पनि दोस्रो उम्मेदवारलाई जिताउन काफी रहेको सन्देश दिन मैदानमा उत्रिने सुरसारमा देखिनुहुन्छ । उहाँलाई आफूमा त्यो तागत अझै रहेको लाग्छ । 

१३औँ महाधिवेशनमा लोकप्रिय मत ल्याएर विजयी भएका नोना सुपुत्र डा. शेखर कोइरालाको यस पटक सभापतिमा दाबी तथा तयारी मजबुत देखिन्छ । 

सभापतिको उम्मेदवार बन्नका लागि उहाँले धेरै अगाडि तयारी थाल्नुभएको थियो । देश दौडाहामा रहेका बेला पनि उहाँले आमकार्यकर्ताबाट राम्रो ‘रेस्पोन्स’ पाइरहनुभएको बुझिन्छ । तयारी,  आत्मविश्वास र कार्यकर्ताको रोजाइ पनि कतै शेखरप्रति त होइन ? भन्ने एक किसिमको छनक कांग्रेसीवृत्तबाट आएजस्तो लाग्छ । 

यसको आभास पार्टीका दोस्रो पुस्तादेखि युवा पुस्ता अनि भुइँ तहका कार्यकर्तामा उहाँको खटाइलाई कतै उपयुक्त पात्र उहाँ त होइन भन्ने मनमा गढेको जस्तो देखिन्छ । 

युवा भनिने नेताहरूको पनि आफ्नै तयारी चलिरहेको छ । संस्थापनइतर पक्षका एक दर्जन युवा नेता पार्टीमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका लागि दबाब सिर्जना गर्ने पक्षमा छन् । 

अन्यथा १५औँ महाधिवेशनमा आफू प्रौढ पुस्तामा पुगिने हेक्का उनीहरूलाई राम्रै भएजस्तो छ । तर, जति मच्चिए पनि अन्तिममा थच्चिने प्रवृत्ति हेर्दा भने यो खेमामा पनि आपसी विश्वासको कमी देखिन्छ । 

सभापतिको उम्मेदवार घोषणा गरेपछि देउवाले आफूलाई सघाउने छनक नपाएपछि विमलेन्द्र निधि पनि रामचन्द्र, प्रकाशमानदेखि कोइरालात्रय र गगन तथा विश्वप्रकाश शर्मासम्मको छलफलमा जुट्नुभएको हो । तर, परिस्थितिको मूल्यांकन गर्दा उहाँलाई सभापति पदले यति छिटै पत्याउला जस्तो देखिँदैन ।  

यी विविध परिदृश्यले कांग्रेसको १४औँ महाधिवेशन रोचक हुने देखिन्छ । नयाँ ध्रुवीकरण र ‘बार्गेनिङ’मा कसले आफूलाई अब्बल सावित गर्न सक्छ, सभापतिको कुर्सी उसैका लागि तयार भएर बसेको देखिन्छ । 

प्रजातन्त्र र लोकतन्त्र भनेको नेपालका राजनीतिक पार्टीहरूका लागि केवल ढोङ हो, देखाउने दाँत हो । यसमा त्यति धेरै माथापच्ची गरिरहनुपर्दैन । यसको एउटै उदाहरण भनेको पार्टीको आन्तरिक लोकतन्त्र मजबुत गराउन कुनै पार्टीले कुनै कार्यक्रम ल्याएको देखिँदैन । 

पार्टीको आन्तरिक लोकतन्त्र मजबुत गराउने दिशामा यदि देशका राजनीतिक पार्टीहरू लाग्दैनन् भने हरेक पार्टीको महाधिवेशन एउटा चटक र रमिता मात्र हो ।