जापानमा नयाँ नेता चयनका लागि मतदान

जापानमा नयाँ नेता चयनका लागि मतदान

एजेन्सी  |  विदेश  |  आश्विन १३, २०७८

जापानमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)कोे नयाँ नेता चयनका लागि बुधबार मतदान हुँदै छ । मतदानबाट निर्वाचित नेता देशको प्रधानमन्त्री बन्नेछन् । गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले आफूले पुनः उम्मेदवारी नदिने बताइसकेका छन् । 

बुधबारको मतदानमा २ महिलासहित ४ जना पार्टी नेताका लागि प्रतिस्पर्धा गरिरहेका छन् । पार्टीबाट छनोट हुने नेताले केही साताभित्र हुने आमनिर्वाचनको सामना गर्नुपर्ने हुन्छ ।

पार्टी नेताका लागि तारो कोनो, फुमिओ किसिदा, सानाई ताकाइची र सिको नोडाले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतिस्पर्धीमध्ये ५८ वर्षीय कोनो वर्तमान सरकारका खोपमन्त्री हुन् । 

त्यस्तै, किसिदा पूर्वविदेशमन्त्री हुन् भने अर्का उम्मेदवार ताकाइची पूर्वमन्त्री हुन् । अर्का प्रतिस्पर्धी नोडा लिबरल पार्टीको भ्रातृ संगठनका नेता हुन् । कोनो आगामी प्रधानमन्त्रीको प्रमुख दाबेदार रहेका विभिन्न सर्वेक्षणले देखाएका छन् ।